+
+

कहाँ होलिन् जेरुसा राई ?

‘हराउनुअघि डुबेको कति समयमा मर्छ भनेर सर्च गरेको भेटियो’

जेरुसाकी आमालाई लाग्छ, उनी कुनै गुम्बामा आनी भएर बसेकी छिन् ।

गौरव पोखरेल गौरव पोखरेल
२०८१ भदौ १६ गते २०:२७

१६ भदौ, काठमाडौं । दुई वर्षअघि ६ असोज २०७९ को साँझ गायिका जेरुसा राई आमा इस्का घिमिरे राईसँगै खाना खाएर आफ्नो कोठातिर गएकी थिइन् ।

इस्कालाई बेलुकी टेलिभिजनमा समाचार हेर्ने बानी थियो, जेरुसा प्रायः आफ्नै कोठामा छिरेर ल्यापटपमा काम गरिरहन्थिन् ।

अरु बेला झैं त्यो दिन पनि सानेपास्थित घरमा आमा छोरी मात्रै थिए । इस्का सम्झन्छिन्, ‘सधैँ जस्तै आमाछोरी खाना खाएर आ–आफ्नो कोठातिर लागेका थियौं ।’ उनलाई लाग्यो – छोरी अरुबेला जस्तै कोठामा केही काम गरेर सुत्लिन् ।

जेरुसा भने आमा टिभी हेरिरहेको मौका पारेर त्यहीबेला घरबाट सुटुक्क बाहिर निस्किँदै थिइन् । आमा इस्काको बुझाइमा, आमालाई थाहा नहोस् भन्नेमा उनी यति सतर्क थिइन् कि जुत्ता लगाउँदा आवाज आउन सक्ला भनेर पुरानै चप्पल लगाएर तल गइछन् ।

उनको कोठामा आमा पुग्दा जेरुसा थिइनन् । बरु त्यहाँ एउटा कागज थियो, जसमा बाँच्नुपर्ने जीवन बाँचिसकेको भन्दै आफ्नो खुशीले निर्णय लिएको उल्लेख गरिएको थियो ।

‘फुटेज हेर्ने क्रममा सानेपाबाट मलपोखरीतर्फ उहाँ एक्लै लुसुलुसु हिँडिरहेको देखियो’, एक प्रहरी अधिकृत भन्छन्, ‘ब्याग अथवा अरु केही सामान नबोकी ट्र्याक र सर्ट लगाएर उहाँ बागमती खोलातर्फ गएको देखिएको थियो ।’

जिल्ला प्रहरी परिसर, ललितपुरका एक अनुसन्धान अधिकृतका अनुसार, नोटमा ‘संसारबाट अलप’ हुन लागेको भनिएको थियो । उनले आफ्नो निर्णयमा कसैको दोष नभएको भन्दै आफ्नो जीवनको दोषी आफैं रहेको भनेकी थिइन् ।

जेरुसाले प्रयोग गर्ने ल्यापटपको माथिपट्टी फेला परेको नोटमा उनले ‘बागमती खोला’ समेत उल्लेख गरेकी थिइन् ।

सीसी टीभीमा एक्लै हिँडेको देखियो

जिल्ला प्रहरी परिसर, ललितपुरका एक अनुसन्धान अधिकृतका अनुसार, उनी बेपत्ता भएको सूचना पाउनेबित्तिकै जेरुसा जानसक्ने सम्भावित रुटको क्लोज सर्किट (सीसी) क्यामराका फुटेज हेरिएको थियो ।

‘फुटेज हेर्ने क्रममा सानेपाबाट मलपोखरीतर्फ उहाँ एक्लै लुसुलुसु हिँडिरहेको देखियो’, ती अधिकृत भन्छन्, ‘ब्याग अथवा अरु केही सामान नबोकी ट्र्याक र सर्ट लगाएर उहाँ बागमती खोलातर्फ गएको देखिएको थियो ।’

फुटेज पछ्याउने क्रममा राई त्रिभुवन विश्वविद्यालय जाने बाटो नजिकैको झोलुङ्गे पुलतर्फ गएको पनि देखिएको उनी बताउँछन् । ‘ललितपुरबाट क्रस भएको देखिन्छ काठमाडौंमा, फेरि फर्किएर आएको देखिन्न’, ती अधिकृतले भने, ‘झरीको समय थियो, खोलामा बाढी आएको थियो, खोलालाई लक्षित गरेर सर्च पनि गरेका थियौं ।’

आमा इस्काका अनुसार, जेरुसाका साथीहरु स्वतः स्फूर्त भेला भएर पनि उनको खोजी गरेका थिए । ‘आफन्त र साथीभाइ गरेर दैनिक १०० जनाजति मान्छे जम्मा भएर चोभार, दक्षिणकाली सबैतिर खोजी गर्‍यौं’, उनी भन्छिन्, ‘प्रहरीले पनि त्यसबेला मकवानपुरको छेऊसम्म खोजी गरेको थियो ।’

प्रहरीको भनाइमा, त्यसबेला तालिम प्राप्त कुकुर लगेर समेत जाँच गरिएको थियो । यद्यपि, कुनै सुराक फेला परेन ।

नियमित औषधि सेवन गरिरहेको भेटियो

युट्युबबाट चर्चामा आएकी पप–रक–इन्डी जानराकी गायिका जेरुसाले सन् २०११ देखि अंग्रेजी कभर गीतहरु युट्युबमा अपलोड गर्न थालेकी थिइन् । यद्यपि, त्यसअघिबाटै उनी गीत लेखन र गायनमा सक्रिय थिइन् ।

माओवादी द्वन्द्वको विषयलाई समेटेर तयार ‘बारुद’ शीर्षकको गीत सन् २०१७ मा सार्वजनिक भएपछि उनी चर्चामा आएकी थिइन् । एक अन्तर्वार्तामा द्वन्द्वको समयमा बुबा खोटाङमा हुँदा भएको अपरहण, हत्या र जबरजस्ती युद्धमा सामेल गराउन भएका प्रयासबारे सुनेकाले त्यसलाई गीतमा उतारेको उनले बताएकी थिइन् ।

स्थायी घर खोटाङ भएकी उनले जावलाखेलको सेन्ट म्यारिज स्कुल पढेकी थिइन् । विद्यालय शिक्षा सकेर उनी थप अध्ययनका लागि सन् २०१० मा बेलायत गएकी थिइन् । त्यहीँबाट उनले गीत, संगीतलाई अघि बढाइरहेकी थिइन् ।

पारिवारिक स्रोतका अनुसार, स्नातकोत्तर अध्ययनका लागि उनी लण्डनबाट अमेरिका गएकी थिइन् । अमेरिकामा रहँदा उनको एक जना व्यक्तिसँग विवाह पनि भयो । तर, सम्बन्ध लामो समयसम्म टिकेन ।

पछि उनी अर्का व्यक्तिसँग पनि नजिकिइन् । ती व्यक्तिसँग पनि सम्बन्ध राम्रो नभएपछि उनी थप विक्षिप्त भइन् ।

त्यसक्रममा उनी डिप्रेसनमा समेत पुगेको परिवारका सदस्यहरुले प्रहरीसँग भनेका छन् । त्यसक्रममा उनी अमेरिकाको विभिन्न अस्पतालमा पनि गइन् भने नेपाल पनि निरन्तर आउन थालिन् ।

सम्पर्कविहीन हुनुअघि उनी नेपाल आएको चार महिना मात्र भएको थियो । उनी आफ्नो मोबाइलसमेत घरमै छाडेर हराएकी थिइन् । प्रहरी प्रधान कार्यालयमा रहेको डिजिटल फरेन्सिक ल्याबमा जाँच गर्दा उनले केहीअघि ‘मान्छे नदीमा डुबेको कति समयमा मर्छ’, भनेर सर्च गरेको हिस्ट्री भेटिएको थियो ।

‘ऊ दुःखमा परेकालाई सहयोग गर्दै हिँड्थी, समाजसेवी मान्छे, मलाई दुई पटक आनी हुन्छु भनेर भनेकी थिई’, आमा इस्काले अनलाइनखबरसँग भनिन्, ‘पहिले पनि हराउँथी, कहाँ गएको भन्दा गुम्बामा गएर आएको नि भन्थी ।’

ललितपुर प्रहरीका अनुसन्धान अधिकृतहरु यिनै विषयहरुलाई आधार मानेर जेरुसालाई भेट्ने सम्भावना न्यून रहेको बताउँछन् ।

‘सीसी टीभीमा एक्लै लुसुलुसु हिँडेको देखिनु, सर्च हिस्ट्री, सुसाइड नोट जस्तो कागज भेटिनु, बागमती खोला लेख्नु र निराशाजनक कुराहरु उल्लेख गर्नुले राम्रो संकेत गर्दैन’, अनुसन्धानमा संलग्न एक अधिकृत थप्छन्, ‘डग इस्निफिङदेखि अर्को जिल्लामा रहेका सेनाको टोली प्रयोग गर्दा पनि अत्तोपत्तो लागेन ।’

जेरुसाकी आमा इस्का भने प्रहरीको भनाइसँग सहमत छैनन् । उनलाई लाग्छ – छोरी जेरुसा कुनै गुम्बामा आनी हुन गएकी छे । पारिवारिक स्रोतका अनुसार, पछिल्ला वर्षहरुमा उनको अध्यात्मतर्फ ध्यान बढेको थियो ।

‘ऊ दुःखमा परेकालाई सहयोग गर्दै हिँड्थी, समाजसेवी मान्छे, मलाई दुई पटक आनी हुन्छु भनेर भनेकी थिई’, आमा इस्काले अनलाइनखबरसँग भनिन्, ‘पहिले पनि हराउँथी, कहाँ गएको भन्दा गुम्बामा गएर आएको नि भन्थी ।’

जेरुसाकी आमा इसाइ धर्ममा आस्था राख्छिन् । जेरुसा चाहिँ पछिल्लो समय बौद्ध धर्मप्रति आकर्षित थिइन् । घरमा धुप बाल्थिन्, कोठामा ध्यान गरेर बस्थिन् । ‘म गएँ, संसारबाट अलप भएँ, सबै सुख प्राप्त गरेँ लेखेकी थिइन्’, आमाले आश व्यक्त गरिन्, ‘उसले अर्कै दुनियाँ अगाँलेकी छ, ऊ कुनै दिन आउँछे ।’

जेरुसा सम्पर्कविहीन भएको केही महिनापछि उनी चितवनमा देखिइन् भन्ने खबर आएको थियो । त्यसपछि पनि विभिन्न व्यक्तिले देखेको भन्दै सामाजिक सञ्जालमा पोष्ट गरेका थिए । यस्ता खबरहरुले घरमा झिनो आश जगाउँछन्, तर ती सबै अहिलेसम्म गलत ठहरिएका छन् ।

‘चितवनमा देखेको भनेपछि फोटो पठाउन लगाएर पनि हेर्‍यौं, त्यसक्रममा मंगोलियन अनुहार भएको, कपाल झुम्लुङ परेको केटी थिइन्’, आमा इस्का भन्छिन्, ‘तर, उनी जेरुसा थिइनन्, मानसिक समस्या भएको अरु नै कोही जस्तो थिइन् ।’

जिल्ला प्रहरी परिसर, ललितपुरका अधिकृतहरु भने उनलाई खोज्ने क्रममा उस्तै हुलियाको युवतीलाई बागमती खोला नजिक देखेको स्थानीयले बताएका थिए ।

‘एक जना महिलाले त्यहाँ देखेर छोरी मान्छे एक्लै कहाँ गएको भनेर सोधेको पनि भन्नुभएको थियो’, एक अधिकृत भन्छन्, ‘सबै प्रमाणहरुले खोलामै केही भएको भन्ने देखाउँछ ।’

जिल्ला प्रहरी परिसर, ललितपुरका प्रमुख एसएसपी शेखर खनाल भने जेरुसाको अझै खोजी भइरहेको बताउँछन् ।

लेखकको बारेमा
गौरव पोखरेल

पोखरेल अनलाइनखबरका लागि राष्ट्रिय सुरक्षा एवं समसामयिक विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?