+
+

गण्डकीका स्वास्थ्यमन्त्री पाठक : बजेट पुस्तिका जलाउँछु भन्थे, मन्त्री बने

मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सबै मन्त्रालय गुट्मुट्याएको भन्दै आपत्ति जनाएका पाठक पाण्डे नेतृत्वकै मन्त्रिपरिषदमा स्वास्थ्य मन्त्री बन्न पुगेका हुन् ।

अमृत सुवेदी अमृत सुवेदी
२०८१ भदौ १७ गते २०:२४

१७ भदौ, पोखरा । गत असार ११ गते गण्डकी प्रदेश सभामा एमाले सांसद कृष्णप्रसाद पाठकले रोस्टममा उभिएर दिएको अभिव्यक्तिले संसदकै ध्यान खिच्यो । आफ्ना योजना नपरेको भन्दै सांसद पाठकले कांग्रेस नेतृत्वको सरकारप्रति असन्तोषमात्र व्यक्त गरेनन्, बजेटका कार्यक्रम नसच्याए बजेट पुस्तिका नै जलाउने चेतावनी दिए । उनै पाठक अहिले त्यही बजेट कार्यान्वयन गर्ने पदमा पुगेका छन् ।

मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सबै मन्त्रालय गुट्मुट्याएको भन्दै आपत्ति जनाएका पाठक पाण्डे नेतृत्वकै मन्त्रिपरिषदमा स्वास्थ्य मन्त्री बन्न पुगेका हुन् । बजेटमा असन्तुष्टि जनाएका पाठक अहिले ११ जिल्ला अस्पताल, प्रदेशको आफ्नै संक्रामक तथा सरुवा रोग र मातृशिशु गरी १४ वटा अस्पताल, मातहतका ४० भन्दा धेरै कार्यालयहरु र २ अर्बभन्दा धेरै बजेट चलाउने वास्थ्य मन्त्रालयको बागडोर सम्हाल्न आइपुगेका छन् ।

संसदमा चर्को आवाजमा आफ्नो अभिव्यक्ति राखेर आफूतिर ध्यान आकर्षित गराउने पाठकले खगराज अधिकारीको विश्वास जित्दै एमालेका ४ जना मन्त्री बन्दा स्वास्थ्य मन्त्री बन्ने अवसर पाएका छन् ।

उनी नेकपा एमालेको जिल्ला अध्यक्षमा हिरा केसीसँग पराजित भएका थिए । तर समानुपातिक सूचीमा खस आर्यतर्फबाट एक नम्बरमा नाम हुँदा सांसद हुने अवसर पाए । नेकपा एमाले गण्डकी प्रदेश कमिटीको निर्वाचनमा अधिकांश पृथ्वीसुब्बा गुरुङ समूहले चुनाव जित्दा पाठक भने खगराज समूहबाट सदस्य जित्ने सीमित व्यक्तिमध्ये हुन् ।

सार्वजनिक लेखा समितिको सभापतिको आकांक्षा राखे पनि स्याङ्जाका सुधीरकुमार पौडेल सभापति बनेका थिए । खगराज समूहमा भए पनि पाठक पृथ्वीसुब्बा समूहसँग पनि लचिलो पात्र मानिन्छन् ।

यसअघि खगराज नेतृत्वकै सरकार बन्दा पनि मन्त्री हुन आकांक्षा देखाएका पाठक यसपटक उनको पहिलो रोजाइमै थिए । पाठकलाई यसपटक मन्त्री बनाउन महासचिव शंकर पोखरेल, स्थायी कमिटी सदस्य तथा गण्डकीका संसदीय दलका नेता खगराजले बचन दिएका थिए ।

एमालेबाट मन्त्री बन्ने सूचीमा खगराज समूहका पाठक र उपमहासचिव पृथ्वीसुब्बा गुरुङ समूहबाट पद्मा जिसी श्रेष्ठको नाम सुरुमै पक्का गरिएको सांसदहरु बताउँछन् । बागलुङ एमाले जिल्ला अध्यक्ष इन्द्रलाल सापकोटा गण्डकी प्रदेश सांसद भएपछि केही समय कार्यवाहकसमेत चलाएका पाठकले मन्त्री भएर थप उचाइ बढाएका छन् ।

२०४८ को संसदीय निर्वाचनमा बाग्लुङ क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार भए पनि २०७९ सालमा समानुपातिक सूचीबाट सांसद हुँदै मन्त्री हुन सफल भए । गण्डकी प्रदेशमा पृथ्वीसुब्बा गुरुङ मुख्यमन्त्री भएर आएसँगै स्थायी कमिटी सदस्य खगराज अधिकारीसँगको गुटको राजनीति मौलाउँदा उनी खगराजको पक्षमा उभिएका थिए ।

एमाले संसदीय दलका नेता खगराजले यसपटक सबै नयाँ अनुहार सरकारमा पठाउने पहिल्यै बताएका थिए । प्रत्यक्ष निर्वाचित सांसद पहिलो रोजाइमा पर्न सक्ने एमालेभित्रैको अनुमानलाई गलत साबित गर्दै खगराजले आफ्ना नजिकका २ जना समानुपातिक सांसदलाई नै मन्त्री बनाएका छन् । खगराज समूह निकट पाठक र भौतिक पूर्वाधार मन्त्री बनेका प्रकाशबहादुर केसी दुबै जना समानुपातिक सूचीको खसआर्यतर्फ पहिलो र दोस्रो नम्बरमा थिए ।

२०३१ सालमा तत्कालीन नेकपा मसालसँग नजिक बनेका पाठक माओवादी सशस्त्र संघर्षका बेला गाउँबाट विस्थापित भएर बागलुङ बजार झरेको दाबी गर्छन् ।

जनतालाई प्रत्यक्ष जोड्ने र प्रदेशको अनुभूति दिने एउटा क्षेत्र स्वास्थ्य हो । त्यही क्षेत्रलाई पाठकले कसरी व्यवस्थित गर्छन् र पाएको पहिलो सुविधाको पदलाई पुष्टि गर्छन्, त्यसले खगराजको छनोटलाई पनि पुष्टि गर्ने छ ।

लेखकको बारेमा
अमृत सुवेदी

पोखरामा रहेर पत्रकारिता गरिरहेका सुवेदी अनलाइनखबरका गण्डकी प्रदेश ब्युरो प्रमुख हुन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?