+
+

अनुदान कार्यक्रमले पशुपालन किसान उत्साहित

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ १६ गते १५:५२

१६ भदौ, तनहुँ । तनहुँको भानु नगरपालिकाले पशुपालन किसानलाई अनुदानको व्यवस्था गरेपछि यहाँका किसान उत्साहित भएर पशुपालन व्यवसायमा लागेका छन् । गत आर्थिक वर्षमा घाँसखेती विस्तार कार्यक्रमअन्तर्गत प्रतिरोपनी तीन हजारका दरले ३७ जना किसानलाई अनुदान दिएपछि व्यावसायिक पशुपालनमा किसान आकर्षित भएका हुन् ।

नगरपालिकाले घाँसखेतीका साथ पशुपालन गर्दै आएका किसानलाई अनुदान रकम प्रदान गरेको पशु विकास शाखाका प्राविधिक अमित ढुंगानाले बताए । उनकाअनुसार किसानले कुल एक सय ८५ रोपनी क्षेत्रफलमा घाँसखेती गरेवापत ५ लाख ५५ हजार रुपैयाँ अनुदान प्रदान गरिएको छ ।

‘पछिल्लो समय किसानले घाँसखेतीसँगै पशुपालन व्यवसायलाई वृद्धि गर्दै लान थालेका छन्’, उनले भने, ‘नगरपालिकालाई मासुमा आत्मनिर्भर बनाउने उद्देश्यले किसानलाई उत्प्रेरण गर्ने काम भइरहेको छ ।’

नगरपालिकाको पशु विकास शाखाले वार्षिक कार्यक्रमअन्तर्गत घाँसखेती गर्ने, दुग्घ उत्पादन गर्ने र मासुका लागि पशुपालन गर्ने किसानलाई प्रोत्साहनस्वरुप अनुदान दिएको हो । ‘घाँसखेती विस्तार कार्यक्रमअन्तर्गत कृषकले नयाँ प्रजातिका डाले तथा भुइँ घाँस विस्तार गरेका छन्’, ढुङ्गानाले भने, ‘यस कार्यक्रमले पशुपालन क्षेत्रमा घाँसको परिपूर्ति गरी उत्पादन लागतमा कमी ल्याउने योजना छ ।’

त्यसैगरी नगरपालिकाले दुग्ध उत्पादनका आधारमा अनुदान वितरण कार्य थालेको छ । उत्पादनका आधारमा अनुदान दिन थालेपछि किसान प्रतिस्पर्धाका साथै उत्साहित भएर उत्पादन गर्न लागेका छन् ।

नगरभित्रका दुई वटा दुग्ध उत्पादन सहकारीमार्फत चार लाख २० हजार रुपैयाँ रकम अनुदान दिएको प्रमुख प्रशासकीय अधिकृत दिवाकर पौडेलले बताए । उनका अनुसार उत्पादनका आधारमा प्रदान गरिएको अनुदानले किसानलाई हौसला प्रदान गरेको छ । उनले, ‘किसानलाई प्रतिलिटर रु तीनका दरले अनुदान दिइएको छ ।’

नगरप्रमुख आनन्द त्रिपाठीले किसानलाई पशुपालनतर्फ आकर्षित गर्न र नगरलाई दूध तथा मासुमा आत्मनिर्भर बनाउने उद्देश्यले अनुदान उपलब्ध गराइएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?