+

मुटुको समस्या भएकालाई कस्तो खानपान ?

२०८१ भदौ  १६ गते १६:४५ २०८१ भदौ १६ गते १६:४५
मुटुको समस्या भएकालाई कस्तो खानपान ?

मुटुलाई स्वस्थ राख्न खानाले महत्वपूर्ण भूमिका खेल्छ । स्वस्थ खाना स्वस्थ शरीरको आधार हो र अस्वस्थ खाना रोगको घर हो भन्ने गरिन्छ । खराब खानपानकै कारणले कोलेस्टेरोल, तौल बढ्ने र रक्तचापलाई असर गर्छ भन्ने कुरा विभिन्न वैज्ञानिकहरूले प्रमाणित गरेका छन् ।

अस्वस्थकर खाना खाँदा शरीरको नसामा अस्वस्थ बोसो जम्मा हुन थाल्छ, जसकारण मुटुमा रगत पुग्न सक्दैन । जसले गर्दा मुटु रोगको जोखिम बढ्न सक्छ । यस्तोमा मुटुमा समस्या भइसकेकाले आफ्नो खानपानमा विशेष ध्यान दिनुपर्छ ।

मुटुको समस्यामा के खाने ?

मुटुसँग सम्बन्धित कुनै पनि समस्या भएमा निम्न खानेकुरालाई आफ्नो आहारमा समावेश गर्न सल्लाह दिइन्छ ।

फलफूल र तरकारी: फलफूल र तरकारीले मुटुलाई स्वस्थ राख्नमा ठूलो भूमिका खेल्छ । तिनीहरूमा फाइबर, भिटामिन र खनिजहरू प्रशस्त हुन्छन्, जसले बोसो, क्यालोरी, सोडियम र कोलेस्टेरोल घटाउन मद्दत गर्छ र साथै फलफूलको जुस पिउने भन्दा पनि प्राकृतिक रुपमा नै खानु फाइदाजनक हुन्छ ।

ड्राई फ्रुट्स: ड्राई फ्रुट्समा मोनोअनस्याचुरेटेड फ्याट हुन्छ, जुन शरीरको स्नायुसँग सम्बन्धित हुन्छ । यदि बिरामीले दैनिक एक मुट्ठी खाएमा मुटुरोगको जोखिम झण्डै ३० प्रतिशतले कम हुन्छ ।

स्वस्थ प्रोटिन: प्रोटिनको राम्रो स्रोत, भिटामिन बी, आइरन र अन्य भिटामिन र खनिजहरू जस्तै मासु, दाल, समुन्द्री खाना, अण्डा आदिलाई आफ्नो आहारमा समावेश गर्नुपर्छ ।

सम्पूर्ण अन्न: सम्पूर्ण अन्न फाइबरको राम्रो स्रोत हो । साथै यसमा अन्य धेरै पोषक तत्त्व पनि पाइन्छ, जसकारण रक्तचाप पनि नियन्त्रणमा रहन्छ । सम्पूर्ण अन्नमा हुने रेशा, भिटामिन, खनिज आदिको उच्च मात्रालाई शरीरले उपयोग गर्छ । सग्लो अनाजको नियमित प्रयोगले हृदयघात र मस्तिष्कघातको जोखिमलाई न्यून बनाउँछ ।

भिटामिन सीयुक्त खानेकुरा: एक अनुसन्धान अनुसार भिटामिन सीले रक्तचाप नियन्त्रण गर्न मद्दत गर्छ । भिटामिन सीले भरपुर खाना खाँदा मुटुरोगको खतरा पनि कम हुन्छ । अमला, सुन्तला, कागती जस्ता खानेकुरामा भिटामिन सी पाइन्छ ।

कस्तो खानेकुरा कम खाने ?

मुटुरोग लागेमा यी खानेकुरालाई कम खानु राम्रो हुन्छ ।

रातो मासु: रातो मासुमा प्रोटिन प्रशस्त हुने भए पनि धेरै मानिसले यसलाई आफ्नो आहारमा समावेश गर्छन् तर मुटुका बिरामीलाई रातो मासु एकदमै कम खानुपर्छ । किनकि यसमा बोसोको मात्रा पनि धेरै हुन्छ । रातो मासुको सट्टा माछा, कुखुराको मासु खान सकिन्छ ।

अण्डाको पहेंलो भाग: जिम जानेका लागि अण्डालाई प्रोटिनको राम्रो स्रोत मानिन्छ । तर अण्डाको पहेंलो भागमा सन्तृप्त फ्याटको मात्रा धेरै हुन्छ, त्यसैले यसको सेवन कम गर्नुपर्छ ।

ट्रान्स फ्याट: ट्रान्स फ्याटले मुटुलाई हानि पुर्‍याउँछ । प्रशोधित उत्पादनहरूमा ट्रान्स फ्याटको मात्रा उच्च हुन्छ । यसबाट बच्न कुनै पनि वस्तु खरिद गर्दा यसको पछाडिको लेबल पढ्नुपर्छ ।

चिनी र नुन: कुनै पनि खानेकुराको अत्यधिक सेवनले शरीरमा नकारात्मक असर गर्छ । चिनी र नुनको अत्यधिक सेवनले स्वाद त बढाउँछ साथै मधुमेह र उच्च रक्तचाप पनि निम्त्याउँछ । त्यसैले खानामा नुन चिनीको प्रयोग कम गर्नुपर्छ ।

ध्यान दिनुपर्ने कुरा

सुर्तीजन्य पदार्थको सेवन नगर्ने: सुर्तीजन्य पदार्थले मुटुरोग र हृदयघातको जोखिम बढाउँछ । यसबाट शरीरका स्नायुहरू प्रभावित हुन्छन्, जुन ट्राइग्लिसराइड्स र हृदयघातको मुख्य कारण हो । यसबाहेक निकोटिनले रक्तचाप बढाउन सक्छ । त्यसैले सुर्तीजन्य पदार्थको सेवन गर्नै हुन्न ।

रक्सी नपिउन: रक्सीले उच्च रक्तचापको समस्या बढाउँछ, जसले अन्ततः हृदयरोगलाई बढावा दिन्छ । अत्यधिक मदिरा सेवनले शरीरको स्नायु कडा बनाउँछ । त्यसैले मुटुको समस्या भएकाहरूले रक्सीको सेवन पनि गर्नु हुँदैन ।

मोटोपन घटाउने: शरीरमा अत्यधिक बोसोले खराब कोलेस्टेरोल र ट्राइग्लिसराइड्सको स्तरलाई बढाउँछ । साथै यसले उच्च रक्तचाप र सुगर पनि निम्त्याउँछ । त्यसैले मुटुको समस्याबाट बच्न र समस्या देखिएपछि जटिलताबाट बच्न तौल नियन्त्रणमा राख्नुपर्छ ।

व्यायाम: शारीरिक क्रियाकलाप नगर्नु मुटु रोगलाई निम्तो दिनु जस्तै हो । मोटोपन, उच्च रक्तचाप, उच्च कोलेस्टेरोल र सुगर लेभल बढ्नुको कारण आरामदायी जीवनशैली हो । त्यसैले दैनिक व्यायाम गर्नुपर्छ ।  तर मुटुको समस्या देखिइसकेकाहरूले भने कस्तो व्यायाम गर्ने भनेर चिकित्सकसँग सल्लाह गर्नुपर्छ ।

खानपान मुटुरोग स्वास्थ्य
लेखक
प्रवीण भट्टराई
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय