+
+

मनाङेको राजीनामाले मुख्यमन्त्रीलाई हाइसञ्चो

५ महिनामा ३ पटक मन्त्री बनेर बहिरिए मनाङे

अमृत सुवेदी अमृत सुवेदी
२०८१ भदौ १७ गते २०:५३

१७ भदौ, पोखरा । नेकपा एमालेको विरोधका बाबजुद गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मन्त्री कायम राखेका राजीव गुरुङ (दीपक मनाङे) आफैंले राजीनामा दिएर सरकारबाट बाहिरिएका छन् ।

मन्त्री पदबाटै अराजक गतिविधि गरिरहँदा समेत मुख्यमन्त्री पाण्डेले आफूलाई बहुमत चाहिएका बेला सहयोग गरेको भन्दै मनाङेलाई हटाएका थिएनन् ।

तर उनले सम्हालेको भौतिक पूर्वाधारसहित ४ मन्त्रालय दिएर सोमबार एमालेलाई सरकारमा सहभागी गराउँदा कांग्रेसबाट मुख्यमन्त्री बनेका पाण्डेले मनाङेलाई भने वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिए ।

मनाङेले भौतिक पूर्वाधार छाड्नुपरेको अवस्थामा युवा तथा खेलकुद मन्त्रालय वा पर्यटन मन्त्रालय मागेका थिए । तर, भागबण्डामा पर्यटन मन्त्रालय पनि एमालेले लिने भएपछि मुख्यमन्त्रीले बाँकी रहेको वन तथा वातावरण मन्त्रालय दिएपछि उनले सोमबार नै स्वकीय सचिव सन्तोष अधिकारीमार्फत राजीनामा पठाए ।

राजीनामा बुझाइसकेपछि उनले आफूले पाएको मन्त्रालय कांग्रेसलाई बेचिदिने टिप्पणी गरे ।

विश्वासको मत दिएर आफ्नो सरकार जोगाइदिएकै कारण पाण्डेले मनाङेलाई मन्त्रीबाट नहटाउने अडान लिएका थिए । एमाले–माओवादी गठबन्धन बनेका बेला पाण्डेले नेपाल समाजवादी पार्टीका सांसद फणीन्द्र देवकोटा र स्वतन्त्र सांसद दीपक मनाङेको समर्थन लिएर सरकार जोगाएका थिए ।

सरकार अल्पमतमा परिसकेपछि एमाले–माओवादीको बहुमत पुग्न नदिने रणनीतिका साथ ५ चैत २०८० मा मनाङेलाई मुख्यमन्त्री पाण्डेले भौतिक पूर्वाधार मन्त्री बनाएका थिए ।

त्यसको २० दिनपछि एमाले–माओवादीको तर्फबाट खगराज अधिकारीलाई मुख्यमन्त्री गर्न दाबी पेश गर्न समर्थन दिएर मनाङे फेरि मन्त्री हुन सफल भए । खगराज सरकारमा मन्त्री रहेकै बेला गत जेठ २८ गते विश्वासको मत दिएका थिए । त्यसको भोलिपल्टै उनी भौतिक पूर्वाधार मन्त्रीमा दोहोरिएका थिए ।

पछि अदालतको आदेशमा पाण्डे मुख्यमन्त्री बनेपछि मनाङे नै भौतिक पूर्वाधार मन्त्रालयमा कायम रहे । नेपाल समाजवादी पार्टीका फणीन्द्र देवकोटाले समेत विश्वासको मत दिएपछि पाण्डे नेतृत्वको सरकार जोगियो ।

गत असारमा कांग्रेस–एमाले गठबन्धन बनेपछि एमालेले मनाङे र फणीन्द्रलाई हटाउन आग्रह गर्दा पनि मुख्यमन्त्री पाण्डेले आफूलाई अप्ठेरोमा साथ दिएको भन्दै उनीहरुलाई हटाउन मानेनन् । बरु शीर्ष नेतालाई नै उनीहरुलाई नहटाउन सहमत गराएर मन्त्रालय संख्या ७ बाट ९ पुर्‍याए ।

मुख्यमन्त्री पाण्डेले मनाङे र फणीन्द्रलाई मन्त्रीबाट नहटाउने वचन दिएका थिए ।

मुख्यमन्त्री पाण्डेले फणीन्द्र देवकोटालाई ऊर्जा मन्त्रालयमा यथावत राख्ने तर आफूलाई वरीयता पनि घटाउने र बजेट नभएको मन्त्रालय दिने भन्दै मनाङेले राजीनामा बुझाएका हुन् । मन्त्री बन्दाबन्दा अल्छी लागेको बताउँदै मनाङेले ‘कांग्रेसलाई डेढ करोडमा मन्त्रालय बेचिदिन्छु’ भन्ने हास्यास्पद अभिव्यक्ति दिए ।

सत्ताको अंकगणितमा निर्णयक बन्दै गण्डकी प्रदेश सभाको दोस्रो कार्यकालसम्म आइपुग्दा मनाङे छैठौं पटक मन्त्री भएका थिए । उनले मन्त्री भइसकेपछि पनि कर्मचारीमाथि जाइलाग्ने, विवादास्पद अभिव्यक्ति दिनेजस्ता विवादास्पद काम गर्दै आएका थिए ।

‘मनाङेको अभिव्यक्ति र अराजक व्यवहार देख्दा पहिल्यै हटाउनुपर्ने थियो । तर, कठिन अवस्थामा साथ दिएको भन्दै मुख्यमन्त्रीले च्याप्नुभएकै हो’, कांग्रेसका एक सांसदले भने, ‘मनाङेको राजीनामा मुख्यमन्त्रीलाई झनै सहज भयो । सर्प पनि मर्‍यो, लठ्ठी पनि भाँचिएन भनेकै यही होला ।’

मन्त्रालय संख्या ९ बनाएपछि ५ वटा कांग्रेसले र ४ वटा एमालेले लिने सहमति भएको थियो । कांग्रेसले मनाङे र देवकोटालाई आफ्नो कोटाबाट मन्त्री बनाएको थियो । मनाङेले छाडेपछि अब वन मन्त्रालयमा कांग्रेसबाट मन्त्री बन्नेछन् ।

कांग्रेस कोटाबाटै मन्त्री भएका मनाङेले राजीनामा दिएपछि अब कांग्रेसबाटै अर्को मन्त्री बन्ने छन् । मुख्यमन्त्री पाण्डेलाई कांग्रेसबाटै एक जना मन्त्री बनाउन दबाबसमेत थियो । मन्त्रिपरिषदमा अहिले सभापति शेरबहादुर देउवा समूहका मात्र छन् । शेखर कोइराला–गगन थापा समूहलाई पनि समेट्ने पाण्डेका लागि यो अवसर बनेको छ ।

मन्त्रिपरिषदलाई पूर्णता दिँदा एमालेबाट प्रकाशबहादुर केसी भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री, पद्मा जिसी कृषि, भूमि व्यवस्था तथा सहकारी, कृष्णप्रसाद पाठक स्वास्थ्यमन्त्री, मित्रलाल बस्याल उद्योग तथा पर्यटन मन्त्री बनेका छन् ।

कांग्रेसबाट अर्थमा डा. टकराज गुरुङ, सामाजिकमा विन्दुकुमार थापा र ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रीमा फणीन्द्र यथावतै रहे ।

मुख्यमन्त्री भन्छन् : राजीनामा नै दिएपछि मैले के गर्ने ?

मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विश्वासको मत दिनेबेलामै अर्को गठबन्धन भयो भने पनि मन्त्रिपरिषदमै राख्ने वचन दिएको र त्यो आफूले पूरा गरेको बताए । तर, एमालेसँग समीकरण भइसकेपछि त्यही मन्त्रालयमा राख्ने अवस्था नभएको उनको भनाइ थियो ।

‘म त्यो मन्त्रालयमा बस्दिन, अर्को साथीलाई मौका दिनुस् भनेर राजीनामा दिनु भएपछि स्वीकार त गर्नैपर्‍यो’, मुख्यमन्त्री पाण्डेले भने, ‘मैले नै हिजो उहाँलाई बोलाएर कुरा गरेको थिएँ । भौतिक पूर्वाधार एमालेको भागमा पर्छ होला, त्यो मन्त्रालयबाट वन वा पर्यटन हुन्छ होला भनेर भन्या हो ।’

बिहान एमालेले रोजेको मन्त्रालयबाहेक वन कांग्रेसको भागमा परेको र अर्को मन्त्रालयमा मन्त्री भइरहेकाले वन मन्त्रालय नै मनाङेलाई दिएको उनले बताए । अब वन मन्त्रालयमा कांग्रेसबाट छिट्टै मन्त्री नियुक्त गर्ने मुख्यमन्त्री पाण्डेले बताए ।

लेखकको बारेमा
अमृत सुवेदी

पोखरामा रहेर पत्रकारिता गरिरहेका सुवेदी अनलाइनखबरका गण्डकी प्रदेश ब्युरो प्रमुख हुन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?