+
+
ब्लग :

योगेश भट्टराईलाई जनयुद्धमा ‘बा’ गुमाएकी छोरीको पत्र 

योगेश कमरेड यतिबेला शान्ति प्रक्रिया टुङ्गो लगाउने विशिष्ट क्षणमा हामी छौं । यसमा संवेदनहीन हुने छुट कसैलाई छैन । लाभको पदको लालसामा जिन्दगीभरको इमान बन्धक नबनाउनुहोला ।

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ १७ गते १२:३८

प्रिय योगेश कमरेड अभिवादन !

हिजोआज तपाईंको मन अलि अस्थिर र चञ्चल भए पनि आरामै होला भन्ने ठानेकी छु र आरामकै कामना गर्दछु । म पनि बाबाको अभाव र सम्झनाले मन व्याकुल भइरहे पनि आरामै छु ।

हिजोआज माओवादी जनयुद्ध र त्यसका नेता–कार्यकर्ताबारे तपाईंका अभिव्यक्तिले संसद् र सामाजिक सञ्जाल तातेको छ । त्यसको तरङ्गबाट हामी शहीद तथा बेपत्ता योद्धा परिवारका सन्ततिहरू पनि अछुतो रहन सकेनौं ।

हुनत संक्रमणकालीन न्यायसँग सम्बन्धित टीआरसी विधेयक संसद्बाट पास भइसकेको र राष्ट्रपतिबाट प्रमाणीकरण पनि भइसकेको स्थितिमा पुराना घाउहरू कोट्याउने धेरै मन थिएन । तर तपाईंजस्तो आशा गरिएको नेताबाट आएका निराशाजनक अभिव्यक्तिका कारण यो खुलापत्र लेख्न बाध्य भएँ ।

योगेश कमरेड ! तपाईंलाई हामी परिवर्तन र अग्रगमनका पक्षमा लड्ने एउटा आशलाग्दो युवा नेताका रूपमा चिन्ने र बुझ्ने गर्दथ्यौं । हिजो तपाईंको पार्टी एमालेले महाकाली सन्धिका बेला गरेको राष्ट्रघातका विरुद्ध तपाईंहरूले गरेको विद्रोहले सिङ्गो देश जुर्मुराएको हामीले सुनेका र पढेका हौं । तपाईं माले अखिलको अध्यक्ष भएको बेला तपाईंकै नेतृत्वमा ‘कालापानी मार्च’ अभियान चलाएर सिङ्गो देशलाई ब्युँझाएको गाथा हामी सगौरव स्मरण गर्ने गर्दछौं ।

तपाईं तत्कालीन मालेको जल्दोबल्दो नेता भएका बेला तपाईंकै अग्रसरतामा प्रकाशित ‘राष्ट्रघाती विसर्जनवादी एमाले नेतृत्व गुटका ५१ अपराध’ शीर्षकको पुस्तिका समेत प्रकाशित भएको थियो ।

त्यतिमात्र नभएर पछिल्लो चरणमा माओवादीद्वारा नागरिक सर्वोच्चताका लागि सञ्चालित ६ दिने आम हड्तालको समर्थनमा वामदेव गौतमको नेतृत्वमा तपाईं सहितका नेताहरूले निकालेको विज्ञप्ति, ‘गाउँगाउँबाट आएका माओवादीका योद्धाहरू त्यत्तिकै फर्कंदैनन्’ भनेर तपाईंले दिएको अन्तर्वार्ता र आमहड्तालको बेला तपाईं स्वयं मैदानमा आएर ऐक्यबद्धता जनाएको प्रसङ्ग पनि मलाई थाहा छ । यी र यस्तै कारणहरूले गर्दा पार्टी र विचार नमिले पनि आइपर्दा पार्टीभन्दा माथि उठ्न सक्ने एउटा आशालाग्दो नेताको रूपमा तपाईंलाई हेर्ने र बुझ्ने गर्दथें ।

प्रिय कमरेड ! हिजो आफ्नो स्वतन्त्र विवेकले बोल्दा तपाईं एउटा निडर, आत्मविश्वासी र स्वाभिमानी नेताको रूपमा चिनिनुहुन्थ्यो । हिजोआज तपाईंलाई के आपत आइलाग्यो कुन्नि, तपाईंले त आफ्नो सारा विवेक, परिचय र स्वाभिमान ‘केपी बा’ सामु बन्धक राख्न थाल्नुभयो । त्यसपछि तपाईं हिजोको योगेश भट्टराई नरहेको निष्कर्षमा म पुगेकी छु ।

हिजोका आफ्नै अभिव्यक्ति विरुद्ध न्वारानदेखिको बल निकालेर विषवमन गर्दा पनि तपाईंले ‘बा’ लाई प्रसन्न राख्न नसकेको बुझेकी छु । दुईपटकको मन्त्रिपरिषद् विस्तारमा पनि नाम नपरेपछि तपाईं असंयमित मात्र नभई सामान्य विवेक समेत गुमाउनु भयो कि भन्ने मलाई लागेको छ ।

काठमाडौंमा दुई पटक चुनाव हारेपछि ताप्लेजुङ पुगेर माओवादीको निर्णायक सहयोगमा तपाईं संसद छिर्नुभएको थियो । त्यसबेला तपाईंका प्रत्येक चुनावी भाषणहरू मैले लाइभ सुन्ने गरेकी थिएँ । तपाईंले अरुभन्दा एक कदम अघि बढेर माओवादी जनयुद्ध, गणतन्त्रमा माओवादीको योगदान र प्रचण्ड नेतृत्ववारे दिएका अभिव्यक्तिहरू मानसपटलमा ताजै छन् ।

तपाईंले डिलिट नगरेको भए सामाजिक सञ्जालमा पनि रेकर्डेड नै होलान् । अझ जनयुद्ध दिवसका अवसरमा तपाईंले गरेको महिमागानले त यतिबेला सामाजिक सञ्जालमा स्वयम् तपाईंलाई नै गिज्याइरहेका छन् ।

योगेश कमरेड ! अस्ति संसदमा बोल्दा तपाईं धेरै नै असंयमित हुनुभयो । तपाईंका अभिव्यक्तिले हाम्रो खाटा बस्दै गएका घाउहरूलाई बल्झाउने काम गरेको छ । तपाईंको पार्टीले समेत हस्ताक्षर गरेको संविधानमा जनयुद्धलाई ‘सशस्त्र संघर्ष’का रूपमा व्याख्या गरिएको छ । तर तपाईंले त त्यस संघर्षलाई निर्दोष मानिसको हत्या गर्ने, अपहरण गर्ने र लुटपाट गर्ने ‘हिंसा’ भनेर मेरो बाबा जस्ता हजारौं महान योद्धाहरूलाई अपमान गर्ने कोसिस गर्नुभयो ।

हिजो जनयुद्धको वार्षिकोत्सव मनाउँदै गर्दा ‘जनयुद्धले थोरै क्षतिमा धेरै उपलब्धि ल्याउने महान काम गरेको’ भनेर चर्को स्वरमा तपाईंले गरेका भाषणका भिडियो क्लिप एकपटक आफैं सुन्नुहोस् त कमरेड ! तिनले तपाईं आफैंलाई गिज्याए जस्तो लाग्दैन ?

एउटा पुस्ताले इतिहासमा एकदिन तपाईंलाई अवश्य प्रश्न गर्ने छन्, ‘झोलीका लागि बोली फेर्नु कत्तिको जायज हो ?’

प्रिय कमरेड ! तपाईंका भाषामा के पृथ्वीनारायण शाहको एकीकरण अभियान पनि हिंसा र लुटपाट नै थियो ? के २००७ सालमा कांग्रेसले गरेको सशस्त्र क्रान्ति पनि लुटपाटै थियो ?

अनि तपाईंको हालको पार्टी अध्यक्ष केपी शर्मा ओलीसहितका नेताहरूले ‘सामन्तीलाई नगिँडे, सैनिकसँग नभिडे, आउँदैन है जनवाद, झोली भिरेर !’ भनेर गाउँदै चलाएको झापा विद्रोह पनि हिंसा र लुटपाटै थियो ?

झापा विद्रोहको नाममा बुटन चौधरी, धर्म ढकाल, कर्णबहादुर गौतम लगायतको हत्या भएको बिर्सिनुभयो ? त्यही बेलाकै ज्यान मुद्दामा तपाईंको पार्टी अध्यक्ष केपी शर्मा ओली १४ वर्ष जेल बसेको त पक्कै बिर्सिनु भएको छैन होला ?

जनतालाई दमन गरेर हतियारका बलमा टिकेका सत्तालाई परास्त गर्न नेपालमा मात्र हैन विश्वभर नै सशस्त्र क्रान्ति र संघर्षहरू भएका छन् । बा रिझाउने नाममा कति सजिलै यी सब भुल्न सक्नुभएको कमरेड ! खै तपाईंले बिर्सनुभएको हो कि गल्नुभएको हो ?

तपाईंसहित भएको तत्कालीन नेकपाले जनयुद्धलाई गणतन्त्र ल्याउने महत्वपूर्ण कदम मानेको छ । तपाईंहरूले फरक मत नराखेको संविधानमा जनयुद्धलाई ‘सशस्त्र सङ्घर्ष’ मानिएको छ । स्वयं तपाईंकै दर्जनौं भाषणहरूमा जनयुद्धको महिमागान गाइएको छ । तर तपाईंलाई सांसद, मन्त्री र नेता बनाउने यो गणतन्त्रात्मक व्यवस्था ल्याउन आफ्नो अमूल्य जीवन उत्सर्ग गर्ने मेरा बाबा जस्ता हजारौं योद्धाहरूलाई अपमान र तिरस्कार गर्न मिल्ला र कमरेड !

योगेश कमरेड म यो भनिरहेकी छैन कि तपाईंको बोली कुनै सापेक्षतावादको सिद्धान्त वा गुरुत्वाकर्षणको सिद्धान्त हो जुन फेरिनु हुँदैन । तर एउटा पुस्ताले इतिहासमा एकदिन तपाईंलाई अवश्य प्रश्न गर्ने छन्, ‘झोलीका लागि बोली फेर्नु कत्तिको जायज हो ?’

इतिहासको कठघरामा त्यही पुस्ताले तपाईंलाई एकदिन उभ्याएर सोध्नेछ कि योगेश भट्टराईले जनयुद्धमा हतियार तस्करी गरेको भनेर उनकै सहयोद्धा प्रेम आलेको आरोप के हो ? म कामना गर्छु योगेश कमरेड, जसले गणतन्त्रका लागि काठमाडौंका सडक आफ्नो पसिनाले भिजाएको छ, ऊ निर्दोषिताको प्रमाणपत्र लिएर सतिशाल झैँ उभिनेछ ।

प्रिय कमरेड ! यदि गणतन्त्र सही छ भने गणतन्त्र ल्याउने योद्धाहरू किमार्थ गलत हुन सक्दैनन् । अवश्य पनि गणतन्त्र माओवादी एक्लैले मात्र ल्याएको पक्कै होइन । यसमा सबैको योगदान छ । तर यत्ति चाहिँ सत्य हो कुनैबेला संवैधानिक राजतन्त्रात्मक संविधानमा कमा र फुलस्टप पनि परिवर्तन गर्न आवश्यक छैन भनेर प्रमुख दलहरूले भनिरहेका बेला नेपाली धर्तीमा जबरजस्त गणतन्त्रको अगुवाइ गर्ने शक्ति माओवादी नै हो ।

अन्त्यमा, योगेश कमरेड यतिबेला शान्ति प्रक्रिया टुङ्गो लगाउने विशिष्ट क्षणमा हामी छौं । यसमा संवेदनहीन हुने छुट कसैलाई छैन । एकपटक आफैंतिर फर्कनुहोला, आफ्नो स्वाभिमानमा उभिने चेष्टा गर्नुहोला । लाभको पदको लालसामा जिन्दगीभरको इमान बन्धक नबनाउनु होला । ‘बा’लाई खुसी पार्ने नाममा हामी जस्ता प्रियजन गुमाएका सन्तानहरूको घाउमा नुनचुक छर्कने धृष्टता नगर्नुहोला ।

उही जनयुद्धमा बा गुमाएकी छोरी

– आरती शर्मा, बाग्लुङ ।

(लेखक २०५८ सालमा राज्यद्वारा बेपत्ता बनाइएका सूर्यप्रसाद शर्माकी छोरी हुन् ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?