+
+

‘प्रकाश’ले ढाकेको अँध्यारो

डा. ओममूर्ति अनिल डा. ओममूर्ति अनिल
२०८१ भदौ १७ गते ७:१९

देश यतिबेला ‘प्रकाशमय’ भएको छ । पछिल्लो एक सातादेखि भोजपुरका प्रकाश तामाङको कथालाई लिएर सामाजिक सञ्जाल पनि तरंगित भएको छ । ‘हेर्ने कथा’ युट्युब च्यानल मार्फत प्रसारित ‘हराएका वर्षहरू’ शीर्षकमा प्रकाश तामाङको कथाको चर्चा यतिबेला सर्वत्र भइरहेको छ ।

उक्त कथाले लाखौं नेपालीको अन्तर मनलाई छोएर नै होला, यति धेरै चर्चा र प्रतिक्रिया आएको हुनुपर्छ । सबैतिर यो विषयमाथि चर्चा भइरहँदा मेरो मनमा भने मिश्रित भावना जागृत भएको छ । जसमा केही सकारात्मक र केही नकारात्मक छन् ।

मैले यस विषयमा लेखिरहँदा धेरैतिरबाट मेरो आलोचना पनि हुनसक्छ । साथै, मलाई नकारात्मक सोच भएको व्यक्तिका रूपमा चित्रण पनि गरिन सक्छ । तर म नकारात्मक सोच भएको व्यक्ति पटक्कै होइन । आलोचना हुन्छ भनेर आफ्नो सोच र समाजको वास्तविक चित्रलाई लुकाइराख्न पनि सक्दिन । त्यसैले केही लेख्न तम्सिएको हुँ ।

सकारात्मक पक्षबाटै सुरु गरौं । विद्या चापागाईं र हेर्ने कथाको टिमले विगत लामो समयदेखि समाजमा लुकेका कैयौं पात्रहरूका कथालाई उजागर गर्ने काम गर्दै आएको छ । आवाजविहीनहरूको आवाज बनेर, कतै सुनिएका, भनिएका वा चासोमा नपरेका कथाहरूलाई सो टिमले गहन तरिकाले प्रस्तुत गर्दै आएको छ । मैले पनि समय र अनुकूल मिलेसम्म ‘हेर्ने कथा’ का एपिसोडहरू हेर्छु । वास्तवमा ‘हेर्ने कथा’ले हाम्रो समाजको अवस्था र जनजीवनलाई बुझ्न केही हदसम्म मद्दत गर्छ । त्यो टिमको काम र मेहनतको म प्रशंसक हुँ ।

‘हेर्ने कथा’ले प्रसारण गरेका कैयौं कथामध्ये प्रकाश तामाङको कथा सम्भवत: सबैभन्दा मार्मिक र भावनात्मक हुनसक्छ । साथै, यसको प्रस्तुति पनि उत्कृष्ट रहेको कुरामा दुईमत छैन । यो लेख लेख्दै गर्दा युट्युबमा करिब ८० लाख भ्युज भएको छ भने सामाजिक सञ्जालहरूमा असंख्यक कमेन्ट र सेयर छन् । विषयवस्तुको मार्मिकतालाई हेर्दा यो आश्चर्यको कुरा होइन । कथावस्तुको गहिराइ तथा भावनात्मक प्रस्तुतिले धेरैको मन छोयो, भावुक बनायो, आँसु बगायो ।

डा. ओम मूर्ति अनिल

‘हराएका वर्षहरू’ एपिसोड प्रसारण भएपछि प्रकाश तामाङको जीवनमा केही परिवर्तन आएका छन् । उनीप्रति धेरैले सदाशयता दर्शाए, सहानुभूति प्रकट गरे, केहीले सहयोगको बाचा गरे, कोही सहयोग गर्ने तथा उठाउने क्रममा छन् । त्योभन्दा पनि महत्वपूर्ण प्रकाश तामाङले आमाबाबुलाई भेटे, दाजुभाइ, आफन्तहरूलाई चिने, जन्मघर फर्किए । सायद, कथाको सफलता पनि यही हो । यसमा सबैले खुसी मनाउनैपर्छ ।

पछिल्लो एक सातादेखि मेरो मन उद्देलित हुँदै आएको छ । किनकि सामाजिक सञ्जालमा प्रकाश तामाङको कथामा आएका प्रतिक्रिया र भइरहेका गतिविधिलाई मेरो मनले स्वभाविक रूपमा स्वीकार गर्न मानिरहेको छैन । मलाई उकुसमुकुस भइरहेको छ । मेरो मनभित्र उर्लिएका छाललाई कहाँ पोखौं–पोखौं भइरहेको छ । त्यसैले मैले आफ्नो मनको कुरा लेख्ने जमर्को गरेको हुँ ।

प्रकाश तामाङ अविवाहित हुन्, १० वर्षकै उमेरमा आमाबाबुसँग वर्षौंसम्म बिछोडिए, करिब चार दशकपछि परिवारसँग उनको पुनर्मिलन भयो । कथा सुन्दा उनलाई कुनै रोग छैन, परिवारका सदस्य जस्तै भएर बसेका थिए, कुनै शारीरिक कष्ट नदिइएको, खान लगाउन पाएको, आम नेपालीको दिनचर्या जस्तै ठीकठाकको जिन्दगी रहेको देखिन्छ । उनलाई कुनै ठूलो समस्या वा पारिवारिक जिम्मेवारी पनि थिएन । उनले आफ्नो जीवन खुसीसाथ बाँचिरहेको देखिन्छ ।

अहिले जे जति प्रतिक्रियाहरू आएका छन् । त्यो परिवारसँग उनको पुनर्मिलनको घटनापछि उत्पन्न परिस्थिति मात्रै हो । यो ३५ वर्षको अवधिमा उनले एउटा पारिवारिक व्यक्तिसरह सामान्य जीवन बिताइरहेका रहेछन् । उनलाई वर्तमानमा खासै पारिवारिक, आर्थिक र मानसिक समस्या नभएको देखिन्छ । मनमा कुनै असह्य पीडा नभएको प्रतीत हुन्छ । परिवारसँग विभिन्न कारणले छुट्टिएको पीडालाई नियति मानेर हाँसीखुसी जीवन बिताइरहेको देखिन्छ । यस्तो जीवन बिताउने व्यक्तिका लागि यति धेरै भावनामा बग्नु राम्रो हो त ? मैले आफैंलाई प्रश्न गर्छु ।

सहरका सुकिला क्याफेटेरियादेखि गाउँका खेत खलियानसम्म यसैको चर्चा हुँदै गर्दा म भने अरू लाखौं प्रकाशहरूका बारेमा सोचिरहेको छु, उनीहरूको दुःख, पीडा र बाध्यताका कथाहरू थाहा पाउँदा मन भत्भती पोल्छ । यी प्रकाश तामाङको कथाले अरू प्रकाशहरूको कथालाई अँध्यारोमा राखेको अनुभूति हुन्छ । अनि मेरो मानसपटलमा त्यस्ता असंख्यक प्रकाशहरूको कथाव्यथाहरू छाल बनेर उर्लिएर आइरहेका छन् ।

जसले बूढा बाबुआमालाई छोडेर रोजगारीका निम्ति हिंडेको छ, बाबुआमा बिरामी हुँदा तातो पानी दिन र गोडा मालिस गर्न सकिरहेका छैनन्, जो नवविवाहित श्रीमतीसँग दुई-चार दिन पनि बिताउन नपाउँदै विछोडिएको छ । जसले गर्भवती श्रीमतीलाई अस्पताल नलगेर आफू एयरपोर्ट पुग्नु परेको छ, जसले आफ्ना सन्तानको पहिलो आवाज र अनुहार सुन्न र हेर्न पाएका छैनन्, सन्तान बिरामी पर्दा छेउमा बसेर सुमसुमाउन पाएको छैन । जतिबेला परिवारमा उसको भौतिक उपस्थितिको आवश्यकता परेको हुन्छ त्यसबेला बिरानो ठाउँमा तड्पिनुको पीडा यहाँ कसले अनुभव गर्ने ?

जसले साथीभाइ, साथीसंगीका बिहे छुटाएको छ, देउसीभैलो, रोधी बिर्सिएको छ । होलीमा रमाउन, पालम गाउन र डेउडा नाच्न पाएको छैन । जीवनका कैयौं महत्वपूर्ण पल छुटाएर हातमुख जोर्न तथा परिवारको खुसी र सुखका निम्ति ५० डिग्रीको गर्मीमा पासिना बगाउँदा बगाउँदै बाकसमा बन्द भई घर फर्किएको छ । मिर्गौला र मुटु बिग्रिएर थलिएको छ । जसका निम्ति खाडीमा नङ्ग्रा खियायो उनीहरू नै पराई भइदिंदाको पीडा भोग्दै बसेका असंख्यक प्रकाशहरूको कथा यी प्रकाशको भन्दा कम छैनन् । म त ती लाखौं प्रकाशका अगाडि यी प्रकाशलाई तुलनात्मक रूपमा कम पीडामा देख्छु ।

अझ वृद्ध बाबु जसले बुढेसकालको आफ्नो सहारा सम्झिएका थिए, त्यही एक्लो सन्तानको शरीरमा दागबत्ती दिनु पर्दाको बेदना कस्तो होला ?, बाबुको मुखै नहेरी अभिभावकत्व गुमाउनु, राम्रोसँग बोल्न नपाउँदै सिउँदो पुछिनु, बिरानो ठाउँबाट रातो बाकसमा चिसो मान्छे ल्याउन साथीभाइ र छिमेकबाट चन्दा उठाउनुपर्ने कुरा सुन्दा नै मेरो आङ सिरिङ्ग हुन्छ । भोग्नेको बेदना कस्तो होला ? म कल्पना गर्न पनि सक्दिनँ । ती प्रकाशहरुलाई गाउँका मानिस र आफन्त बाहेक अरु कसैबाट सहयोग नपाएको देखिन्छ । तर, यहाँ सिंगो देशले जसरी हेर्ने कथाका प्रकाशलाई सहानुभूतिको नजरले हेरेको छ, सहयोगका हात बढिरहेका छन् । उनीहरू बाकसमा बन्द भएका अरु प्रकाश, तिनका परिवार, बृद्ध, असहाय र गरिब मातापिताको लागि पनि त्यस्तै भएको भए कति राम्रो हुन्थ्यो होला ।

अनेक पीर र व्यथाले देशभित्र तथा देश बाहिर छट्पटाइरहेका असंख्यक प्रकाश छन् । उनीहरूको घाउमा पनि मल्हम लगाउन जरुरी छ । त्यसका निम्ति हामीले अझै केही थोपा आँसु सञ्चित गरेर राख्नुछ, बगिरहने भावनालाई बाँध बाँधेर राख्नुछ, मनको एउटा टुक्रालाई जोगाई राख्नुछ र केही रकम बचाउनु छ । त्यसैले चर्चामा आएका घटनामा मात्रै होइन चर्चामा नआएकाहरूको बारेमा पनि सोच्नुपर्छ । किनकि साधारण मस्तिष्कले देखिएका र सुनाइएका कुराको बारेमा मात्रै सोच्छ । तर मानिसको मस्तिष्क असाधारण मानिन्छ, जसले आँखाले नदेखेका र चर्चामा नआएका घटनालाई पनि मस्तिष्कले सोचेर निर्णय गर्नुपर्छ ।

प्रकाश अहिले ‘लाइमलाइट’ छन् । हाम्रो सबै भावना अहिले नै नपोखौं । थोरै जोगाएर राख्दा पछि अरुका लागि पनि काम लाग्छ । कतिपयले स्वच्छ ह्दयले सहयोगका हात अगाडि बढाएका पनि छन् । तर केही ‘बगेको खोलामा हात धुन’ अग्रसर देखिन्छन् । धर्मशास्त्रमा पनि भनिएको छ– ‘एउटा हातले दिएको सहयोग अर्को हातले थाहा नपाओस् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?