+
+

प्रहरीमा डीआईजी प्रमुख हुने कार्यालयको कमाण्ड एसपीलाई

नारायण अधिकारी नारायण अधिकारी
२०८१ भदौ १८ गते ६:४४

१८ भदौ, काठमाडौं । प्रहरी नायव महानिरीक्षक (डीआईजी) प्रमुख रहने प्रहरी कार्यालयहरु अहिले प्रहरी उपरीक्षक (एसपी)को कमाण्डमा छन् ।

३० वर्षे सेवा अवधिका कारण १६ भदौमा नेपाल प्रहरीका ९० अधिकृत एकसाथ अवकाश भएका छन् । बागमती प्रदेश प्रहरी कार्यालयका प्रमुख डीआईजी विष्णुकुमार केसी र प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) रविकुमार पौडेल एकसाथ अवकाशमा गए ।

उनीहरु बिदा भएपछि अहिले बागमती प्रदेश प्रहरी कार्यालयको कमाण्ड एसपी दुर्गाराज रेग्मीले गरिरहेका छन् ।

जबकी अहिले बागमती प्रदेश मातहतका जिल्लाका प्रमुख समेत एसपीहरु छन् । केही जिल्ला प्रहरी प्रमुखहरु प्रदेश कार्यालयका निमित्त प्रमुख एसपी रेग्मी भन्दा पनि सिनियर छन् ।

काठमाडौं उपत्यका ट्राफिक कार्यालय रामशाह पथको प्रमुखमा डीआईजी रहने व्यवस्था छ । २१ असारसम्म ट्राफिक प्रमुखको रुपमा डीआईजी पोषराज पोखरेल थिए । उनी ५६ वर्षे उमेरहदका कारण अवकाश गएपछि निमित्त प्रमुखको रुपमा एसएसपी जीवनकुमार श्रेष्ठ थिए । उनी समेत १६ भदौमा ३० वर्षे सेवा अवधिका कारण अनिवार्य अवकाशमा गए । जसकारण उपत्यका ट्राफिक प्रहरी कार्यालयको निमित्त प्रमुखको जिम्मा एसपी विश्वराज खड्काले पाएका छन् ।

अपराध अनुसन्धान कार्यालयका ३ पिलर डीएसपीविहीन

काठमाडौं उपत्यकाका तीन जिल्लाहरु (काठमाडौं, ललितपुर, भक्तपुर) मा हुने ठूला अपराधका घटनाहरु अनुसन्धान गर्ने जिम्मेवारी रहेको अपराध अनुसन्धान कार्यालयका तीन वटा पिलरहरु नै अहिले प्रमुखविहीन बनेका छन् ।

वैदेशिक रोजगारसम्बन्धी ठगीको अनुसन्धान गर्ने पिलरका प्रमुख गोविन्द पन्थी, डाँका चोरीको अनुसन्धान गर्ने पिलरका प्रमुख किरण न्यौपाने र प्रशासन शाखाका प्रमुख ऐनबहादुर मल्ल ३० वर्षे सेवा अवधिका कारण एक साथ अवकाशमा गएका छन् ।

‘अन्यको तुलनामा वैदेशिक रोजगारी सम्बन्धी ठगीको पिलरमा बढी चाप हुन्थ्यो । प्रमुख नहुँदा केही समस्या भएको छ’, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एक अधिकृतले भने ।

अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सानुराम भट्टराई अब हुने डीएसपी सरुवामा प्रमुखविहीन भएका पिलरमा पदपूर्ति हुने बताउँछन् ।

प्रहरी प्रधान कार्यायले भने डीएसपी भन्दा पहिला इन्सपेक्टरको सरुवा तयारी सुरु गरेको छ । अघिल्लो वर्षको साउन सुरुवातमै इन्सपेक्टरको सरुवा गरिएकाले सुरुमा इन्सपेक्टरको सरुवा गरेर डीएसपीको सरुवा गर्ने तयारी हेडक्वार्टरको छ । छिटो सरुवा भएपछि साउनभरि लाग्न सक्ने भएकाले अझै १५ दिनसम्म पिलरहरु प्रमुखविहीन हुनसक्छन् ।

तर अपराध अनुसन्धान जस्तो संवेदनशील पिलरमा जतिसक्दो चाँडो डीएसपीहरु पठाउनुपर्ने अधिकृतहरु बताउँछन् ।

जिप्रकादेखि गणसम्म प्रमुखविहीन

जिल्ला प्रहरी कार्यालय डोटीका प्रमुख एसपी विष्णुहरि कोइराला ३० वर्षे सेवा अवधिका कारण १६ भदौमा अवकाशमा गए । डीएसपी भीमलाल भट्टराईले निमित्त प्रमुखको जिम्मा पाएका छन् ।

नेपाल प्रहरी विशेष सुरक्षा गण कञ्चनपुरका प्रमुख तथा एसपी प्रेमबहादुर बस्नेत, सुदूरपश्चिम प्रदेश प्रहरी गण धनगढीका प्रमुख तथा एसपी देवेन्द्र बहादुर पाल पनि ३० वर्षे सेवा अवधिका कारण अवकाशमा गएका छन् ।

नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय अत्तरियाका प्रमुख प्रहरी डीएसपी अनिलकुमार उप्रेती अवकाशमा गएपछि यो कार्यालय पनि निमित्तको भरमा चलेको छ ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका एसएसपी दिल्लीराज विष्ट, कर्णाली प्रदेशका एसएसपी वीरबहादुर वली, डीएसपी राजन गौतम पनि अवकाशमा गएका थिए । सुदूरपश्चिम र कर्णाली दुबै कार्यालयमा प्रमुखको रुपमा डीआईजी भने कार्यरत नै छन् ।

जब सर्वोच्चले भन्यो- सरुवा समेत नगर्नु

३० वर्षे सेवा अवधिका कारण अनिवार्य अवकाशमा जाने भएपछि एसएसपी जीवनकुमार श्रेष्ठसहित २१ प्रहरी अधिकृतहरुले ५ भदौमा सर्वोच्च अदालतमा निवेदन दिएका थिए ।

न्यायाधीश हरिप्रसाद फुयालको ६ भदौको इजलासले ३० वर्षे सेवा अवधि कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको थियो । साथै सरुवा समेत नगरी जहाँको त्यही काममा लगाउनु भन्ने आदेश दिएको थियो ।

सर्वोच्चको यो आदेशपछि अवकाशमा जाने लागेकाहरुलाई समेत सरुवा गर्न नमिल्ने भएको हुँदा अहिले धेरै कार्यालयहरु प्रमुखविहीन बनेको प्रहरी प्रधान कार्यालयका अधिकारीहरु बताउँछन् । ‘सर्वोच्चले सरुवा समेत नगरी जहाँको त्यही राख्नु भनेपछि ती ठाउँमा कोही नयाँ व्यक्ति पठाउन मिलेन । त्यसैले अहिले केही प्रहरी कार्यालयहरु प्रमुखविहीन बनेका हुन्’, प्रहरीको मानव स्रोत विभागका एक उच्च अधिकृतले अनलाइनखबरसँग भने ।

न्यायाधीश फुयालको अन्तरिम आदेश खारेजीको माग गर्दै सरकारले दिएको निवेदनमा सुनुवाइ गर्दै न्यायाधीश विनोद शर्मा र सारंगा सुवेदीको इजलासले १४ भदौमा ३० वर्षे कार्यान्वयन नगर्न दिएको अन्तरिम आदेश खारेज गरिदिएको थियो ।

अन्तरिम आदेश खारेज भएसँगै डीआईजी विष्णुकुमार केसीसहित ९० प्रहरी अधिकृहरुले एकसाथ अवकाशमा गएका थिए । १५ भदौ २०५१ मा असईमा भर्ना भएका टोलीहरु अहिले ३० वर्षे सेवा हदका कारण अवकाशमा गएका हुन् ।

यता सशस्त्र प्रहरी बलमा भने अवकाशमा जानु केही दिन अघिमात्रै ती ठाउँका प्रमुखहरुलाई सरुवा गरेर नयाँ पठाइएको छ ।

सशस्त्रमा पनि दुई डीआईजीसहित १८ जना ३० वर्षे सेवा अवधिका कारण १६ भदौबाट अवकाशमा गएका छन् । अवकाशमा जानु ४ दिनअघि १२ भदौमा नं. ५ बिन्ध्यावासिनी बाहिनी मुख्यालय रुपन्देहीको प्रमुख डीआईजी अभिकुमार खत्री सशस्त्र प्रहरी हेडक्वाटरको मानव स्रोत विभागमा सरुवा गरिएको थियो । खत्री अवकाशमा जाने भएपछि उनको ठाउँमा डीआईजी प्रदीपकुमार पाललाई पठाइएको थियो ।

नं.६ महेश्वरी बाहिनी मुख्यालय सुर्खेतको प्रमुख डीआईजी दुर्गाप्रसाद भट्टराई अवकाशमा जाने भएपछि उनलाई राष्ट्रिय सुरक्षा परिषद्को सचिवालयमा सरुवा गरेर उनको ठाउँमा सुरेशकुमार श्रेष्ठलाई पठाइएको थियो ।

जसकारण उनीहरु अवकाशमा गए पनि दुबै बाहिनीहरु प्रमुखबिहिन हुन पाएका छैनन् । ३० वर्षे सेवा अवधि हटाउन माग गर्दै गएका सशस्त्र प्रहरीको हकमा भने सर्वोच्चले रिट नै खारेज गरिदिएपछि सरुवाको बाटो पनि सहज भएको थियो ।

लेखकको बारेमा
नारायण अधिकारी

अधिकारी अनलाइनखबरका लागि सुरक्षा, अपराध विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?