+
+

ट्रोल होइन, सम्मान देऊ

हेर्ने कथाले देखाएको कथाहरू गरिबी देखाएर पैसा उठाउन नै बनाइएको हो भनेर आलोचना गर्ने हो भने सबैभन्दा बढी गरिबी देखाएर दातृ संस्था र विदेशीसँग पैसा माग्न खप्पिस त सरकारको नेतृत्व गर्नेहरू नै होलान्, तिनीहरूको विरुद्ध किन प्रश्न नउठाउने ?

अमृता लम्साल अमृता लम्साल
२०८१ भदौ १७ गते १८:१३

‘हराएका वर्षहरू’ पछि तातेको सामाजिक सञ्जाल, विविध प्रतिक्रिया, समर्थन र आलोचनात्मक लेखहरू पढेपछि आफू केही नलेख्ने र नबोल्ने; बरु, ती सबैबाट आफूले सकेको सिक्ने सोच राखेर बसें। तर, सकिनँ। किन सकिनँ भने, प्रश्न गर्नुपर्छ भनेर लेख्ने हीरादेवी वाइबालाई अनावश्यक ट्रोल र गालीगलौज गरियो/गरिरहिएको छ; जुन पटक्कै ठिक होइन।

अर्कोतर्फ ‘हेर्ने कथा’ टिमकी विद्या चापागाईं पनि ट्रोलबाट अछुतो रहनुभएन। सायद, त्यो टिमले, ‘हराएका वर्षहरू’ले यसरी आगो बाल्छ भनेर सोचेको पनि थिएन होला। यो सन्दर्भले मलाई एकैपटक पचासको दशकमा आफूले भोगेको घटनामा पुर्‍याइदियो।

घटना २०५४ साल वैशाखको तेस्रो हप्ताको हो; सोही महिनाको २५ गतेतिर मैतीदेवीस्थित राजेन्द्रबहादुर मुनिकारको घरमा भाडामा बस्ने कथित ‘माता’ गंगा के.सी. उर्फ गीता के.सी.को घरमा, बोक्सी लागेको भनिएकी वर्ष करिब २६ की सरस्वती अधिकारीलाई उनको आमा र पतिले लिएर आए।

त्यहाँ बोक्सी झार्ने निहुँमा सरस्वतीलाई दुइटा खुट्टाको बुढी औंला जोडेर कालो धागोले बाँधेर, दुई हातको नाडीलाई गलैंचाको तानको धागोले बाँधेर चारपाटेमा (बोरा भित्र परालको भुस्सा भरेर डस्नाको आकार दिइएको सुत्ने ओछ्यान, जुन पहिले सुत्केरी महिलाहरूलाई सुत्नको लागि पनि प्रयोग गरिन्थ्यो) लडाइयो।

त्यसपछि, उनलाई तातो पानी उमालेर शरीरको विभिन्न भागमा खन्याउने, डाडु तताएर जिब्रो लगायतको विभिन्न भागमा डाम्ने, सुइरो तताएर घोच्ने, छालाको पेटीले हान्ने गरियो। बुधवारबाट सुरु भएको यो यातना बिहीवार रातभरि पनि जारी रह्यो।

शुक्रवार बिहान हामीले उक्त घटना थाहा पाएपछि प्रहरी लिएर हस्तक्षेप गर्न पुग्यौं। सरस्वतीलाई अस्पताल पुर्‍यायौं; बचाउन सकेनौं। वैशाख २९ गते शनिवार बिहानै उनको मृत्यु भयो।

उक्त घटनामा सक्रिय भएर उद्धार कार्यमा संलग्न भएको, तत्पश्चात् सो घटनाबारे लेख लेखेको कारणले महिला पत्रकारहरूको तर्फबाट सुन्न पर्‍यो— ‘पत्रकारको काम इस्यु अगाडि ल्याउने मात्रै हो; वकालत गर्ने होइन।’

त्यो ‘वकालत’ शब्दलाई अहिलेको ‘आलोचनात्मक चेत’ फ्रेजले विस्थापित गर्न सक्छ होला !

अनि फेरि त्यसरी कुरा उठाउनेहरूले नै पछि उनको बारेमा डकुमेन्ट्री बनाएर देखाउन भ्याए।

भावुकता र आँसुको खोलो मात्रै बगाउने कथाहरू ‘हेर्ने कथा’ टिमले प्रस्तुत गर्नुले मभित्रको सन्देहलाई अझै टेवा दिएको छ कि, कतै यो टिम औसत युट्युबरहरूको उन्नत भर्सन मात्रै त होइन ? पढ्दा ‘यो तर्क पनि त ठिक हो नि !’ नभनी रहन सकिन्न

त्यसपछिका दिनमा, महिला साथीहरूकै आँखामा पनि आफू पत्रकार हुँ भनेर स्थापित गर्न ठूलै संघर्ष गर्नुपर्‍यो; कारण, ‘वकालत’ गर्ने वा त्यसरी घटनाको पक्षमा बोल्ने मानिस ‘पत्रकार’ होइन भन्ने उनीहरूको जिकिर थियो भने पुरुष पत्रकारहरू त अहिले त अझै आफूहरूलाई ‘सुपर’ ठान्छन् भने आजभन्दा २७ वर्ष अगाडि उनीहरूको शान र घमण्डको त कुरै नगरौं। धन्न त्यतिबेला सामाजिक सञ्जाल थिएन र आजको दिनमा जस्तो ट्रोल हुन परेन।

त्यो घटनाको केही समय अगाडि, नेपालबाट दुईवटा गैंडा संयुक्त अधिराज्य पठाइएको थियो। त्यसको विरोधमा काठमाडौंका वातारणविद्हरू तात्तिई; हरेकजसो प्रमुख सञ्चारमाध्यम टेलिभिजन, रेडियो, छापा सबैतिर सो विरोधको समाचारले महत्वपूर्ण स्थान पायो।

त्यतिबेला ‘कन्भेन्सन अन द इन्टरनेसनल ट्रेड इन इन्डेन्जर्ड स्पेसिज अफ वाइल्ड फौना एन्ड फ्लोरा’को व्यापक चर्चा भयो।

तर, सरस्वती अधिकारीको मृत्युमा ‘कन्भेन्सन अन द इलिमिनेसन अफ अल फर्म्स अफ डिस्क्रिमिनेसन एगेन्स्ट वुमेन’ जसलाई देशले नै अनुमोदन गरिसकेको थियो, त्यसबारे उल्लेख/उच्चारण गर्नु पत्रकारिताको मर्म विपरीत ठहर्‍याइयो। त्यसैले, यो क्रम पचासको दशकमा जसरी चलेको थियो, अहिले पनि त्यसै गरी चलोस् भन्ने एकथरी समूह चाहन्छन्।

पत्रकारितामा बहुलवादी सोचको अवधारणा, युनेस्कोद्वारा सन् १९९१ अप्रिल २९ देखि मे ३ सम्म नामिबियाको ‘विण्डहक’ भन्ने ठाउँमा भएको ‘विण्डहक डिक्लेरेसन फर द डेभलपमेन्ट अफ अ फ्री, इन्डिपेन्डेन्ट एन्ड प्लुरलिस्टिक प्रेस’बाट आएको हो जस्तो लाग्छ। किनकि, त्यसपछिका दिनहरूमा पत्रकारिताले विविध क्षेत्रका विषयहरू उठाउन थालेको देखिन्छ।

बहुलवादी र स्वतन्त्र प्रेसको तर्कबाट हेर्दा ‘हेर्ने कथा’ टिमले उत्पादन गरेका सामग्रीहरू यथेष्ट छैनन् भन्न अलि नमिल्ला; तर, हीरादेवी वाइबाको ब्लग, “के ‘हेर्ने कथा’ टिम ‘पोभर्टी पोर्न’ कै बाटोमा छ ?” मा लेखिएका यी हरफहरू, “यति लामो यात्रामा अघि बढिसकेको र एक मिलियन सब्स्क्राइबरको परिवार निर्माण गरिसकेको ‘हेर्ने कथा’ टिमले आजसम्म पनि प्रश्न गर्न सक्ने, जवाफदेहिता माग्न सक्ने दृष्टिकोण आफ्ना केही दर्शकमा मात्रै पनि निर्माण गर्न नसक्नु संयोग मात्रै हो र ?”

भावुकता र आँसुको खोलो मात्रै बगाउने कथाहरू ‘हेर्ने कथा’ टिमले प्रस्तुत गर्नुले मभित्रको सन्देहलाई अझै टेवा दिएको छ कि, कतै यो टिम औसत युट्युबरहरूको उन्नत भर्सन मात्रै त होइन ? पढ्दा ‘यो तर्क पनि त ठिक हो नि !’ नभनी रहन सकिन्न।

सन् १९८० देखि प्रचलनमा आएको फ्रेज ‘पोवर्टी पोर्न’ ले गरिबी देखाएर च्यारिटी क्याम्पेन चलाउने स्थितिलाई फोकस गर्ने रहेछ; तर, हेर्ने कथा टिमले गरेका थुप्रै कथामा देशको विभिन्न स्थानको दृश्यचित्रहरू जस्ताको तस्तै देखाइदिएर राज्यलाई झकझकाउने काम पनि त गरिरहेको छ नि, होइन र ? त्यसरी सजीव रूपमा कथा भन्ने प्रयास गर्नु गलत हो र ?

हालसालै, टिमकी एक सदस्य विद्या चापागाईंको सामाजिक सञ्जालमा भाइरल भइरहेको भिडियो फुटेजमा भन्नुभएको छ, “मनबाट गर्न मन लाग्छ व्यक्तिगत हिसाबले, ह्युम्यान भएको हिसाबले ह्युम्यान फिलिंग्स सबैलाई हुन्छ। अप्ठ्यारो लागेको बेला गर्ने त्यो हाम्रो काम हो, त्यो हामी गर्छौं। त्योचाहिं के हुन्छ भने, एउटा हातले दिएको अर्को हातले पनि थाहा नपाओस् भन्छ हैन ? त्यो भन्न जरूरी पनि छैन। त्यो आफ्नो मनबाट गरिएको कामहरू हुन्छ; तर, त्योभन्दा बाहेक हामी आफ्नो धर्म नाघेर काम गर्दैनौं; पैसा उठाउँदैनौं। हामी मान्छेसँग यसो गर्नूस् पनि भन्दैनौं; किनभने, त्यो हाम्रा पात्रहरूमाथि अन्याय हो; अपराध हो जस्तो लाग्छ। उनीहरू त कर्ममा विश्वास गर्ने मान्छे हो नि, केही न केही उनीहरू गरिराखेका छन्। उनीहरू आफ्नो जिन्दगीसँग खुशी छन्; हामीले दुईचार पैसा दिएर ती मान्छेहरूलाई अपमान गर्ने त ? मलाई त त्यस्तो अपमान गर्नु ठिक जस्तो लाग्दैन। अनि सहयोग गर्ने मन हुने मान्छेहरूले सहयोग गर्न चाहन्छन् भनेदेखि उनीहरू एकअर्कासँग जोडाइदिन्छौं, हामी बीचमा कहीं पनि पर्दैनौं।”

चाहे हीरादेवी वाइबा जस्तो जागरुक र प्रश्न सोध्न अग्रसर हुने व्यक्ति हुनुहोस् वा विद्या चापागाईं जस्तो नरम स्वभावले समस्या उजागर गर्ने व्यक्ति, दुवै सम्मानयोग्य हुनुहुन्छ; ट्रोलको हकदार होइन

यसै सन्दर्भमा एउटा प्रसंग जोड्न चाहें, २०७९ वैशाखमा हेर्ने कथाले एउटा गोठालो दम्पतीको कथा प्रसारण गरेको थियो। त्यो हेरेपछि अमेरिका निवासी परिचित भाइले, ती दम्पतीलाई एक जोडा गाई किन्न र बाथरुम सहितको सानो वासस्थान बनाउन भनेर दुई लाख पचास हजार पठाएका तिए, त्यो रकम हेर्ने कथा टिमको सहयोगमा ती दम्पतीको बैंक खाता खोलेर जम्मा गरेका थियौं।

हेर्ने कथा टिमले, ‘हामीले गरेर उनीहरूको जीवनमा केही भए पनि सुविधा भयो’ भनेर कहिल्यै पनि क्लेम गरेन। त्यतिबेला त्यो गरियो, सिद्धियो। त्यस्तो सहयोग अरूले पनि गरेका होलान् !

अहिले टिमलाई अर्को आरोप पनि लागिरहेको छ, उनीहरूले आफ्ना पात्रहरूको जिम्मा लिएनन् भनेर। हुनत यस्तो आरोप, हामी सामाजिक मुद्दा उठाउनेलाई पनि बारम्बार लाग्छ, कहीं कतै केही नराम्रो घटना घट्यो भने त्यसको निराकरण हामीले गर्नुपर्ने जसरी।

सामाजिक सञ्जालका कुराहरू पढ्दा, हेर्ने कथा टिमलाई पनि ‘तिमीहरूले कथा देखाएर मात्रै सुख पाउँदैनौ। कथाहरूमा देखाएका समस्या पनि तिमीहरूले नै समाधान गर्नुपर्छ’ भने जसरी ! फेरि, कथै पिच्छे सहयोग गरेर हिंड्न सम्भव होला र ?

यो मुलुकमा प्रसारण गरिने सरकारी/निजी सबै प्रकारका टेलिभिजन र अन्य सञ्चारमाध्यमहरूले पनि हरेक दिन केही न केही, कतै न कतैको समस्याबारे दृश्य र श्रव्य सामग्री प्रस्तुत गरिरहेकै हुन्छन्; उसो भए त, उनीहरूले पनि सबै समस्याको समाधान निकाल्दै जानुपर्ने भो त !

हेर्ने कथाले देखाएको कथाहरू गरिबी देखाएर पैसा उठाउन नै बनाइएको हो भनेर आलोचना गर्ने हो भने सबैभन्दा बढी गरिबी देखाएर दातृ संस्था र विदेशीसँग पैसा माग्न खप्पिस त सरकारको नेतृत्व गर्नेहरू नै होलान्, तिनीहरूको विरुद्ध किन प्रश्न नउठाउने ?

हो, हेर्ने कथा टिमको कथा भन्ने शैली नरम छ, त्यसैले कडा प्रश्नहरू नगरिएको होला। टिमले उठाउने कथाहरूको विषय पनि त प्रायः त्यस्तै नै हुन्छ।

मलाई बायस नै भन्न सक्नुहुन्छ, म यो टिमको शुभचिन्तक/फ्यान जे पनि भन्न सक्नुहुन्छ। उनीहरूलाई आफू जतिसुकै लोकप्रिय भए पनि, हामीले यो गर्‍यौं र त्यो गर्‍यौं भन्ने घमण्ड छैन।

मैले, आफ्नो किताब ‘मिडिया, महिला र म’ लेख्ने बेलामा उक्त टिमले गरेको सकारात्मक कार्यको बारेमा कुराकानी गर्न विद्या चापागाईंसँग अनुनय–विनय गरें। तर, उहाँले एउटै कुरा दोहोर्‍याइराख्नुभयो, हामीले त्यस्तो उल्लेख्य केही गर्न सकेका छैनौं, त्यसैले पाँच वर्ष नपुगी केही नभन्ने। पाँच वर्ष पुग्न केही महिना मात्रै बाँकी थियो; उहाँले कुराकानी गर्न नै चाहनुभएन।

विद्या चापागाईंसँग जोडिएको अर्को रोचक प्रसंग पनि छ। ‘हजुरआमाको कथा’ लेख्ने क्रममा, म, उहाँको सासूको कथा रेकर्ड गर्न उहाँको घर पुगेकी रहिछु; उहाँ घरमा हुनुहुन्थेन र मलाई पनि उहाँको घर भन्ने थाहा थिएन।

मैले उहाँको सासूसँग कुरा गर्दैगर्दा उहिलेका बुहारी र आजका बुहारीहरूको कुरा आयो। उहाँको सासूले भन्नुभयो, ‘अहिलेका बुहारीहरू हाम्रा पालामा जस्ता कहाँ हुन्थे र ! हाम्रा पालामा बुहारीहरूले घरको काम गररे सास फेर्न पाउँथेनन्, अहिलेका बुहारी एक दिन घर आयो भने सात दिन घरमा हुँदैनन्!’

मैले ३५ जना आमा/हजुरआमाहरूसँग कुरा गरेकोमा अरूबाट पनि त्यस्तो सुनेकी थिएँ; त्यसैले सामान्य रूपमा लिएँ। धेरैपछि उहाँहरूको परिवारको एउटा कार्यक्रममा थाहा पाएँ, ती बुहारी त विद्या चापागाईं हुनुहुँदोरहेछ।

त्यो परिवारमा तीन जना छोराहरू समेत संचार कर्ममै हुनुहुन्छ; तापनि, त्यही घरमा पनि बुहारीको पत्रकारिता बुझ्न सजिलो हुँदैन। यो उल्लेख गर्नुको उद्देश्य, घर बाहिर निस्किएर काम गर्ने मामिलामा महिलाहरूलाई अझै पनि सजिलो छैन।

चाहे हीरादेवी वाइबा जस्तो जागरुक र प्रश्न सोध्न अग्रसर हुने व्यक्ति हुनुहोस् वा विद्या चापागाईं जस्तो नरम स्वभावले समस्या उजागर गर्ने व्यक्ति, दुवै सम्मानयोग्य हुनुहुन्छ; ट्रोलको हकदार होइन। समाज परिवर्तनको लागि दुवैको सक्रिय योगदान र निरन्तरता आवश्यक छ, तब मात्रै परिवर्तनको आशा राख्न सकिन्छ।

लेखकको बारेमा
अमृता लम्साल

लेखक सामाजिक अभियन्ता, लेखक एवं पत्रकार हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?