+
+

‘जेन-जीलाई मनपर्ने नेपाली फिल्म बनाउने बेला भइसक्यो’

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ १७ गते १७:४१

काठमाडौं । नेपाली फिल्ममा पछिल्लो समय एउटा बहस सुरु भएको छ- जेन-जीलाई कसरी फिल्मसँग जोड्ने ? इन्स्टाग्राम, स्मार्टफोन र नेटफ्लिक्समा झुण्डिने यो पुस्तालाई हलसम्म तान्न सकिए, फिल्म संस्कृति प्रवर्द्धनमा लाभ हुने निर्माताको आशा छ ।

असोज ११ गते प्रदर्शन तयारीमा रहेको फिल्म ‘सानो संसार’ एक उदाहरण हो । यो कथानक फिल्ममा कुनै स्टार छैनन्, छन् त केवल नामै नसुनिएका नन-एक्टर र नयाँ अनुहार । अस्कर कलेजमा स्नातक अध्ययनरत २१ वर्षीया अञ्जसा रिजाल फिल्मकी ‘प्रोटागोनिस्ट’मध्येकी एक हुन्, जसले ‘जेनेरेसन जेड’को प्रतिनिधित्व गर्छिन् ।

कलेजमा फिल्मको सैद्धान्तिक ज्ञान मात्र आर्जन गरिरहेकी अञ्जसा यतिबेला फिल्म मेकिङको व्यावहारिक ज्ञान लिइरहेकी छिन् । निर्माण, वितरण र प्रदर्शनको ‘प्रोसेस’बारे सिकिरहेकी छिन् । नेपाली फिल्म भनेपछि ‘नाक खुम्च्याउने’ उनको समकालीन पुस्तालाई हलसम्म तान्न सकिनेमा उनी आशावादी सुनिइन् ।

‘फिल्म मेकिङ भन्दा बाहिरका साथीलाई हलमा जाऊँ भन्दा हलको ३०० र त्यहाँ गएपछि खाइने पपकर्नको लागि हजार रुपैयाँ किन खेर फाल्ने भन्छन् । बरु, इङ्लिस, बलिउड मुभी हेरौं भन्छन्,’ अञ्जसाको अनुभव छ, ‘यो सुन्दा मलाई नराम्रो लाग्छ किनभने म फिल्म मेकिङ ब्याकग्राउण्डमा छु ।’

‘मेरो लागि साथीहरु त आउँछन् तर म जस्तो जेन-जी त कति हुनुहुन्छ । उहाँहरुले मेरो लागि भनेर सोच्नु त हुँदैन नि । उहाँहरु नर्मल पिपुल हो । मेरो लागि भनेर उहाँहरु हलमा आउनुहुँदैन । उहाँहरुको पर्सपेक्टिभ पनि त्यही त हुन्छ नि,’ नेपाली फिल्म हेर्न हलमा जाने विकर्षणप्रति उनी सुनिइन् ।

पछिल्लो पुस्तालाई नेपाली फिल्म हेर्न हलसम्म तान्न निर्देशन र अभिनयमा विश्वसनीयता हुनुपर्ने अञ्जसाको तर्क छ । ‘मुख्य कुरा कन्भिसिङ हुनुपर्‍यो भन्ने हो,’ उनी भन्छिन, ‘हरर फिल्म हेर्‍यो भने हलबाट निस्केपछि रातभर सुत्न डराओस् न ।’

पुरानो ‘पर्सपेक्टिभ’ले गर्दा दर्शकलाई हलसम्मै जान मुस्किल रहेको उनको मत छ । ‘तर अहिले अभिनयमा पनि चेन्ज आइरहेको छ । जेन-जीको त्यो अपेक्षालाई सानो संसारले मिट गर्ने प्रयास हाम्रो छ,’ आफ्नो डेब्यु फिल्मबारे उनी सुनिइन् ।

सानो संसार’ मध्यमवर्गीय परिवारको कथा

न्वारन हुँदा पण्डितले भनेका थिए रे– अञ्जसा ठूली भएपछि कलाकार बन्छिन् ।’ नभन्दै उनको करिअरले प्वाँख हालेको छ । कुनैबेलाको चर्चित सिरिजबारे बनेको यो कथानक फिल्ममा अञ्जसा मुख्य पात्रको रोलमा छिन् । त्यो पनि नेपालको ट्रेन्डसेटर फिल्म ‘लुट’ र ‘चपली हाइट’का निर्माताले बनाएको पछिल्लो फिल्मको मुख्य भूमिकामा ।

फिल्मका लागि लिइएको अडिसनमा पास भएपनि उनले पछि फर्केर हेर्नुपरेन । अभिनयबाटै उनले निर्माताको मन जितेकी छन् र अब दर्शकको जित्न बाँकी छ । यसमा उनले घरकी कान्छी छोरीको रोलमा चरित्र चित्रण गरेकी छन् ।

‘एकदमै आउट गोइङ, लभिङ, केयरिङ छ मेरो क्यारेक्टर,’ हालैको एक अपरान्ह फिल्म प्रचारको धपेडीमा व्यस्त उनले भनिन् ।

रोमान्टिक, एक्सन र थ्रिलर जनराका फिल्मको बाढी आइरहेको बेलामा, पारिवारिक कथावस्तुको फिल्म बनेको छ । ‘मध्यमवर्गीय परिवारको कथा नआएको जस्तो पनि लागिरहेको थियो । यो एउटा मात्र परिवारको कथा नभईकन सबै फेमिलीले महसुस गर्न सक्छौं । यसकारण यो रिलेटेड कन्टेन्ट हो,’ उनी भन्छिन् ।

यो फिल्मले परिवारका सदस्यबीच संवाद स्थापित गर्न उनको धारणा छ । ‘छोरीले आमालाई भन्न सकेको छैन होला, बुवाले छोरीलाई भन्न सकेको छैन होला । हामीले यी कुरा फिल्मबाट चित्रण गरेका छौं,’ फिल्मको कथावस्तुबारे उनले भनिन्, ‘परिवारिक दर्शकले हेर्नुभयो भने एअर्कालाई भन्न जरुरी छैन, फिल्मबाटै देखिन्छ । हामीले जुन कुरा भन्न सकेका छैनौं, त्यसलाई फिल्मबाट भनेका छौं ।’

सौगात मल्लसँग काम गर्न मन छ’

अञ्जसा आफूलाई अभिनयका सीमामा खुम्च्याउन मन छैन । उनी एक्स्प्लोर गर्न रुचाउँछिन् । किन त ? उनको जवाफ छ– ‘किनभने  चुनौतीपूर्ण काम गर्दा आफूलाई एक्स्प्लोर महसुस गर्छु । मैले जति प्रोजेकट गर्दै गएँ, अभिनय र फिल्मप्रति रिसर्च गर्न मन लाग्छ ।’ यसकारण उनी थ्रिलर र कमेडी जनरामा काम गर्न रुचि राख्छिन् ।

एकातिर कलेज र अर्कोतिर छायांकन । पढ्दा पढ्दै कुनै फिल्म विद्यार्थीले मेनस्ट्रिम फिल्म अभिनयमा काम गर्न पाउनु आफैंमा भाग्यकै कुरा हो । ‘सैद्धान्तिक ज्ञान कलेजबाट पाइरहेको थिएँ, त्यसलाई व्यवहारमा उतार्ने अवसर मलाई मिल्यो,’ उनी भन्छिन् ।

अञ्जसाका लागि डेब्यु अनुभव केही दबाबपूर्ण छ । चर्चित र रुचाइएको सिरिजलाई लिएर फिल्म बनाएपछि सोही लेभलमा फिल्मलाई दर्शकले रुचाउने वा नरुचाउने भन्ने दबाब उनीभित्र छ ।

यसबाहेक चरित्रमा डुब्न उनले आफूलाई तयार गरिन् । अरुलाई सोध्ने भन्दा पनि आफूलाई दिइएको पात्रबारे आफैं अनुसन्धान गरेर चरित्रमा डुब्ने काम उनले गरिन् । यस बाहेक चरित्रलाई अझै रोचक तुल्याउन उनले निजी अनुभवलाई पनि समेटेकी छिन् ।

उनी नेपाली अभिनेता सौगात मल्लसँग स्क्रिन सेयर गर्न चाहिन्छन् । ‘उहाँले पनि च्यालेन्जिङ क्यारेक्टर गर्नुहुन्छ । उहाँको काम गर्ने शैलीबाट मैले धेरै सिकेको छु । उहाँले कसरी गर्नुहुन्छ, ती कुरा सिक्न मन छ,’ उनी भन्छिन् ।

उनी फिल्ममा स्टार भन्दा कन्टेन्ट महत्वपूर्ण ठान्छिन् । ‘स्टारका फ्यान फिल्म हेर्न जानुहुन्छ । तर कन्टेन्ट हेर्न नचिनेका दर्शक पनि जान्छन् । त्यहाँ स्टार हुनुपर्छ भन्ने जरुरी छैन,’ उनी भन्छिन्, ‘निर्माताले जोखिम उठाएर नयाँ कलाकारलाई ल्याउनुभएको छ । हाम्रो कन्टेन्ट, अभिनय र प्रतिबद्धताले दर्शकको मन जित्न सक्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?