+

‘नेपालका बालबालिका दक्षिण एसियामै धेरै वायु प्रदूषणको जोखिममा’

२०८१ भदौ  १६ गते १७:१४ २०८१ भदौ १६ गते १७:१४
‘नेपालका बालबालिका दक्षिण एसियामै धेरै वायु प्रदूषणको जोखिममा’

काठमाडौं । वायु प्रदूषणका कारण बालबालिकाको स्वास्थ्यमा गम्भीर असर पारेको सरोकारवालाले बताएका छन् । ट्रिपल मिडियाले सेभ द चिल्ड्रेनको सहकार्यमा ‘वायु प्रदूषणका कारण बालबालिका, महिला तथा सीमान्तकृत वर्गमा परेको असर’बारे काठमाडौंमा भएको सरोकारवाला निकायसँगको अन्तरक्रिया कार्यक्रममा उनीहरुले यस्तो बताएका छन् ।

कार्यक्रममा कान्ति बाल अस्पतालका बालरोग विशेषज्ञ डा. जगतजीवन घिमिरले नेपालका बालबालिका दक्षिण एसियामै सबैभन्दा धेरै वायु प्रदूषणको जोखिममा परेको बताए । बालबालिकाका शरीरका अंगहरु विकास हुने क्रममा भएकाले वायु प्रदूषणको जोखिम उनीहरुमा धेरै पर्ने डा. घिमिरेले बताए ।

‘प्रदूषणको असर पेटभित्रको बच्चामा पनि जान्छ । नेपालका बच्चामा जन्मिंदै वायु प्रदूषणको असर परिसकेको हुन्छ । जसले गर्दा उनीहरुको शारीरिकसँगै मानसिक विकास हुन पाउँदैन,’ उनले भने ।

वातावरणविद् भूषण तुलाधरले वायु प्रदूषणले स्वास्थमा पारेको असर र समाधानका उपायबारे प्रकाश पारेका थिए । नेपालमा प्रत्येक वर्ष वायु प्रदूषणका कारण मृत्यु हुनेको संख्या ४८ हजार ५०० रहेको छ । काठमाडौंमा मात्रै वर्षमा वायु प्रदूषणका कारण पाँच हजार बढीको मृत्यु भएको तुलाधरले बताए ।

नेपालमा मृत्युको मुख्य कारण र त्यसमा वायु प्रदूषणको भूमिकामध्ये ६६ प्रतिशत दीर्घकालीन फोक्सोको रोग, ३४ प्रतिशत मुटुको रोग, ३७ प्रतिशत मस्तिष्कघात, ४७ प्रतिशत तल्लो श्वासप्रश्वास प्रणालीको संक्रमण, २२ प्रतिशत नवजात शिशुको मृत्यु रहेको छ ।

सन् २०२१ को तुलनामा सन् २०२२ मा नेपालको वायु प्रदूषण करिब १८ प्रतिशतले घटेको छ । तर अझै पनि नेपालको वायु प्रदूषण विश्व स्वास्थ्य संगठनको मापदण्ड भन्दा आठ गुणा बढी छ । यसलाई घटाएर विश्व स्वास्थ्य संगठनको मापदण्ड पुर्‍याउन सके हरेक नेपालीको आयु ३.४ वर्ष र काठमाडौंबासीको उमेर २.६ वर्ष बढ्ने विभिन्न अध्ययनले देखाएको तुलाधरले जानकारी दिए ।

सन् २०३० देखि २०५० को बीचमा जलवायु परिवर्तनले मलेरिया, कुपोषण, झाडापखाला र गर्मीका कारण थप दुई लाख पचास मुत्युको अनुमान गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका वरिष्ठ स्वास्थ्य प्रशासक डा. समीरकुमार अधिकारीले बताए ।

अधिकारीका अनुसार विश्वभरि ९० प्रतिशत भन्दा बढी मानिस प्रदूषित वायु भएको ठाउँमा बस्छन् । प्रदूषणकै कारणले विश्वभरि वर्षेनी ७० लाखको मृत्यु हुने गरेको छ ।

‘काठमाडौंमा भने सवारी साधन नै वायु प्रदूषणको प्रमुख कारक हो । वायु प्रदूषणका कारण फोक्सोको क्यान्सर भई ३६ प्रतिशतको मृत्यु भएको छ भने ३४ प्रतिशतको मस्तिष्कघातबाट मृत्यु भएको छ,’ डा. अधिकारीले भने ।

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का अनुसन्धानविद् डा. मेघनाथ धिमालका अनुसार पाँच वर्षमुनिका करिब दुई हजार बालबालिका वायु प्रदूषणसँग सम्बन्धित स्वास्थ्य प्रभावका कारण मर्छन् । तीमध्ये ७० प्रतिशत भन्दा बढीको मृत्यु प्रदूषित इन्धनमा खाना पकाउने घरायसी वायु प्रदूषणका कारण भएको थियो । यसको सबैभन्दा ठूलो प्रभाव अफ्रिका र दक्षिण एसियामा देखिएको धिमालले बताए ।

बालबालिका वायु प्रदूषण स्वास्थ्य
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय