+
+

बुवा गुमाएको तीन वर्ष

राम्रो लगाउन र मिठो खान सोख राख्ने मेरो बुबा, कतै जेन्सको जिन्स पेन्ट देख्दा पनि बुवालाई सुहाउँथ्यो होला लाग्ने । तर, लागेर मात्र के गर्ने बुवा नै नभएपछि !

तेजना पण्डित तेजना पण्डित
२०८१ भदौ १७ गते ९:५३

आज कुशेऔंसी अर्थात् बुवाको मुख हेर्ने दिन । नजिक हुनेले बुवालाई भेटेर त नहुनेले फोन गरेर मनाइरहेका छन् । बिहानैदेखि सामाजिक सञ्जाल पनि बुवालाई शुभकामना दिंदै छोराछोरीले पोस्ट गरेको फोटोले भरिएको छ ।

कतिपय छोराछोरीले त यो दिनको लागि आफ्नो बुवालाई गिफ्ट दिन सरप्राइजको पनि योजना बनाएका हुन्छन् । नबनाउन पनि किन सुन्दै प्यारो अनि आफ्नो जिन्दगीको महत्वपूर्ण व्यक्तिको मुख हेर्ने दिन । सम्झँदै पनि कति रमाइलो लाग्ने, मलाई पनि पहिला-पहिला यो दिनको खुबै प्रतीक्षा रहन्थ्यो ।

आफ्नो बसाइँ नेपालगञ्ज–काठमाडौं रहेको र बुवा आफ्नो रोजगारी तथा अन्य कारणले प्युठान नछाड्ने भएकाले यो दिनमा भेट त हुन पाउँथेन तर, भिडियो कल या फोन भने बिहानै हुन्थ्यो । कतै मैले फोन गर्न ढिला गरें भने उहाँको नै फोन आउँथ्यो, ‘के गर्दैछौ छोरी ? आज त बुवाको मुख हेर्ने दिन यतिबेलासम्म फोन गरेनौ, सम्झेको ।’

अनि आफैंलाई कस्तो लाग्ने । ‘म अहिले फोन गर्छु भनेर लागेको थिएँ हजुरको फोन आइहाल्यो, ल बुवाको मुख हेर्ने दिनको शुभकामना’, म मिलाउन प्रयास गर्थें ।

पाएको समयमा बुवालाई फोन गर्ने, उहाँलाई मनपर्ने कुराहरू किनिदिने, सकेसम्म घुमाउने गर्नुहोस् । किनभने दुई मुठी सास कहाँ कतिबेला जाँदो रहेछ, थाहा नहुने रै’छ । त्यसपछि त सम्झेर रुने बाहेक के गर्न सकिने रहेछ र !

बुवाले हाँस्दै भन्नुहुन्थ्यो, ‘ठिकै छ नि छोरी तिमीले फोन गर्नु र मैले गर्नु एउटै त हो, कुरा भयो त्यै खुसी हो नि हैन ?’

म सहमति जनाउँदै आफ्नो ख्याल गर्न भन्थें । उहाँले ‘मत गरिहाल्छु तिमी केयर गर ल, धेरै स्ट्रेस नलिनु’ भनेर सम्झाउनुहुन्थ्यो । अनि केही बेरको भलाकुसारीपछि बाउ-छोरी छुट्टिन्थ्यौं ।

तर, विगत तीन वर्षदेखि यो दिन पटक्कै राम्रो लाग्न छाडेको छ । एकातिर तीजमा रमाइरहेका चेलीबेटीका दर खाएका रमाएर नाँचेका फोटा अनि अर्कातिर बुवालाई भेटेर टीका लगाई भलाकुसारी गरेका तस्वीर तथा भिडियो हेर्दा पनि मन विछट्ट विरक्त भएर आउँछ ।

अहँ पटक्कै राम्रो लाग्दैन यो दिन, राम्रो लागोस् पनि किन, मेरो जीवनको महत्वपूर्ण व्यक्ति मेरो घरको पिलर बुवा जो हुनुहुन्न ।

उहाँको बोली सुन्न नपाएको पनि तीन वर्ष भइसक्यो । मिठो मुस्कान सहित मेरो प्रगतिको कामना गर्ने मेरो बुवालाई कोरोनाले जो सधैंभरि नउठ्ने गरी सुतायो । आज पनि ती कहालीलाग्दा दिन सम्झिंदा मन भक्कानिएर आउँछ, अनि आँखाबाट आँसु अनायासै झर्छ ।

तेजनाका बुवा ।

मनमा अनेक तर्कना आउँछन् । यो कोरोना आउँथेन भने, बुवा घर बनाउने सिलसिलामा नेपालगञ्ज जानुहुने थिएन भने ? या बुवालाई हेलिकप्टरमा हालेर भए पनि काठमाडौं लिएर उपचार गर्न सकिन्थ्यो भने !

आज सबै रमाउँदा हामी पनि त रमाउन पाउँथ्यौं होला । प्रयास नगरेको होइन, गरेको हो तर हाम्रो प्रयास र बुवाको हिम्मतले पनि काम गरेन । जसको कारण २०७८ जेठ ५ गते सधैंको लागि बुवा हामीलाई छाडेर जानुभयो ।

जीवनभर शिक्षकको जागिर र त्यसबाट आएको पेन्सनबाट अब त तीर्थव्रत, सामाजिक कार्य तथा घुमघामको जीवन बिताउने सोचका साथ अघि बढेको त्यो हँसिलो मुहार हामीले कहिल्यै देख्न नपाउने गरी पञ्चतत्वमा विलीन भयो । बुवालाई गुमाएको पनि वर्षौं बितिसक्यो, बुवा भनेर बोलाउन नपाएको दिन महिना गर्दै वर्षौं भयो तर यो माया भन्ने कुरा मार्न सकिएन । हिजोभन्दा आज अनि आजभन्दा भोलि झनै उहाँको माया बढिरहेको छ ।

हरपल हरक्षण उहाँको कमी महसुस भएको छ । राम्रो लगाउँदा होस् या मिठो खाँदा, चाडपर्व आउँदा होस् या कहीं जाँदा बुवाकै याद आउने, बुवाकै माया लाग्ने । राम्रो लगाउन र मिठो खान सोख राख्ने मेरो बुबा, कतै जेन्सको जिन्स पेन्ट देख्दा पनि बुवालाई सुहाउँथ्यो होला लाग्ने । तर, लागेर मात्र के गर्ने बुवा नै नभएपछि !

त्यसैले भन्छु-मैले त बुवालाई ६० वर्षकै उमेरमा गुमाएँ, तर तपाईंहरू जसको बुवा हुनुहुन्छ उहाँहरूले भएको बेलामा कदर गर्नुहोस् । अहिले हामीले चाहेर पनि बुवालाई सम्झेर रुने बाहेक उहाँको लागि केही गर्न सक्दैनौं । तर, तपाईंहरू भाग्यमानी हुनुहुन्छ आफ्नो यो भाग्यलाई सदुपयोग गर्नुहोस् ।

पाएको समयमा बुवालाई फोन गर्ने, उहाँलाई मनपर्ने कुराहरू किनिदिने, सकेसम्म घुमाउने गर्नुहोस् । किनभने दुई मुठी सास कहाँ कतिबेला जाँदो रहेछ, थाहा नहुने रै’छ । त्यसपछि त सम्झेर रुने बाहेक के गर्न सकिने रहेछ र !

भावपूर्ण श्रद्धाञ्जली बुवा । जहाँ हुनुहुन्छ खुशी रहनुहोला । तपाईंको धेरै धेरै सम्झना अनि माया !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?