+
+

एसपी निमित्त प्रमुख भएका कार्यालयमा खटाइयो डीआईजी, २ महिनापछि ट्राफिकले पायो नेतृत्व

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ १८ गते ८:५१

१८ भदौ, काठमाडौं । प्रहरी नायव महानिरीक्षक (डीआईजी) प्रमुख रहने प्रहरी कार्यालयहरु प्रहरी उपरीक्षक (एसपी)को कमाण्डमा चल्ने अवस्था आएपछि डीआईजी खटाइएको छ ।

डीआईजी प्रमुख हुने कार्यालय एसपीको भरमा चल्ने अवस्था आएपछि  सोमबार सााँझ काज र सरुवा गर्दै डीआईजीलाई जिम्मेवारी दिइएको हो ।

३० वर्षे सेवा अवधिका कारण १६ भदौमा नेपाल प्रहरीका ९० अधिकृत एकसाथ अवकाश भएका थिए । बागमती प्रदेश प्रहरी कार्यालयका प्रमुख डीआईजी विष्णुकुमार केसी र प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) रविकुमार पौडेल एकसाथ अवकाशमा गए ।

उनीहरु बिदा भएपछि बागमती प्रदेश प्रहरी कार्यालयको कमाण्ड एसपी दुर्गाराज रेग्मीले गरेका थिए  । जबकि बागमती प्रदेश मातहतका जिल्लाका प्रमुख समेत एसपीहरु छन् । केही जिल्ला प्रहरी प्रमुखहरु प्रदेश कार्यालयका निमित्त प्रमुख एसपी रेग्मीभन्दा पनि सिनियर छन् ।

यो अवस्था आएपछि सोमबार साँझ डीआईजी कृष्णहरि शर्मा पोखरेलले बागमती प्रदेश प्रहरीको डीआईजीमा सरुवा गरिएको छ । बागमती प्रदेशमा अझै एसएसपी भने रिक्त छ ।

त्यसैगरी काठमाडौं उपत्यका ट्राफिक कार्यालय रामशाह पथको प्रमुखमा डीआईजी रहने व्यवस्था छ । २१ असारसम्म ट्राफिक प्रमुखको रुपमा डीआईजी पोषराज पोखरेल थिए । उनी ५६ वर्षे उमेरहदका कारण अवकाश गएपछि निमित्त प्रमुखको रुपमा एसएसपी जीवनकुमार श्रेष्ठ थिए । उनी समेत १६ भदौमा ३० वर्षे सेवा अवधिका कारण अनिवार्य अवकाशमा गए । जसकारण उपत्यका ट्राफिक प्रहरी कार्यालयको निमित्त प्रमुखको जिम्मा एसपी विश्वराज खड्काले पाएका थिए । अहिले भने दुई महिनापछि डीआईजी भरतबहादुर बोहराको काज सरुवा गर्दै ट्राफिकमा पठाइएको छ ।

त्यसैगरी किरण राणालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयको प्रुखमा काज सरुवा गरिएको छ । रामदत्त जोशी एआईजीमा बढुवा भएपछि त्यहाँ एसएसपीले कमाण्ड गरेका थिए ।

अपराध अनुसन्धान कार्यालयका ३ पिलर डीएसपीविहीन

काठमाडौं उपत्यकाका तीन जिल्लाहरु (काठमाडौं, ललितपुर, भक्तपुर) मा हुने ठूला अपराधका घटनाहरु अनुसन्धान गर्ने जिम्मेवारी रहेको अपराध अनुसन्धान कार्यालयका तीन वटा पिलरहरू नै अहिले प्रमुखविहीन बनेका छन् ।

वैदेशिक रोजगारसम्बन्धी ठगीको अनुसन्धान गर्ने पिलरका प्रमुख गोविन्द पन्थी, डाँका चोरीको अनुसन्धान गर्ने पिलरका प्रमुख किरण न्यौपाने र प्रशासन शाखाका प्रमुख ऐनबहादुर मल्ल ३) वर्षे सेवा अवधिका कारण एक साथ अवकाशमा गएका छन् ।

‘अन्यको तुलनामा वैदेशिक रोजगारी सम्बन्धी ठगीको पिलरमा बढी चाप हुन्थ्यो । प्रमुख नहुँदा केही समस्या भएको छ’, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एक अधिकृतले भने ।

अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सानुराम भट्टराई अब हुने डीएसपी सरुवामा प्रमुखविहीन भएका पिलरमा पदपूर्ति हुने बताउँछन् ।

इन्सपेक्टर सरुवा भइसकेकाले अब जतिसक्दो छिटो डीएसपी सरुवा गर्ने तयारी हेडक्वार्टरको छ । छिटो सरुवा भएपछि साउनभरि लाग्न सक्ने भएकाले अझै १५ दिनसम्म पिलरहरु प्रमुखविहीन हुनसक्छन् ।

तर अपराध अनुसन्धान जस्तो संवेदनशील पिलरमा जतिसक्दो चाँडो डीएसपीहरु पठाउनुपर्ने अधिकृतहरु बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?