+
+
रुस-युक्रेन युद्ध :

एक्लै भइन् प्रीतमकी आमा, छोराकै पीरले बिते राजकुमार

हरि अधिकारी हरि अधिकारी
२०८१ भदौ १७ गते १२:११

१७ भदौ, विराटनगर । दशकअघि श्रीमान बितेपछि हिरामाया राईको बुढेशकालको सहारा भनेकै छोरा प्रीतम थिए । तिनै छोरा प्रीतमलाई उनले गत असोजमा गह्रौं मन बनाउँदै रसिया पठाइन् ।

मोरङको बेलबारी नगरपालिका–११ लक्ष्मीमार्गमा घर भएका प्रीतमलाई राम्रो आम्दानी हुने भन्दै रसिया पठाएका थिए । रसिया पुगेपछि ५ महिनासम्म आमासँग सम्पर्कमै थिए ।

तर, फागुनयता उनी सम्पर्कविहीन भए । त्यसको झन्डै एक महिनापछि चैतमा खबर आयो, ‘प्रीतम त युद्धमा मारियो ।’

त्यसयता हिरामायाका आँखा ओभाएका छैनन् ।

प्रीतम मारिएको खबर पाएर पनि आफन्तले सुरुमा उनलाई कुनै जानकारी दिएका थिएनन् । तर, पछि उनले आफैं थाहा पाइन् । सम्पर्कमा नरहेका प्रीतम मारिएको खबर आएपछि लासबिनै आफन्तले अन्तिम संस्कार गरे ।

बुढेशकालको एक मात्र साहरा छोरो विदेशको युद्धमा मारिएपछि आमा भावविह्वल छिन् । छोराको प्रसंग निस्किए उनको आँखा रसाउँछ, बक्के बस्छ ।

‘कसरी–कसरी रसिया पुगेको भतिजो चैतमा मरेको खबर आयो, त्यसपछि काजकिरिया गर्याै’, काका धर्मराज राई भन्छन्, ‘भाउजूको एक्लो छोरो थियो । कसरी प्लानिङ गरेर नेपाली पठाइन्छन् नेपालीलाई रसिया ? ठूलै मान्छेको हात छ भन्ने सुनिन्छ ।’

छोराकै पीरले बुवा बिते

मोरङको बेलबारी–११ का २४ वर्षीय रोनाल मिश्र २०८० असोज २७ गतेमा रुसी सेनामा काम गर्न भन्दै घरबाट हिँडे । पढाइ सकेर बसेका उनलाई दलालले राम्रो पैसा हुन्छ भन्ने आश देखाएका थिए ।

उनी रसिया पुगेको दुई महिनासम्म सम्पर्कमा थिए । त्यसपछि सम्पर्क छैन । विदेशी भूमिमा चलिरहेको युद्धमा छोरा बेपत्ता भएपछि बुवाले आफूलाई सम्हाल्न सकेनन् । गत साउन ९ गते बुबा राजकुमारले आत्महत्याको बाटो रोजे ।

‘दाजुको खबर छैन, बुबा बित्नुभयो, हाम्रो मान्छेका बारेमा कसले सोधिखोजी गरिदिन्छ’, कक्षा ९ मा पढिरहेका रोनालका भाइ रिजन भन्छन्, ‘मैले दाजु खोज्न कहाँ जानु ?’

***

उदयपुर नगरपालिका कटारी २ का ओमबहादुर आलेमगर रुसी सेनामा काम गर्ने भन्दै गएको कार्तिकमा एक वर्ष पुग्छ । नेपाली सेनाबाट अवकाशप्राप्त मगर घरमा स–साना ४ जना छोराछोरी छोडेर रसिया हानिएका थिए ।

त्यहाँ पुगेको केही केही महिना परिवारको सम्पर्कमा थिए । तीन पटक त उनले परिवारमा खर्च पनि पठाए । घरको ऋण तिर्न पैसा पठाउँछु भन्दै श्रीमतीसँग कुरा गरेका ओमबहादुर चार महिनाअघि एक्कासि बेपत्ता भए, त्यसपछि मृत्युको खबर परिवारमा आयो ।

आफन्तको सल्लाहमा श्रीमती बिनुले श्रीमानको काजकिरिया गरिन् । चार छोरा छोरीलाई हुर्काउने जिम्मा उनी एक्लैमाथि छ ।

***

धनकुटाको साघुरी गाउँपालिका १० का विनोद राई गत दशैंको टिकाको दिन घरबाट रसियाका लागि हिँडे । नेपाल आर्मीमा १४ वर्ष काम गरेका उनी कतारबाट फर्किएपछि साथीहरुले भनेपछि उनी रसिया गए ।

करिब तीन महिना उनी परिवारको सम्पर्कमा थिए । त्यसपछि उनी बेपत्ता छन् । उनका साथीले बेपत्ता भएको खबर पठाएका छन् । ‘पुस २७ गतेदेखि उहाँसँग सम्पर्क भएको छैन,’ श्रीमती कमलश्वरी राईले भनिन्, ‘मेरो श्रीमानलाई ल्याइदिनुपर्‍यो ।’

रुसमा कति नेपाली ?

रुस युक्रेनयुद्ध सुरु भएपछि नेपालबाट कति नेपाली नागरिक रुसी सेनामा गए भन्ने तथ्यांक राज्यसँग छैन, अवैध बाटोबाट गएकालाई राज्यले फर्काउन पनि पहल गरेको छैन ।

रुसी सेनामा काम गरेर नेपाल फर्किएका सुनसरी इटहरीका हेमराज बुढाथोकीको दाबीअनुसार १० हजार भन्दा बढी नेपाली रुसी सेनामा छन् । रुसमा उनले देखेको संख्याका आधारमा उनले यो अनुमान गरेका हुन् ।

उनी ४८ जना नेपालीसहित काठमाडौंबाट भिजिट भिसामा रसिया गएका थिए । युद्धमा गोली लागेर उनी घाइते भए । कार्यालय सहयोगीको रुपमा काम गर्न भन्दै रसियन सेनामा लगेका थिए । उनी सशस्त्र प्रहरीको पूर्ववरिष्ठ हवल्दार हुन् ।

‘त्यहाँ कसैलाई भेट्न दिदैनन् । अघिल्लो वर्ष भदौ, असोज, कात्तिकमा दैनिक ५० भन्दा बढी नेपालबाटै गएका छन, खाडी मुलुकबाट पनि सयौं सिधै रसिया गएका छन्’, उनी भन्छन् ।

लडाइमा सहभागी नेपाली सेनामाथि पनि चरम विभेद रहेको उनको दाबी छ । ‘लडाइ लड्नेहरुले तलब पाएका छैनन्, इन्स्युरेन्स पनि पाउँदैनन, कागजात सबै जफत गरिदिन्छ’, उनले भने ।

नेपालबाट रसिया सेनामा काम गर्नका लागि गएका मध्ये २७८ जना बेपत्ता भएको ‘रुसी सेनामा आबद्ध नेपालीको जीवन रक्षार्थ अभियान’की अभियान्ता कृतु भण्डारी बताउँछिन् ।

‘यो संख्या राज्यको होइन, हामीसँग जोडिएका परिवारहरुका अनुसार २७८ जना बेपत्ता हुनुहुन्छ, ६१ परिवारले त काजकिरिया नै गरिसक्नु भयो,’ उनले भनिन् ‘रसिया पठाउनका लागि १७७ जना दलालहरु छन् ।’

उनका अनुसार पछिल्लो समय रसियामा मरेको परिवारका सदस्यहरुमा पनि दलालले पैसा माग्न थालेका छन् । ‘बेपत्तालाई फर्काइदिन्छु, मृतकको क्षतिपूर्ति दिलाइदिन्छु भन्दै दलालहरुले पैसा उठाएका छन्,’ उनले भनिन्, ‘सरकारले यो विषयलाई गम्भीर रुपमा लिएको छैन ।’ अहिलेसम्म ३ हजार रुसी सेनामा रहेकाहरुको परिवार सम्पर्कमा रहेको उनले बताइन् ।

कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री लिलाबल्लभ अधिकारीले रुसी सेनामा बेपत्ता भएकाहरुको खोजीका लागि पहल गर्ने बताए । बेपत्ता परिवारका सदस्यहरुलाई जिल्ला प्रशासन कार्यालय मार्फत पहल गर्ने बातावरण मिलाउने उनले बताए ।

बेपत्ता पारिएका परिवारका सदस्यहरुले खोजीका लागि पहल गर्नका काठमाडौं धाउनुपर्ने समस्या रहेको बताएपछि मन्त्री अधिकारीले जिल्ला प्रशासन कार्यालयबाट पहल गर्ने बताए ।

लेखकको बारेमा
हरि अधिकारी

अधिकारी अनलाइनखबरका विराटनगरस्थित संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?