+
+

एमए पढिरहेका झलनाथ खनाल अध्ययन विदामा

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ १६ गते २०:५२

१६ भदौ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले गत बिहीबार केन्द्रीय समिति बैठकमा अनुपस्थित हुने नेताहरुको नाम वाचन गरेका थिए ।

देवशंकर पौडेल, तहलबहादुर खड्का सहित २० जना केन्द्रीय सदस्य अनुपस्थित रहेको अध्यक्ष नेपालले बताइरहँदा पूर्वप्रधानमन्त्री एवं सम्मानित नेता झलनाथ खनाल पनि बैठकमा थिएनन् । नेपालले खनालको अनुपस्थितिबारे पनि बताए ।

‘सम्मानित नेता झलनाथ खनाल व्यक्तिगत कामका लागि विदामा हुनुहुन्छ’ अध्यक्ष नेपालले भनेका थिए । त्यसबाहेक थप कुरा भएनन् ।

जबकी यो बैठकमा नेताहरुको उपस्थिति महत्वपूर्ण थियो । किनकि ९ भदौदेखि बसेको केन्द्रीय समिति बैठकमा मतदानबाट पदाधिकारी र पोलिटब्यूरो सदस्य निर्वाचित भएका थिए ।

केन्द्रीय समिति बैठक उद्घाटन समारोहमा चाहिँ पुर्वप्रधानमन्त्री खनालले सम्बोधन गरेका थिए । सम्बोधनका क्रममा उनले पदाधिकारी र पोलिटब्यूरो सर्वसहमत गर्नुपर्ने मत राखेका थिए । यद्यपि मतदानबाट पदाधिकारी चुनिए ।

त्यसैले केन्द्रीय समिति बैठकमा मात्र नभएर मतदानकै क्रममा पनि खनालको खोजी स्वभाविक थियो । ‘पदाधिकारी र पोलिटब्यूरो जस्तो पार्टीको शीर्ष संरचनामा उहाँको खोजी हुनु स्वभाविक हो । तर यसप्रति खासै चासो दिनुभएन’ एक नेताले भने, ‘खासमा उहाँको अहिले पढाइ चलिरहेको रहेछ । त्यसैले बैठक समापन अघि नै अध्ययन विदा लिनुभयो ।’

अर्का एक शीर्ष नेताले पनि पूर्वप्रधानमन्त्री खनाल आफ्नो पढाइकै कारणले विदामा बसेको पुष्टि गरे । ‘१० दिनको विदा लिनुभएको छ । तीन दिन सकियो, अब एक हप्ता बाँकी छ’, ती नेताले भने ।

खनाल निकट स्रोतले पनि अध्ययनकै लागि विदा लिएको बताए । ‘बौद्ध दर्शनमा एमए गरिरहनुभएको छ । त्यसको प्राक्टिकलमा मेडिटेशन हुँदो रहेंछ’ ती स्रोतले भन्यो, ‘मेडिटेसनमा जानकै लागि पार्टीबाट विदा लिनुभएको हो ।’ उनका अनुसार, खनालले लुम्बिनी विश्वविद्यालयबाट एमए गर्दैछन् ।

७४ वर्षीय पूर्वप्रधानमन्त्री खनालले चार दशकभन्दा अगाडि विज्ञानमा स्नातक गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

छुटाउनुभयो कि ?