+
+
सहकारी संकट-५३ :

सहकारी ठगी प्रकरणमा रवि लामिछानेसहित ३ जनासँग प्रहरीले लियो बयान

नारायण अधिकारी नारायण अधिकारी
२०८१ भदौ १६ गते २१:२६

१६ भदौ, काठमाडौं । पोखराको सूर्यदर्शन सहकारीको बचत अपचलनमा प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँग बयान लिएको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीका डीएसपी वसन्तकुमार शर्मा सहितको टोलीले काठमाडौं आएर पूर्वगृहमन्त्री तथा सांसद लामिछाने, रास्वपाका सहमहामन्त्री विपिन आचार्य र नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल जोशीसँग बयान लिएको हो ।

‘लामिछानेको समेत नाम उल्लेख गरेर पूरक जाहेरी परेपछि त्यसबारे सोधपुछ गरिएको हो’ प्रहरी उच्च स्रोतले अनलाइनखबरसँग भन्यो, ‘बयान भन्दा पनि यो प्रारम्भिक सोधपुछ हो ।’ स्रोतका अनुसार उनीहरुको बयान लिएको एक हप्ता भइसकेको छ ।

सूर्यदर्शन सहकारीको रकम लामिछाने प्रबन्ध निर्देशक रहेको गोर्खा मिडिया प्रालिमा लगेको र लामिछानेकै नाममा समेत ऋण लिएको भेटिएपछि १६ माघ २०८० मा बचतकर्ताले उनीविरुद्ध पूरक जाहेरी दिएका थिए । तर, लामिछानेसहित तीनै जनाले सूर्यदर्शन सहकारी ठगी प्रकरणमा आफूहरुको संलग्नता अस्वीकार गरेका छन् ।

३१ असार २०७८ मा पुलेसो कर्जा मार्फत लामिछानेको नाममा सहकारीको १ करोड रकम निकासा गरिएको भेटिएको थियो । पछि उक्त ऋण फर्स्योट भएको पनि भेटिएको थियो । यसबारे प्रहरीले लामिछानेसँग सोधपुछ गरेको हो । ‘प्रहरीले प्रारम्भिक सोधपुछ गरेको छ । यस विषयमा उहाँले सहकारीको कुनै रकम पनि नलिएको र त्यसको हिस्सेदार आफू नरहेको बताउनुभएको छ’, प्रहरी स्रोतले भन्यो ।

रास्वपाका सहमहामन्त्री आचार्य गोर्खा मिडिया नेटवर्कको क्रिएटिभ डाइरेक्टर थिए । उनको नामबाट ६ पुस २०७८ मा सूर्यदर्शन सहकारीको १ करोड रुपैयाँ गोर्खा मिडियामा गएको थियो ।

ग्यालेक्सी टेलिभिजनका पूर्वसंस्थापक छविलाल जोशीसँग पनि प्रहरीले बयान लिएको छ । जोशी पनि ग्यालेक्सी टेलिभिजनको लगानीकर्ता अर्थात् जीबी (गितेन्द्रबाबु) राईका साझेदार थिए । पछि उनी गोर्खा मिडियाबाट बाहिरिएका थिए । सहकारीको रकम गोर्खा मिडियामा लगेर अपचलन गरिएको र उनी पनि गोर्खा मिडियाको कुनै समय साझेदार भएका हिसाबले प्रहरीले उनको पनि बयान लिएको हो ।

२४ माघ २०८० मा पूर्वडीआईजी जोशीले भाडामा लिएको शंखमूलस्थित घरमा छापा मारेर सहकारीका तथ्यांक रहेका चार वटा सर्भर समेत प्रहरीले बरामद गरेको थियो । डीआईजी जोशीको घरमा नेचर हब्र्स इन्टरनेसनल प्रालिको कार्यालय राखिएको थियो ।

यसअघि उनीहरु तीनै जनासँग सहकारीको बचत अपचलनबारे छानबिन गर्न गठित संसदीय समितिले बयान लिएको थियो । २ भदौमा आचार्यसँग ७ भदौमा लामिछाने र जोशीसँग समितिले बयान लिएको थियो । स्रोतका अनुसार संसदीय समितिमा दिएकै जस्तो बयान उनीहरुले प्रहरी समक्ष दिएका छन् ।

प्रहरी स्रोतका अनुसार प्रहरीले गोर्खा मिडिया तथा ग्यालेक्सी टेलिभिजनको कार्यालयमा समेत खानतलासी गरेको थियो । ‘सहकारी सम्बन्धी कागजात भेटिन सक्ने आशंकामा खानतलासी गरेका हौं । तर केही प्रमाण भेटिएन’, प्रहरी स्रोतले भन्यो । प्रहरीले जोशीको घरमा रहेको नेचर हबको कार्यालयमा पनि प्रहरीले खानतलासी गरेको थियो ।

सूर्यदर्शन सहकारीले बचतकर्ताको १ अर्ब ११ करोड ३४ लाख ४३ हजार रुपैयाँ हिनामिना गरेको भन्दै बचतकर्ताले सहकारीका पदाधिकारी विरुद्ध जिल्ला प्रहरी कार्यालय कास्कीमा जाहेरी दिएका थिए ।

२०७६ सालदेखिको विवरण केलाउँदा १ अर्ब ३५ करोड ५३ लाख ५४ हजार ८९९ रुपैयाँ ठगिएको विवरण भेटिएको थियो । तर, काठमाडौं शंखमूलबाट चार वटा सर्भर बरामद गरेपछि २०७२ सालदेखिको ठगी विवरण पत्ता लागेको थियो । जसअनुसार सर्भर बरामद भएपछि ठगीको बिगो बढेर १ अर्ब ५० करोड ९० लाख ३० हजार ५०३ रुपैयाँ पुगेको भेटिएको छ ।

सूर्यदर्शन सहकारीको वचत अपचलनमा सुरुमा जाहेरी परेका १९ जनामध्ये पूर्वसञ्चालक शिवबहादुर गुरुङ (महेन्द्र भोटे), भविश्वर अर्याल, सहकारीका कोषाध्यक्ष कुमार रम्तेल, पूर्वउपाध्यक्ष कैलाश दर्लामी मगर र सञ्चालक समिति सदस्य प्रमोद भट्टराई पुर्पक्षका लागि थुनामा छन् ।

यो ठगी प्रकरणमा पछिल्लो पटक ३२ साउनमा काठमाडौं दक्षिणकालीबाट ४८ वर्षीय अनुज नकर्मी पक्राउ परेका थिए । उनी सूर्यदर्शनका पूर्वसचिव समेत हुन् । उनी पनि पुर्पक्षका लागि कारागार चलान भइसकेका छन् ।

यो प्रकरणमा सहकारीका पूर्वअध्यक्ष जीबी राई, उनका दाजु भूपेन्द्र, हालका अध्यक्ष तथा व्यवस्थापक थानबहादुर बुढा, सञ्चालक धीरजकुमार दास, हेमन्त अधिकारी, मनोज नकर्मी, सुरज श्रेष्ठ, कविता तामाङ, आइस्मा गुरुङ, ललिता तामाङ, सागर केसी, दिनेश रोका, लेखा अधिकृत सृष्टि मानन्धर र कर्जा अधिकृत बुद्धि गुरुङ गरी १३ जना फरार छन् ।

फरारमध्ये जीबी, उनका दाजु भूपेन्द्र र थानबहादुर विरुद्ध ‘रेड नोटिस’ समेत जारी भएको छ ।

सहकारी संकट
लेखकको बारेमा
नारायण अधिकारी

अधिकारी अनलाइनखबरका लागि सुरक्षा, अपराध विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?