+
+
कुशे औंसी विशेष :

बा थिए, बा थिएनन्

काख आमाकै, सिरानी आमै भएपछि बा भन्ने जिनिसको कमी पनि भएन कि ? बा भए यस्तो हुन्थ्यो भनेर पनि सोचिएन, किनकि हुँदै नभएको कुराको के चाहना राख्नु ?

डा. अनिल बराल डा. अनिल बराल
२०८१ भदौ १७ गते ९:५३

वर्षौं अघि, भाइलाई सोधेको थिएँ, ‘ए बाबु ! एउटा किताब सुझाउ त पढ्न पर्‍यो।’

भाइले भने, ‘दाइ समसामयिक नेपाली साहित्यमा यो जतिको किताब मलाई अरू लागेको छैन।’ उनले एउटा किताब सुझाए। किताब थियो– ‘कर्नाली ब्लुज’।

किताब किनें, लगभग नरोकिकनै पढिसिध्याएँ पनि। किताब नराम्रो लागेन। एकाध मेडिकल अवस्थामा बाहेक खासै नकारात्मक कमेन्ट गर्नुपर्ने केही थिएन। किताबको मिहिन शब्द खेल, आञ्चलिकता असाध्यै मन पनि परेको हो। तर भाइले भनेको लेभलमा मलाई किताबले किन छोएन ?

किताबको चर्चा राष्ट्रिय, अन्तर्राष्ट्रिय रूपमा भयो। अङ्ग्रेजीमा उल्था हुने कुरो पनि आयो, भयो पनि। अङ्ग्रेजी भर्सनका पाठकहरूले पनि निकै बयान नै गरे किताबको। तर म ? के म अरू भन्दा साहित्य नबुझ्ने, साहित्यमा नरमाउने भएको त हैन ?

स-साना परिघटना, घटनाले छोइहाल्ने मेरो मनमस्तिष्क यस्तो राम्रो किताबले जुन रूपमा छुनुपर्ने किन छोएन ? यो सोच लामै समयसम्म मनमा रहिनै रह्यो। कहिले सुषुप्त, कहिले उग्र भएर यी र यस्तै विचारको दन्तबझान मनमा चलिनै रहन्थ्यो, र चलिरहेको पनि छ।

छोरो एक वर्षपछि छोटो छुट्टीको लागि घर आउँदैछ। सानै उमेरमा घर छोडेर विदेशिएको छोरो, घर आउने प्रतीक्षा सबैले गरेका छन्। दैनिक क्यालेन्डर हेरिरहन्छु, अब यति दिन बाँकी भनेर आफूलाई ढाडस पनि दिइराखेको छु।

बाहिर धेरै उत्सुकता देखाएको छैन, उसको यात्रामा कुनै व्यवधान नआओस् भनेर। कहिलेकाहीं अति चाहले खति हुन सक्छ भन्ने मनमा गहिरो छाप पनि बसेको छ।

तर हिजो क्यालेन्डरमा टोलाउँदा भने, बाबु आउने दिन भन्दा केही दिन अगाडि अर्को विशेष दिन रहेछ, कुशे औंसी। मेरो लागि यो दिन कुशे औंसीमा नै सीमित थियो बाल्यकाल र अधिकांश जिन्दगी भरी।

छोरो जन्मिएर हुर्किंदै गर्दा बल्ल हो थाहा पाएको, ओ हो, बाको मुख हेर्ने दिन पनि हुने रहेछ भनेर। सबैले कुशे औंसीलाई बा दिवस भनेर मनाउँदा रहेछन्। फेरि पनि आँखा त्यो दिनबाट हटाएर बाबु आउने दिनको तारिख हेर्नतिर लागें।

तीज पनि रहेछ बीचमा त ! तीजमा दाजुभाइ दिदी-बहिनी लिन जाने चलन त हाम्रोतिर व्यापकै हो, तर हाम्रो पालोमा हाम्री फुपू लिन त हाम्री आमा जाने गर्नुहुन्थ्यो। जेठा बा र माहिला बाको पालोमा दाइ, भतिजाहरू गए जस्तो लाग्थ्यो, हाम्री चाहिं आमा नै हो जाने।

ओहो… दिमागमा कुरा त पहिला के खेल्थे र, यस पटक त सुनामी नै बनेर उर्लेर आए नि ! मलाई बा दिवसको अर्थ थाहा नहुनु, तीजमा हाम्री आमा फुपूलाई लिन जानु र कर्नाली ब्लुजले मलाई भित्रै नछुनुमा एउटै कुरो साझा थियो। मेरा त बा नै थिएनन्।

बानै नभै तँ जन्मिस् नै कसरी भन्नुहोला। एकपटक यस्तै सञ्जालमा एउटा पोस्ट गरेको थिएँ, मेरो त बा भने पनि आमा भने पनि यिनै थिइन्, यिनलाई पनि दैवले छिट्टै लग्यो भनेर आमाको फोटो राखेको थिएँ।

एक जना बहिनीले दाइ जस्तो भने पनि जन्म दिने बा त बा नै हो नि, किन यस्तो भन्नुहुन्छ भनेर जवाफ लेखेकी थिइन्। मैले कुनै प्रतिक्रिया दिए जस्तो लागेन। बा भनेको के हो कस्तो हुन्छ, बाको काख र साथ कस्तो हुन्छ नभोगेको मान्छेले के जवाफ दिनु त ?

सानैदेखि पढिने कथा, कविता, निबन्ध धेरैजसो आमामै समर्पित हुन्थे। संगत जति आमाको मात्रै थियो। घाँस काट्ने, दाउरा काट्ने, गुन्द्री बुन्ने, स्वीटर बुन्ने, भान्छा, भाँडा, गोठ, भकारा सबै कि आमा कि मैले नै गर्ने हो। तीजमा आमा मामा कहाँ जाँदा आफू पनि सँगै जाने हो, तिहारमा आमा मामाकहाँ जाँदा, आफूले पनि मामाकै छोरीसँग टीका लगाउने हो।

आमातिरका धेरै इष्टमित्र कहाँ पुगिन्थ्यो, बातिरका त उही घर वरिपरिका बाहेक अरूलाई त चिनिएको पनि थिएन। बा भनेर देखेका, छरछिमेकका बाहरू पनि अलि कडा मिजासका, साथीभाइहरू पनि बा भनेपछि डराउने नै हुन्थे। बाहरू डोको बुन्थे, नाम्लो दाम्लो बाट्थे, बाउसे, हली गर्थे, धान ठटाउँथे, दाईं राख्ने पराल बाँध्ने, टौवा मिलाउने गर्थे।

एक दुई बाहरू मास्टर थिए, कोही जागिरे थिए, उनीहरूसँग आफ्नो संगत नै भएन। जति भयो आमा, ठूलीआमा, भाउजूहरू, सानिमाहरूसँग भयो। आफूले जानेको काम, सोच्ने तरिका पनि धेरै आमाहरूकै जस्तो भयो।

काख आमाकै, सिरानी आमै भएपछि बा भन्ने जिनिसको कमी पनि भएन कि ? बा भए यस्तो हुन्थ्यो भनेर पनि सोचिएन, किनकि हुँदै नभएको कुराको के चाहना राख्नु ?

बासँग दशैंमा टीका लगाउनु कस्तो हुन्थ्यो होला ! सँगै बसेर बा चौकामा, म तल पलेंटी कसेर, बाले जनै सारेर, मन्तर पढेर, पानी छम्केर भात खाएको हेर्न कस्तो हुन्थ्यो होला ?

बा फेरि हुँदै नभएका त होइनन्। सन्तान बेलैमा नजन्मेर, अर्को बिहे गरेका बा, मेरी आमालाई आफ्नो भागको अधिकार दिएरै छुटेका हुन्। मधेश झरेका। तत्कालीन परिवेश अनुसार दुई जना सौताहरू नजिक भए भने झगडा बढ्ने देखेर, निकै विकट मधेशमा, अलि धेरै जग्गा किन्न सकिने र वर्षैभरि भात खान पुग्ने सोचेर पलायन भएका हुन् क्यारे!

तर मधेश झर्नु अगाडि नै हामी दुई भाइ जन्मिसकेका थियौं, र कान्छी आमापट्टि पनि एक भाइ जन्मिएको थियो। काखमा दुधे बालक च्यापेर, रापती र रिउ तरेर, निकुन्जको दु:ख, सर्प र लामखुट्टेको जगजगी सहन चितवनको माडी थारू बस्ती नजिक पुगेका बाका पनि दिन सहज थिए होलान् त लागेन कहिल्यै।

पछि एक बहिनी पनि उता जन्मेकी रहिछन्। बालाई मैले खासै नदेख्ने भएपछि, उनीप्रतिका धारणा खासै बनाइएन पनि।

जति कुराहरू सुनिन्थे आमाकै कुरा न हुन्। सौता हालेर छोडेर गएको लोग्नेप्रति कुन महिलाको सकारात्मक विश्लेषण आउला र ? झन् त्यो परिवेश, समाज, समय। क अक्षर नचिनेकी मेरी आमा, दुई छोराहरू अर्काको मेलापात गरेर हुर्काउनुपर्ने बेलामा लोग्नेका के नै गतिला कुरा हुनु र ? वर्षको एकपटक बा पहाड आउँथे, हिउँदमा।

एक वर्ष आएर, हाम्रो खरको छानो भएको छाप्रोमा टिन हालेर गएका चाहिं हुन्- एउटा सानो गरो बेचेर। तर त्यो टिनको छानो हरेक वर्ष जेठ-असारको हुरीले उडाउँथ्यो, अनि बालाई झन् सराप्न मन लाग्थ्यो, यस्तो किन बनाइदिए भनेर।

म सानो हुँदा दाइ मामाकहाँ, अनि दाइ आमाले ल्याएपछि म ठूली आमा कहाँ हुर्केको हुँ। एक दिन ठूली आमाले तेरा बा आका छन् अरे, कान्छोलाई पठाइदेउ भनेर खबर आएको छ, ठूलीआमाले भनेको याद छ।

म त्यो दिन बालाई भेट्न जानुपर्ला भनेर साँझ परून्जेलसम्म चराउन लगेका भैंसी लिएर नै नआएको पनि याद छ। बा भन्ने कुराको नै महत्व थाहा नभएको म, जो आए पनि किन जानु पर्‍यो र भन्ने सोचेर त्यो दिन गइनँ पनि।

बा यसै पनि एक रात हो घरमा बस्ने, पछि आफ्ना दाइ-भाइ साथी, र कान्छो ससुरालीमा गएर अनि माडी फर्किने गर्थे। तर यसपटक चाहिं छोरो आउँछ कि भनेर दोस्रो दिन पनि घरमै बस्ने भएछन्।

आमा नै लिन आएको जस्तो लाग्छ, म गएँ, भोलिपल्ट। बाले काखमा लिए, दाह्री गालामा दल्दिए। ओहो बाका गाला त यस्ता हुँदारहेछन्। मैले सात/आठ वर्षमा हो याद हुने गरी थाहा पाएको।

त्यो राति आमा र बाको अलिकति ठाकठुक परेको मेसो पनि पाएको थिएँ, त्यसपछि दुई साल त बा पहाड पनि आएनन् क्यारे! अनि कसरी आओस् मलाई कर्नाली ब्लुज पढ्दा भावना, कसरी मलाई याद होस् बाको मुख हेर्ने दिन ?

बा आज फेरि बाको मुख हेर्ने दिन आएको छ। दुनियाँले बेस्ट फादर इन द वर्ल्ड भनेर आफ्ना बाका फोटोहरूले सञ्जाल रंगाउने छन्। मसँग तिम्रो एउटा पनि फोटो छैन। म बेस्ट फादर पनि मान्दिनँ तिमीलाई, तर पनि मेरो कुनै पनि गुनासो छैन तिमीसँग। परिस्थितिले जे भोगायो, त्यो तिमीले भोग्यौ, र मैले पनि

हामी केटाकेटी हुँदाको परिवेशमा बा साथमै हुनेहरूको जीवनशैली पनि मेरोभन्दा खासै फरक थिएन। पैसा खासै कसैसँग हुँदैनथ्यो, पैसै भए पनि खर्च गर्ने ठाउँ नै थिएनन्, स्कुल तिनै सरकारी, स्कुल सकेर आएपछि सबै कि घाँस काट्ने, कि मकै गोड्ने, कि भैंसी फुकाउने, काम त्यही हो।

कपडा एक सरो दशैंमा, स्कुल ड्रेस हालेपछि सबैलाई पुग्ने हो। मासु त्यस्तै एकाध छाक खाने हो। खेल्ने मोजाको भकुन्डो, चिलाउनेका गेडाको गुच्चै हो। साइकल चलाउने बाटो पनि थिएनन्, रेडियो आक्कलझुक्कल हो, बिजुली थिएन।

बा हुनेसँग भएका कुरा मसँग भएनन् भन्ने नै कहिल्यै भएन। बरू बा हुनेहरू सधैं गोदाइ खाने डरमा हुन्थे। घरमा बा-आमाको पनि झगडा हुँदो हो। त्यसबाट पनि वाक्क थिए कि ?

मैले म र उनीहरूमा भिन्नता भेटाउँदैनथें र त बाको जरूरत परेन भन्नुपर्ला। दुःख-सुख आमा, ठूलीआमा, दाइहरू, माइला बा वरिपरि हुन्जेल, आफ्ना बा नहुनुको पीडा भन्ने कहिल्यै बोध भएन।

धेरैपछि बामा समर्पित एउटा कविता पढेको थिएँ। आमा धर्ती हुन्, बा आकाश, आमाको उध्रेको चोलीका बारेमा लेखियो, बाको टुप्पी देखिने टोपीको बारेमा लेखिएन, आमाको आँसुको बारेमा लेखियो, बाको पसिनाका बारेमा लेखिएन…। यस्तै यस्तै।

यो कविता पढेपछि चाहिं ओ हो यस्तो पनि दृष्टिकोण रहेछ है। मेरा पनि बा भएका भए मैले के लेख्थें होला या के सोच्थें होला? मेरो बाल्यकाल कस्तो हुन्थ्यो होला!

बासँग दशैंमा टीका लगाउनु कस्तो हुन्थ्यो होला ! सँगै बसेर बा चौकामा, म तल पलेंटी कसेर, बाले जनै सारेर, मन्तर पढेर, पानी छम्केर भात खाएको हेर्न कस्तो हुन्थ्यो होला ?

बाले ताछेका कान्लामा मैले आली लगाउँदा कस्तो देखिन्थ्यो होला ? बल्ल-बल्ल यस्ता कुराहरू सोच्न थालेको हो मैले। निकैपछि, अझ भनौं यस्तो सोच्न थाल्दाखेरि म आफैं बा भइसकेको थिएँ।

छोरो हुर्कंदै गर्दा एउटा लघुताभास भने छाइरह्यो। बा कस्तो हुनुपर्ने हो, बाले एउटा सन्तानसँग कस्तो व्यवहार गर्नुपर्ने हो ? म पनि बासँगै हुर्केको भए केही फरक हुन्थ्यो कि ? छोराले अझै बासँग नजिक हुने बहाना बन्थ्यो कि ?

यस्ता प्रश्नहरू हरेक दिन मनमा उर्लिनै रहन्थे। तर सबैको भाग्य बराबर हुँदैन, जिन्दगीले जे दिन्छ, त्यसलाई सहर्ष स्वीकार्नु नै जिन्दगी हो। आफूले जानेको, सकेको गर्ने हो, भोलि छोराले गुनासो गर्‍यो भने पनि, मैले जानेको गरें बाबु भनेर जवाफ दिने हो।

यी र यस्ता कुरा बुझिसकेपछि चाहिं जिन्दगी सहज बन्यो, नपाएका कुरामा गुनासो रहेन र पाएका कुरामा कृतज्ञ नै रहिरहेको छु।

समय हो, किन रोकिन्थ्यो र बग्यो, बगिरह्यो। आफ्नै लयमा, गतिमा। आमालाई छिटै लग्यो दैवले। बा आएका थिए, मलाई खासै फरक परेन।

पछि उताका भाइबहिनीको बिहे भयो। अलि अलि नजिकिने बहानाहरू बन्दैथिए। म पनि डाक्टर बनिसकेको थिएँ, कम्तीमा सामाजिक कार्यमा बाको जिम्मेवारी निभाउने व्यक्ति थिएँ। नागरिकता उनकै नाममा बनाइयो, उनैको अंश बोकेर हिंडिएको छ, उनैले भाग लगाइदिएको जग्गा जमिन समालेर आफ्नो भनिएको छ।

दाइको, मेरो बिहेमा पनि बाको भूमिकामा राख्न पाइयो। छोरी जन्मिंदा, पनि छोरा जन्मिंदा पनि खबर गरियो। माडीबाट पोखरा आउन पनि अलि सहज बन्दै गएको थियो। उताको भाइ पनि पोखरामै पढ्ने गरी आयो। बहिनीको बिहे पनि पोखरामै भयो। चिनजान बढ्दै गयो। एकदम आत्मीय नभए पनि शत्रुता या विगतलाई सम्झेर इख साध्ने सम्बन्ध थिएन।

म लोकसेवाको नियुक्ति लिएर, कटारी पुगेको थिएँ। एक दिन दाइको फोन आयो, चितवनमा बा बिरामी भएर भरतपुर अस्पतालमा राखेका छन् रे, तिमी पनि आउ, म पनि जान्छु।

म गएँ भरतपुर। बालाई इन्सेफलाइटिस भएको रहेछ। अर्ध चेत, उच्च ज्वरो। पोखरा मनिपालमा मलाई पढाउने गुरु न्युरोलोजिस्ट हुनुहुन्थ्यो, बालाई त्यहीं लगियो, भेन्टिलेटरमा बा धेरै दिन राखियो। ज्वरो ठिक भयो, भेन्टिलेटर निकालियो, तर बा ठिक भएनन्। बाको मेमोरी गयो। मान्छे चिन्ने र कुराहरू नसम्झन नसक्ने भए बा।

केही समयको पोखरा बसाइपछि बा चितवन नै गए, कान्छी आमाका दुःखका दिन थपिए। बालाई सम्हाल्न उनलाई धेरै गाह्रो पर्‍यो। विभिन्न विकल्पहरूमा छलफल गरियो, निष्कर्ष निस्किएन। धेरै वर्ष बा यसरी नै बाँचिरहे।

अन्ततः महाभूकम्प आउनुभन्दा तीन दिन अगाडि बाले धर्ति छोडे। काजक्रियाको लागि हामी चितवन नै गयौं, उनले दिएको जन्मको ऋण तिरियो कि झैं लाग्यो। तर जीवित हुँदै के गर्नुपर्ने थियो कि, केही छुट्यो कि? गर्नुपर्ने भन्दा धेरै नै गरियो कि ? यस्ता प्रश्नहरू मनमा सधैं आइरहन्छन्। सबको अनुभव फरक हुन्छ, सबैले आफ्नो तरिकाले बुझ्न सक्नुहुन्छ। म प्रश्न धेरै हुने, ठोस उत्तर नहुने स्पेशिमेन हुँ। मैले आफ्नै तरिकाले बुझ्छु। जे बुझ्छु, त्यही लेख्छु।

पुनः प्रश्न त त्यही हो। के मसँग बाल्यकालमा बा भएको भए आजको म हुन्थें त ? फर्केर जिन्दगी केलाउँदा, यदि म बासँग हुर्केको भए, आजको म त पक्का हुने थिइनँ। मैले जिन्दगीमा गरेका उपलब्धि, मैले बुझेको संसार, मेरो पारिवारिक बनावट, मेरो सामाजिक हैसियत आज जे छ, त्यो त पक्का हुने थिएन। सायद बा नभएकै भएर मलाई यतिसम्म बन्न बाटो खोलिएको हो कि ? नियतिले जे लेख्यो, दे भोगायो र जे चाह्यो, त्यही भएको त होला नि !

बा आज फेरि बाको मुख हेर्ने दिन आएको छ। दुनियाँले बेस्ट फादर इन द वर्ल्ड भनेर आफ्ना बाका फोटोहरूले सञ्जाल रंगाउने छन्। मसँग तिम्रो एउटा पनि फोटो छैन। म बेस्ट फादर पनि मान्दिनँ तिमीलाई, तर पनि मेरो कुनै पनि गुनासो छैन तिमीसँग। परिस्थितिले जे भोगायो, त्यो तिमीले भोग्यौ, र मैले पनि।

जहाँ जस्तो अवस्थामा छौ, शान्तिसँग होलाउ। अर्को जुनीमा तिम्रै छोरो भएर जन्मिन पाउँ पनि भन्दिनँ, तर तिम्रै छोरो भए पनि गुनासो रहने छैन। बरू आमासँग पुनः भेट भयो भने उनलाई पनि बुझाउने छु र भन्नेछु, आमा बासँगका गुनासोहरू बिर्सिदेऊ। हेर त बासँगै भएका भए तिम्रो छोरो यतिको हुन्थ्यो होला त ?

सम्पूर्ण बाहरूलाई सलाम !

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?