+

टिमको किचलोले मैदानमा फिक्का सुदूरपश्चिम

२०८१ भदौ  १७ गते १९:५६ २०८१ भदौ १७ गते १९:५६
टिमको किचलोले मैदानमा फिक्का सुदूरपश्चिम

१७ भदौ, काठमाडौं । महिला लिगमा सोमबार सुदूरपश्चिम प्रदेशले बागमती युथ क्लबसँग ५–१ को हार बेहोर्‍यो ।

एन्फा कम्प्लेक्समा भएको खेलमा बागमतीका लागि अस्मिता खवासले ह्याट्रिक गर्दा सहारा लिम्बु र आरती भुजेलको नाममा १/१ गोल रह्यो । सुदूरपश्चिमका लागि एक मात्र सान्त्वना गोल निर्धारित समयको अन्तिम मिनेटमा तुलसा बोहराले गरिन् ।

खेल अवधिभर सुदूरपश्चिम निकै कमजोर देखिएको थियो । खेलाडीहरुबीच तालमेल समेत राम्रो थिएन ।

प्रशिक्षक दिनेश लामा योञ्जन पहिलो रोजाइको टिम नहुँदा धेरै गाह्रो भएको बताउँछन् । ‘टिम र संघको विवादका कारण दुई दिनमा मैले यो टिम लिएर आएको हुँ’, पहिलो खेलपछि योञ्जनले भने, ‘पहिलो रोजाइको टिम भएको भए धेरै सहज हुने थियो ।’

के हो विवाद ?

महिला लिगका लागि २६ खेलाडीलाई धनगढीको अल स्टार फुटबल एकेडेमीमा ९ साउनदेखि सुरज तामाङले प्रशिक्षण दिइरहेका थिए ।

आयोजक अखिल नेपाल फुटबल संघ (एन्फा) ले प्रशिक्षकसँग बी लाइसेन्स हुनुपर्ने नियम बनाएपछि सुदूरपश्चिम फुटबल संघले सुरज तामाङलाई हटाएर ९ भदौमा दिनेश लामा योञ्जनलाई प्रशिक्षक बनायो । नयाँ प्रशिक्षक ल्याएसँगै सुदूरपश्चिम प्रदेश फुटबल संघले पहिलो चरणमा १८ खेलाडीलाई मात्र काठमाडौं लगिने जानकारी गरायो ।

जबकी एउटा टिममा ३० जना खेलाडी राख्न पाउने प्रावधान छ ।

तर नयाँ प्रशिक्षक ल्याएको संघले पुनः खेलाडी छनोट गर्न खोजेको बुझेपछि खेलाडीहरुले विरोध गरे ।

उनीहरुले एक महिनादेखि प्रशिक्षण गराइरहेका सुरज तामाङलाई निरन्तरता दिनुपर्ने, बन्द प्रशिक्षणमा रहेका सबै २६ जनालाई नै काठमाडौं लैजानुपर्ने, खेल सामग्री उपलब्ध गराउनुपर्ने माग संघमा राखे । माग पूरा नभए सबैले नखेल्ने बताए । अध्यक्ष दिनेश श्रेष्ठ भने खेलाडीहरुलाई सुन्न तयार भएनन्, बरु नयाँ प्रशिक्षक दिनेश लामा योञ्जनले १४ भदौमा सेलेक्सन राखे र नयाँ टिम बनाए ।

एक महिना प्रशिक्षण गरेका खेलाडीहरुले पत्रकार सम्मेलन गरेर नयाँ टोली र आफूहरुबीच एउटा खेल खेलाउन र जसले जित्छ, उसैलाई काठमाडौं लैजान समेत आग्रह गरेका थिए ।

तर नयाँ टिम नै काठमाडौं आयो । सोमबार बाग्मतीविरुद्ध खेल्ने क्रममा २६ जनामा रहेकी गोलरक्षक टिकेश्वरी साउद मात्रै खेलिन् । बाँकी सबै नयाँ खेलाडी खेलाइएको थियो ।

टिममा भएका खेलाडीहरुको तालमेल पटक्कै मिलेको थिएन । डिफेन्स लाइन सबैभन्दा कमजोर देखिएको थियो । तर सुदूरपश्चिम प्रदेश संघका अध्यक्ष श्रेष्ठ भने कतिपय खेलाडीले पहिलो पटक खेलेकाले यो प्रदर्शन धेरै नै भएको बताउँछन् ।

उनका अनुसार अहिले पनि टोलीमा १२ जना खेलाडीको ठाउँ खाली छ । ‘हामी खेलाडीहरु खोजिरहेका छौं । बन्द प्रशिक्षणमा रहेका बैनीहरु आउँछन् भने टिममा राख्न तयार छौं’, श्रेष्ठले भने ।

स्रोतका अनुसार केही खेलाडी आउन पनि सक्छन् । तर धेरैले भने सुदूरपश्चिमको टिमबाट रिलिज (फुकुवा) मागेका छन् । त्यसो भएमा अरु प्रदेशको टिमबाट खेल्न सकिने उनीहरुको बुझाइ छ ।

अध्यक्ष श्रेष्ठ भने व्यवस्थापकीय कारणले पनि अहिले बन्द प्रशिक्षणमा रहेका खेलाडीलाई रिलिज गर्न समय लाग्ने बताउँछन् । भन्छन्, ‘उनीहरुले भन्नेबित्तिकै त हुँदैन नि !’

फुटबल सुदूरपश्चिम
लेखक
नमिता दाहाल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय