+

डाक्टर नियुक्तिको ‘मिस युनिभर्स नेपाल’ यात्रा

२०८१ भदौ  १७ गते १५:५४ २०८१ भदौ १७ गते १५:५४
डाक्टर नियुक्तिको ‘मिस युनिभर्स नेपाल’ यात्रा

काठमाडौं । नियुक्ति अर्जेललाई सानैदेखि एउटा अचम्मको कुराले मोहित गर्थ्यो, उन्मुक्त हाँसो । यसरी हाँस्दा अनुहारमा उमंगको आभा पोतियोस्, त्यसमा मिलेका दाँतका पंक्तिले साथ देओस् ।

तर भइदियो के भने उनी किशोरवयमा थिइन्, परिवारका सदस्यमा दाँतमा समस्या आयो । अन्ततः उनलाई के लाग्यो भने, ‘ठूलो भएपछि चिकित्सक बन्नेछु । त्यो पनि डेन्टिस्ट ।’

जापानमा जन्मिएकी नियुक्तिले आफ्नो बाल्यकाल भने काठमाडौंमा बिताइन् । उनले श्रिदिवा इन्टरनेसनल स्कुलबाट एसएलसी पास गरेकी हुन् । प्लस टु निस्ट कलेजबाट विज्ञान विषयमा गरिन् भने पिपुल्स डेन्टल कलेजबाट बीडीएस पढिन् र एमडीएस पनि सकाइन् ।

उनी हाल काठमाडौं गम्स एण्ड गिगल्स क्लिनिककी सञ्चालिका समेत छिन् । दन्त चिकित्सकको रुपमा बिरामीहरूको सेवा गर्न पाउँदा उनलाई साह्रै खुसी लाग्छ । ‘मीठो मुस्कानका लागि काम गर्दा असाध्यै आनन्द र आत्मसन्तुष्टि मिल्छ,’ उनी भन्छिन् ।

दाँत बिग्रिएर आत्मविश्वास कम भएकाहरूलाई उपचार गरेर उनीहरूको आत्मविश्वास फिर्ता ल्याउन सक्दा उनलाई आफ्नो उपचार सफल भएको महसुस हुन्छ ।

दाँतको स्वास्थ्य राम्रो हुँदा मुस्कान राम्रो हुने भयो, दाँत बलियो भएर खाना राम्ररी चपाउन सक्दा पाचन प्रणाली राम्रो हुने भयो । यसरी दाँतको स्वास्थ्य राम्रो हुँदा मान्छेको जीवनशैली नै राम्रो हुने नियुक्ति बताउँछिन् ।

नियुक्तिलाई उपचारमा आएका बिरामीहरूसँग पर्याप्त समय बिताएर उनीहरूको समस्या समाधान गर्न मन पर्छ । आफूसँग सेवा लिएका बिरामी सन्तुष्ट हुन् भन्ने कुरामा उनी सधैं सचेत हुन्छिन् ।

नियुक्तिको परिचय डाक्टरको रुपमा मात्र सीमित छैन, उनी सामाजिक कार्यमा पनि उत्तिकै सक्रिय छिन् । आमा सुरक्षा नेपाल संस्थासँग मिलेर गर्भवती महिलाहरूमा देखा पर्ने गिजाको समस्याको बारेमा जनचेतना जगाउने र उनीहरूको निःशुल्क परीक्षण गर्ने काम पनि गरिरहेकी छन् ।

यतिबेला उनी ‘मिस युनिभर्स नेपाल’ सौन्दर्य प्रतियोगिताको प्रतिस्पर्धी छिन् । उनलाई पहिलेदेखि नै सौन्दर्य प्रतियोगितामा सहभागी हुने इच्छा थियो । तर पहिले पढाइमा नै केन्द्रित भएकाले उनले कुनै पनि सौन्दर्य प्रतियोगितामा सहभागी हुन पाइनन् । पढाइ सकिंदा उमेरहदको कारण सहभागी हुन पाइनन् ।

आफ्नो त्यही इच्छा पूरा गर्न उनी अहिले मिस युनिभर्समा सहभागी भएकी हुन् । ‘मिस युनिभर्स नेपाल यस्तो प्लाटफर्म हो, जसमा जुनसुकै उमेरका, विवाह भए नभएका जुनसुकै महिलाहरू सहभागी हुन पाउँछन् । त्यसकारण पनि म यसमा सहभागी भएकी हुँ,’ उनी भन्छिन् ।

डाक्टर, समाजसेवीका साथै उनी नौ महिने जुम्ल्याहा सन्तानकी आमा पनि हुन् । क्लिनिक, दुई साना सन्तान र मिस युनिभर्सको ट्रेनिङ कसरी समय व्यवस्थापन गरिरहनुभएको छ भन्ने प्रश्नमा उनी हाँस्दै भन्छिन् ‘चाहेको खण्डमा समय व्यवस्थापन गर्न सकिंदो रहेछ ।’

अहिले दिनको पाँचदेखि सात घण्टा उनको ट्रेनिङ हुन्छ । त्यसपछिको समय क्लिनिकमा बित्छ र बेलुका घर पुगेपछि केही समय बच्चाहरूका लागि छुटाउँछिन् । बच्चाहरू सुतेपछि १०-११ बजेपछि प्रतियोगिताका लागि अभ्यास अर्को दिनका लागि तयारी गर्छिन् ।

एउटा विवाहित महिला, दुई सन्तानकी आमा र आफ्नो पेसामा व्यस्त भएकी महिला पनि इच्छा लागेको खण्डमा कुनै पनि प्रतियोगितामा सहभागी हुन सक्छिन् भन्ने उदाहरणको रुपमा आफूले यो प्रतियोगितामा भाग लिएको उनी बताउँछिन् ।

आफ्नो पेसा, बालबच्चा र प्रतियोगिता सबै कुरालाई सन्तुलनमा राखेर लैजान र समय दिन उनलाई श्रीमान् र परिवारको भरपुर साथ र सहयोग छ । ‘महिलालाई  अघि बढ्न परिवारको साथ र सहयोग पनि महत्वपूर्ण हुन्छ र मेरो दुवै परिवारबाट मैले त्यो पाएको छु,’ नियुक्ति भन्छिन्, ‘कुनै प्रतियोगितामै भाग लिनुपर्छ भन्ने होइन । तर आमा भइसकेपछि पनि महिलाले आफूले चाहेको कुरा गर्न सक्छिन् भन्ने उदाहरण पेस गर्न खोजेको हो ।’

यसरी आफ्नो इच्छा चाहनालाई पूरा गर्न पाउनुको श्रेय उनी आफ्नो परिवारलाई दिन्छिन् । परिवारमा माया र सहयोगयुक्त राम्रो वातावरण भएको कारणले नै सबै कुरालाई सन्तुलनमा राख्न सकेको उनी बताउँछिन् ।

विवाहित भएपछि अझ बच्चा जन्माएपछि महिलाहरूले आफ्नो सम्पूर्ण समय परिवार र बच्चाका लागि छुटुयाउँछन् । आफ्नो इच्छा चाहनाहरूको लागि समय नै छुटाउँदैनन् । तर सबै महिलाहरूले आफ्नो लागि पनि समय छुट्याउनुपर्छ र आफ्नो इच्छा चाहनालाई पनि पूरा गर्नुपर्ने उनी बताउँछन् ।

‘आफ्नो बारेमा निर्णय गर्न सक्ने क्षमता हरेक महिलामा हुनुपर्छ । त्यसका लागि महिला आर्थिक रुपमा स्वतन्त्र हुनुपर्छ । त्यसको लागि कडा मेहनत गर्नुपर्छ,’ उनी भन्छिन् ।

आर्थिक रुपमा सबल हुन अघि बढ्ने क्रममा विभिन्न उतारचढाव आउँछन् । कुनै कुरामा सफल हुन पनि नसकिएला तर असफलताबाट पनि धेरै कुरा सिकेर अघि बढ्नुपर्छ । नियुक्ति पनि यही कुरालाई मनन् गर्दै अघि बढिरहेकी छन् ।

मिस युनिभर्स नेपालको फिनाले आउँदो शनिबार (भदौ २२ गते)लाई तय छ । त्यसैले त्यसको तयारीमा जुटेकी छिन् नियुक्ति ।

सौन्दर्य प्रतियोगिता आफ्नो मानसिक तथा शारीरिक क्षमता जाँच गर्ने मौका जस्तो लागेको छ उनलाई । भन्छिन्, ‘दैनिक नयाँ नयाँ कुरा सिक्ने मौका पनि मिलिरहेको छ ।’

डा. नियुक्ति अर्जेल दन्तरोग मिस युनिभर्स नेपाल सौन्दर्य प्रतियोगिता
लेखक
सुमित्रा लुईटेल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

अचानक चक्कर आउनु कस्तो स्वास्थ्य समस्याको संकेत हो ?

अचानक चक्कर आउनु कस्तो स्वास्थ्य समस्याको संकेत हो ?

घुँडा दुखाइको उपचार के छ ?

घुँडा दुखाइको उपचार के छ ?

कस्तो व्यक्तिलाई हड्डी क्यान्सर हुने जोखिम हुन्छ ?

कस्तो व्यक्तिलाई हड्डी क्यान्सर हुने जोखिम हुन्छ ?

स्क्रब टाइफस : बालबालिकामा बढ्दो स्वास्थ्य चुनौती

स्क्रब टाइफस : बालबालिकामा बढ्दो स्वास्थ्य चुनौती

जापानीज इन्सेफलाइटिसको संक्रमण बढ्दै, जोखिम कति ?

जापानीज इन्सेफलाइटिसको संक्रमण बढ्दै, जोखिम कति ?

शरीरमा भिटामिन बी-१२ कति हुनुपर्छ ?  

शरीरमा भिटामिन बी-१२ कति हुनुपर्छ ?