+
+
गण्डकीका भौतिकमन्त्री केसी :

राप्रपाबाट एमाले आएर सांसद, खगराजको मन जित्दा शक्तिशाली मन्त्रालय

अमृत सुवेदी अमृत सुवेदी
२०८१ भदौ १७ गते १८:५६

१७ भदौ, पोखरा । सुरेन्द्रराज पाण्डे नेतृत्वको सरकारमा नेकपा एमाले सहभागी हुँदा प्रकाशबहादुर केसीले भौतिक पूर्वाधार मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

सत्ताको रस्साकस्सीमा दुई पटकसम्म यो मन्त्रालय दीपक मनाङे भनिने राजीव गुरुङले हात पारेका थिए । सबभन्दा ठूलो दल कांग्रेस र एमालेबीच सत्ता साझेदारी भएपछि भौतिक पूर्वाधार मन्त्रालय एमालेले लिने पक्का जस्तै थियो ।

मूख्यमन्त्री पाण्डेलाई संकटमा साथ दिएका मनाङे र फणिन्द्र देवकोटालाई नहटाउन दुई वटा मन्त्रालय फुटाएर भागबण्डा मिलाएपछि एमालेले सोमबार मन्त्रीहरुको नाम लियो । पद्‍मा जिसीको नेतृत्वमा एमालेका चार मन्त्री भए ।

त्यसमा केसी भौतिक पूर्वाधार मन्त्री भए । केसी एमाले संसदीय दल तथा पूर्व मुख्यमन्त्री खगराज अधिकारीको विश्वास पात्र हुन् । त्यसकै बलमा अघिल्लो चुनावताका एमाले प्रवेश गरेर समानुपातिक पद्धतिबाट सांसद बन्न सफल भएका थिए ।

यो पटक भौतिक पूर्वाधारमन्त्री बन्न अरु सांसद पनि आंकाक्षी थिए । तर एमाले नेता खगराजले पार्टीका महासचिव शंकर पोखरेलका साथै पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई समेत भेटाएर मन्त्री बनाएका हुन् ।

लामो समय राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को राजनीति गरेका केसी २०५४ देखि २०५८ सालसम्म नगर परिषद सदस्य थिए । राजा ज्ञानेन्द्र शाहको शासनकालमा तत्कालीन पोखरा उपमहानगरपालिका–१२ को वडाध्यक्ष भए ।

२०७१ सालदेखि २०७५ सालसम्म लगातार २ पटकसम्म नेपाल खाद्य संस्थानको अध्यक्ष थिए । २०७४ सालको चुनावअघि राप्रपाका पूर्वसांसद सूर्यबहादुर केसी कांग्रेस प्रवेश गर्दा उनका बहिनी ज्वाइँ केसी भने एमालेतिर लागेका थिए ।

एमालेको प्रदेश कमिटी सचिवालय सदस्य भएर काम गरेका उनी यो पटक समानुपातिक सांसद भए ।

त्यसपछि अर्थ तथा विकास समितिको सभापति भएका थिए । ‘पहिले रोलक्रम मिचेर सामानुपातिक सांसद बनाउनु भयो । चुनावमा सहयोग गरेको र नेताहरुसँग निकट भएकै कारण अहिले मन्त्री बनाइयो,’ मन्त्रीका आकांक्षी एक एमाले सांसदले भने ।

पूर्व मुख्यमन्त्री एवं संसदीय दलका नेता खगराजको प्रदेशसभा क्षेत्र कास्की क्षेत्र नम्बर १ का प्रकाशबहादुरलाई आफूले जे भन्यो त्यही हुने भएकाले नै मन्त्री बनाएको एमालेका सांसदहरुको गुनासो छ ।

हुन त हरेक सांसद मन्त्री बन्न सक्छन् । तर पार्टी नेतृत्वले क्षमता, दक्षता र योगदानलाई हेरेर मन्त्री नियुक्त गर्ला भन्ने आश गरेपनि त्यसो नभएको अर्का एक सांसदले गुनासो गरे ।

उनले अगाडि भने, ‘उहाँ मन्त्री हुने चर्चा त थियो, तर खगराज माननीयले विवेक पुर्‍याउनुहुन्छ भन्ने थियो, उहाँले आफैैंमाथि नैतिकताको प्रश्न उठ्ने ठाउँ राख्नुभयो ।’

एमाले पोलिट्ब्यूरो सदस्य लीलबहादुर थापाले पार्टीमा गुट र विकृति मौलाएको देखिएको टिप्पणी गरे ।

मन्त्रीहरुको अनुहार हेर्दा खसआर्यको बश्चर्व देखिएको र समावेशी सिद्धान्तलाई पनि ख्याल नगरिएको उनको भनाइ थियो ।

‘हाम्रो राजनीतिमा विकृति हाबी भयो तलदेखि माथिसम्मै । पद केन्द्रित भयो, गुट केन्द्रित भयो, सत्ता केन्द्रित भयो,’ थापाले भने, ‘मुखले समाजवाद भन्ने तर व्यवहार गुटवादतिर भयो ।’

लेखकको बारेमा
अमृत सुवेदी

पोखरामा रहेर पत्रकारिता गरिरहेका सुवेदी अनलाइनखबरका गण्डकी प्रदेश ब्युरो प्रमुख हुन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?