+

आमाशयको क्यान्सर र आमाशयको घाउमा के फरक छ ?

२०८१ भदौ  १७ गते ११:५१ २०८१ भदौ १७ गते ११:५१
आमाशयको क्यान्सर र आमाशयको घाउमा के फरक छ ?

पछिल्लो समय आमाशयको समस्या धेरैमा देखिंदैछ । खराब जीवनशैली, अस्वस्थकर खानपान, निष्क्रिय दिनचर्या र भागदौडले आमाशयको स्वास्थ्यलाई प्रत्यक्ष असर गर्छ ।

फलस्वरुप आमाशयमा घाउ (अल्सर) र आमाशयको क्यान्सर समेत गराउने जोखिम हुन्छ । यी दुई फरक अवस्था हुन् । तर केही मिल्दोजुल्दो लक्षणका कारण कुन रोग भनेर छुट्याउन मुस्किल हुन्छ ।

आमाशयको क्यान्सर के हो ?

कुनै कारणवश आमाशयमा कोषिकाहरु अनियन्त्रित रूपमा बढ्दै गयो भने क्यान्सरको रूप लिन सक्छ, जसलाई आमाशयको क्यान्सर भनिन्छ ।

क्यान्सरका कोषिकाहरुले शरीरको पोषण, दानापानी, ऊर्जा, रगतको चरम दुरुपयोग गरेर शरीरलाई सुकाउने र शरीरलाई हानि पुर्‍याउँछन् । आमाशयका क्यान्सर विभिन्न प्रकारका छन् । धेरैजसो एडेनोकार्सीनोमा किसिमका हुन्छन् ।

आमाशयको घाउ कस्तो अवस्थामा हुन्छ ?

आमाशयको घाउ भनेको आमाशयको भित्तापट्टि सुन्निएर, रातो भएर, सतह खुइलिएको र छाला झरेर नाङ्गो घाउ बनेकोलाई बुझिन्छ । यदि घाउ आमाशयभित्र स्वस्थ्य वातावरण छ भने निको हुने प्रवृत्तिको हुन्छ ।

आमाशयमा घाउ भए पनि कोषिकाहरू अनियन्त्रित र विकृत रूपमा बढ्दैनन् । जसकारण यो रोग आक्रामक हुँदैन । तर उपचार भएन भने आमाशयसँगै रहेको सानो आन्द्राको सुरुवाती भाग (ड्युडेनम) मा पनि घाउ हुनसक्छ । जसलाई ड्युडेनल अल्सर भनिन्छ ।

अल्सर र आमाशयको क्यान्सर भएमा सुरुवातमा कुनै लक्षण देखाउँदैन । समय बित्दै गएपछि केही मिल्दोजुल्दो लक्षण देखाउँछ ।

– वाकवाकी लाग्नु

– थोरै खाएपनि पेट फुलेको अनुभव हुनु

– मुटु पोलेको जस्तो हुनु

– खाना अपच हुनु

– पेटमा निरन्तर अप्ठ्यारो भइराख्नु

– भोक नलाग्नु

– कुनै पनि लक्षण नहुनु

क्यान्सर जटिल अवस्थामा पुगेपछि देखिने लक्षण

– अप्रत्यासित तौल घट्नु

– आँखा र छालामा जण्डिस देखा पर्नु

– खाना निल्न कठिन हुनु वा अड्किएको जस्तो हुनु

– पेटमा पानी जमेर पेट फुलेर आउनु

अल्सरका जटिल लक्षण

– थोरै खाए पनि ढुस्स हुनु

– खाली पेटमा दुखाइ बढ्नु र राति बढी दुख्नु

– मुखमा अमिलो पानी, डकार आउनु

– खाना खाइसकेपछि दुखाइ कम हुनु वा थप बढ्नु

गम्भीर अवस्थामा यी दुवै रोगमा निम्न लक्षण देखिन सक्छन् ।

– बान्तामा रातो रगत आउनु वा रगतको छिर्का वा ढिक्का आउनु

– कालो टाँसिने लेदो खालको दिसा हुने

– दिसामा रातो रङ मिसिएर आउने

– पेटमा अकस्मात साह्रो दुखाइ सुरु हुने र धेरै छट्पटिने

यी माथिका लक्षण जोखिमपूर्ण सूचक हुन् । यो अवस्थामा ज्यान नै जान सक्छ । यो अवस्था आउन नदिन बेलैमा पहिचान र उपचार आवश्यक छ ।

आमाशय क्यान्सर हुने कारण

– आमाशयभित्रको कोषिकाहरूमा संरचनात्मक परिवर्तन, कार्यशैलीमा खराब, वंशाणुगत इकाईहरूमा परिवर्तन, डीएनएका इकाईहरुमा फेरबदल हुनु

– लामो समयसम्म एच पाइलोरी कीटाणुको आमाशयमा संक्रमण हुनु

– चुरोट, सिगार र सुर्तीजन्य पदार्थको सेवन हुनु

– पोलेको, तारेको र कोइलामा सेकाएको मासुको अत्यधिक सेवन हुनु

– अत्यधिक नुनको मात्रा खानामा प्रयोग हुनु ।

आमाशयको घाउको कारण

– एच पाइलोरी कीटाणुको संक्रमण भई लामो समयसम्म उपचार नभएमा

– लामो समयसम्म कुनै औषधिहरुको अत्यधिक प्रयोग अथवा दुष्प्रयोग

– खाना समयमा नखानु, बासी खाना खानु, भोकै बस्नु

– अत्यधिक रक्सी पिउनु, चुरोट र सुर्ती सेवन

– मानसिक तनाव

आमाशयको क्यान्सरको पहिचान तथा उपचार

आमाशयको क्यान्सर पहिचान गर्न अल्ट्रासाउन्ड, इन्डोस्कोपी र औषधि लगाएर सिटी स्क्यान गर्नुपर्छ । इन्डोस्कोपी गर्दा शंकास्पद घाउबाट मासुको नमुना झिकेर हिस्टोप्यायोलजी परीक्षण गर्नुपर्छ ।

यदि क्यान्सर प्रमाणित भएमा सिटी स्क्यानको मद्दतले रोगको फैलावट पत्ता लगाउनुपर्छ । यो प्रक्रियालाई स्टेजिङ भनिन्छ । पेटको क्यान्सरको उपचार विभिन्न चरण अनुसार फरक-फरक छ ।

सो अनुसार इन्डोस्कोपिक म्युकोसल रिसेक्सन, आमाशयको असर परेको भागको शल्यक्रिया, आमाशयको पूर्ण शल्यक्रिया, विकिरणबाट उपचार, केमोथेरापी, टार्गेटेड थेरापी र इम्युनोथेरापी उपचार अपनाइन्छ ।

आमाशयको घाउको पहिचान तथा उपचार

आमाशयको घाउको उपचार नभएर बल्झिरहयो भने घाउ झन् ठूलो भएर आउँछ । रक्तस्राव तथा पेटबाट रगत बगेर, बान्ता भएर वा दिसामा रगत गएर शरीरमा रगतको अत्यन्त कमी हुन्छ । यो रोग पत्ता लगाउन रगतको जाँच, दिसाको जाँच, पेटको इन्डोस्कोपी र शंकास्पद घाउबाट बायोप्सी गर्नु आवश्यक र अनिवार्य हुन्छ ।

उपचारको क्रममा चिकित्सकले केही औषधि नियमित दैनिक तीनदेखि चार हप्ताका लागि दिन सक्छन् । यी औषधिहरुमा एन्टिबायोटिक, प्रोटोन पम्प इन्हीवीटर, एन्टा एसिड लगायत पर्न सक्छन् ।

रोगको उपचारमा बिरामी कहाँ चुक्छन् ?

– आफैंलाई ग्यास्ट्रिक छ भन्दै रोगको निदान नखोज्नु

– आफ्नो खानपान र दैनिकीमा सकारात्मक परिवर्तन नल्याउनु

– औषधि पसलबाट आफूखुसी औषधिको जथाभावी सेवन गरी राख्नु

– घरेलु औषधिको अन्य विकल्प प्रयोग गर्नु

– आफ्नो रोगको बेवास्ता गर्नु ।

रोगको निदान तथा उपचारमा चिकित्सक कहाँ चुक्छन् ?

– बिरामीलाई रोगको सम्भावना र त्यसको हुनसक्ने अवस्थाबारे नभन्ने

– बारम्बार मिल्दोजुल्दो औषधिको प्रयोग गर्ने

– इन्डोस्कोपी र महत्त्वपूर्ण जाँचहरूको पहल नगरिदिने

– इन्डोस्कोपी गरेपनि शंकास्पद ठाउँबाट बायोप्सी नझिकी दिने ।

अल्सर आमाशयको क्यान्सर डा. समिम अख्तर स्वास्थ्य
डा. समिम अख्तर
लेखक
डा. समिम अख्तर
कन्सल्टेन्ट मेडिकल अन्कोलोजिस्ट

डा. अख्तर हाल विराटनगरस्थित नोबेल मेडिकल कलेजमा चिकित्सक तथा अध्यापकको रुपमा कार्यरत छन् । क्यान्सर रोगमा एमडी गरेका उनको नेपाल मेडिकल काउन्सिल दर्ता नम्बर ८४५३ हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय