+

दाजुले मिडफिल्डमा खेल भन्थे, जियारत लुकीलुकी गोलकिपर नै बस्थे

२०८१ भदौ  १७ गते १९:०७ २०८१ भदौ १७ गते १९:०७
दाजुले मिडफिल्डमा खेल भन्थे, जियारत लुकीलुकी गोलकिपर नै बस्थे

१७ भदौ, काठमाडौं । गत साता काठमाडौं भएको यु-२० साफ च्याम्पियनसिपमा नेपालले सेमिफाइनलमा भुटानलाई हराउँदा नेपाली गोलकिपर जियारत सेख नायक बनेका थिए । उनले पेनाल्टी सुटआउटमा भुटानको २ पेनाल्टी रोक्नुका साथै निर्णायक पेनाल्टी गोल समेत गरे ।

‘खेल पेनाल्टीमा जान्छ भन्नेबित्तिकै मलाई अब चाहिँ जितिन्छ भन्ने भइसकेको थियो । पहिलो पेनाल्टी गोल खानेबित्तिकै मलाइ यिनीहरुले कस्तो पेनाल्टी हान्छन् भनेर थाहा भइसकेको थियो, त्यसपछि मलाइ सजिलो भयो’, जियारत भन्छन् ।

फाइनलमा नेपाल बंगलादेशसँग ४-१ ले पराजित हुँदै उपाधिबाट भने बञ्चित भयो ।

गत वर्ष काठमाडौंमा साफ यु-१९ च्याम्पियनसिपमा नेपाल सेमिफाइनलमा भारतसँग पेनाल्टी सुटआउटमा पराजित हुँदा गोलकिपर उनै जियारत थिए ।

जियारतले दुई पेनाल्टी बचाए तर नेपालका तीन खेलाडी पेनाल्टीमा चुक्दा भारतसँग ३-२ ले पराजित हुँदै फाइनल पुग्न असफल भएको थियो । त्यतिबेला कप्तानको भूमिकामा रहेका जियारतलाई पराजित हुँदा खल्लो महसुस भइरहेको थियो । यसपटक पेनाल्टीमा भुटानलाई जितेपछि भने उनलाई सन्तोष भयो ।

‘त्यो बेला म कप्तान थिएँ । यो पटक पनि मैले सेमिफाइनलमा पेनाल्टी बचाउँदा आर्मब्यान्ड पाएको थिएँ । त्यो बेला सकिन यो बेला चाहिँ बचाउँछु भन्ने थियो’, उनले भने ।

त्यो खेलपछि जियारतलाई धेरैले पेनाल्टीका नायक भन्ने गरेका छ्न । ५ फिट ९ इन्च जियारत उचाइ गोलकिपरका लागि कम नै हो । तर उनी निकै आत्मविश्वासका साथ पोष्ट सम्हाल्छन् र पेनाल्टीको बचाउ गर्छन् ।

चाइनिज ताइपेइमा हुने एएफसी यु-२० एसिया कप क्वालिफार्यसका लागि नेपाली यु-२० टिम बन्द प्रशिक्षणमा बसिसकेको छ । ‘हामीले एएफसीका लागि अझै धेरै मेहनत गर्नु पर्छ । यहाँ सिकेको कुराहरु राम्रोसँग अवलम्बन गर्नुपर्छ’, जियारतले भने ।

फुटबल खेलाडी दाजुले भन्थे-गोलकिपर नबस

धनगढीका २० वर्षका जियारत सानैदेखि फुटबल निकै मन पराउँथे । उनका दाजु अमानत पनि फुटबल खेलाडी हुन् । सी डिभिजन क्लब रानीबन एफसीबाट फुटबल खेल्ने अमानत भाइ पनि फुटबल खेलाडी बनोस् भन्ने चाहन्थे । तर गोलकिपर बसेको उनलाई मन पर्दैनथ्यो ।

जियारत भने प्राय गोलकिपर बस्थे । ‘किपर नबस, मिडफिल्ड खेल भन्नुहुन्थ्यो तर म दाइले नदेख्ने गरी गोलकिपर नै बस्थें’, जियारत सम्झिन्छन् ।

अमानतले भाइ होचो भएकाले गोलकिपर नबस्न सल्लाह दिएका थिए । दाजुको आग्रह अनुसार केही पटक उनले मिडफिल्डबाट पनि खेले । तर उनलाई गोलकिपर बस्न नै मन पथ्र्यो, उनका साथीहरुले पनि गोलकिपर नै बस भन्थे ।

विद्यालय स्तरीय खेलकुद हुँदा नवदुर्गा इङ्लिस बोर्डिङ स्कुलमा दाइ अमानत आफू
गोलकिपर बस्थे र भाइलाई भने मिडफिल्डमा खेलाउँथे । तर जियारतले मिडफिल्डमा धेरै अवसर पाउँदैनथे ।

‘मैले १२ वर्षको उमेरमा गोलकिपर नै भएर जिल्ला लिग खेलें । त्यसपछि भने दाइले गोलकिपर नै खेल भनेर भन्नुभयो’, जियारतले भने । २०७३ सालमा धनगढीमा भएको जिल्लास्तरीय लिगमा जियारतले राम्रो प्रदर्शन गरे । त्यसपछि भने उनले गोलकिपिङको प्रशिक्षण गर्न थाले । जिल्ला बाहिर पनि राम्रो प्रदर्शन गरेपछि भने धनगढीका फिलिप तामाङले उनलाई काठमाडौं लिएर आए ।

सी डिभिजन लिगमा अवसर

पहिलो पटक काठमाडौं आउँदा जियारत १७ वर्षका थिए । यहाँ आएपछि उनले मनोहरा युनाइटेडबाट सी डिभिजन लिग खेले । उनले ६/७ वटा खेलमा मौका पाए, त्यसपछि अर्को क्लबले अर्को गोलकिपर खेलायो ।

जियारत फेरि धनगढी फर्किए । घर फर्के पनि उनले सुदूरपश्चिममा फुटबल खेलिरहेका थिए । त्यस क्रममा फुटबल खेलाडी आशिष श्रेष्ठसँग भयो । जियारतका दाजु अमानत भने काठमाडौंमा बी डिभिजन लिग खेल्दै थिए । अमानतको भाइ भन्ने चिनेपछि आशिषले जियारतलाई काठमाडौं लिएर आए । ‘सबैको सफलताको पछाडि कसैको हात हुन्छ भन्छन् मलाइ चाहिँ आशिष दाइले गर्दा नै म यहाँसम्म आइपुगेको हो जस्तो लाग्छ’, जियारतले भने ।

आशिषकै सहयोगमा जियारतले २०७८ सालमा तत्कालीन बी डिभिजन क्लब खुमलटारमा ट्रायल दिए । ‘अरु दुई जना किपर हुँदा हुँदै मलाई बोलाउनुभएको थियो । मलाई पैसाको बारेमा सोध्नुभयो । मैले एकदमै धेरै डिमान्ड गरेछु । मलाई फर्काउने भन्नुभयो, तर मलाई यो मौका जान दिनुथिएन’, जियारतले भने ।

त्यसपछि आशिषमार्फत आफू कम पैसामै खेल्ने जानकारी गराए र खुमलटारमा तेस्रो रोजाइका गोलकिपरका रुपमा आवद्ध भए । खुमलटारमा वीरेन्द्र सारु मगर र सन्देश गुरुङ पछि मात्र जियारतको पालो आउँथ्यो । तर पहिलो रोजाइका गोलकिपर वीरेन्द्र बिरामी भएपछि जियारतले खेल्ने मौका पाए ।

‘पहिलो खेलमा मैले चर्च ब्वाइज युनाइटेडसँग खेलेको थिएँ । त्यो खेलमा हामी २-० ले हार ब्यहोर्‍यौं’, बी डिभिजन डेब्यूबारे जियारतले भने । पहिलो खेलपछि भने जियारत बेन्चमै सीमित भए । तर पहिलो र दोस्रो किपरको प्रदर्शन राम्रो थिएन ।

सिजनको अन्तिम ५ खेलमा भने प्रशिक्षक विष्णु गुरुङले जियारतलाई मौका थिए । ‘अंक तालिकामा पछि परेका कारण हामी पूरै डाउन हुँदा पनि हामीले निकै राम्रो मोटिभेट गर्ने प्रशिक्षक पाएका थियौं । अन्तिम ५ खेल बाँकी हुँदा मलाई खेलाउनुभयो, संयोगले हामी ए डिभिजनमा उक्लियौं’, जियारतले भने । प्रतियोगिता सकिएपछि जियारतको तारिफ भयो । ‘तेस्रो किपरले पनि राम्रो गर्‍यो, यसले नै हामीलाई ए डिभिजनमा चढाइदियो भन्नु भयो’, उनी भन्छन् ।

विष्णु गुरुङको प्रशिक्षणमा १७ वर्षका जियारतले धेरै कुरा सिके । त्यसपछि उनले पछाडि फर्केर हेर्नुपरेको छैन । ‘मलाई उहाँले अझैसम्म पनि मोटिभेट गरिरहनु हुन्छ’, उनले भने ।

खुमलटारबाटै हेम्जा गोल्डकपको तयारी गरिरहँदा जियारतले यु-२० को छनोट खेल भइरहेको थाहा पाए । उनी फर्किएर काठमाडौं आए । साफ यु-२० च्याम्पियनसिपको छनोट खेल खेले । ‘मैले सबै राम्रो गरें, मलाई खेलको आधारमा छनोट भइने रहेछ भन्ने थाहा भयो’, उनले भने ।

सन् २०२२ मा उनले यु-२० च्याम्पियनसिप खेले । त्यसपछि जियारतले खुमलटारबाटै ए डिभिजन लिग खेले । लिग सकिएपछि उनी पुन नेपालमा नै हुने यु-१९ साफ च्याम्पियनसिपमा कप्तानको रुपमा खेले । त्यसलगत्तै उनले नेपाल सुपर लिगमा सी क्याटेगोरीमा रहेर काठमाडौं रेजर्सबाट नेपाल सुपर लिग पनि खेले । त्यो सिजन जियारतले मैदानमा उत्रन भने पाएनन् ।

यसवर्ष जियारतले उमेर समूहमा आफ्नो अन्तिम खेल यु-२० च्याम्पियनसिप खेले । यसमा उपाधि जित्न नसकेकामा भने उनलाई खल्लो महसुस भएको छ । ‘मेरो उमेर समूहको अन्तिम खेल थियो करिअरमा उमेर समूहमा एउटा उपाधि जितौं भनेको तर सकिएन’, उनी भन्छन् ।

राष्ट्रिय टिममा खेल्ने इच्छा

खुमलटार एफसीबाट बी डिभिजन लिग खेल्दा सन् २०२२ मा प्रशिक्षक विष्णु गुरुङले जियारतलाई ‘दोस्रो किरण हुनुपर्छ’ भनेका थिए । जियारतलाई पनि राष्ट्रिय टिमको जर्सी लगाएर खेल्ने इच्छा छ ।

यसो त गोलकिपर निकै कम मौका पाइने पोजिसन हो । उनी किरण चेम्जोङबाट प्रभावित भएका छन् र सँगै अर्का गोलकिपर विशाल श्रेष्ठको धैर्यता पनि देखेका छन् ।

‘विशाल दाइले १० वर्ष बेञ्चमा बसेर १० मिनेट मात्रै भए पनि देशको लागि खेल्नुभयो । ममा पनि धैर्यता छ र एकदिन राष्ट्रिय टिममा खेल्छु भन्ने इच्छा र अठोट छ’, उनले भने ।

तस्वीरहरू : चन्द्रबहादुर आले ।

गोलकिपर जियारत सेख नेपाली फुटबल नेपाली फुटबलर
लेखक
नमिता दाहाल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय