+
+

वडाअध्यक्ष यादवको मृत्युको घटना सीआईबीबाट अनुसन्धान गर्न माग

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ १८ गते ११:४२

१८ भदौ, काठमाडौं । विभिन्न दलका नेताहरुले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर महोत्तरीको रामगोपालपुर नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष मुकेश यादवको मृत्युबारे छानबिनका लागि सहयोग गर्न माग गरेका छन् ।

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जसपा नेपालका नेताहरुले अध्यक्ष प्रचण्डलाई आज बिहान सामूहिक रुपमा भेटेर ज्ञापनपत्र बुझाउँदै घटनाको सत्यतथ्य अनुसन्धानका लागि पहल गरिदिन माग गरेका हुन् ।

वडा अध्यक्ष यादवको गत भदौ ९ गते बर्दिबास नगरपालिका वडा नम्बर १२ को सडक छेउमा मोटरसाइकलसँगै शव फेला परेको थियो ।

भदौ ८ गते साँझ केही शंकास्पद व्यक्तिहरुले बोलाएको, घटनास्थल र शवको प्रकृति हेर्दा दुर्घटनाबाट मृत्यु भएको जस्तो नदेखिएको, पोष्टमार्टम रिपोर्टबाट टाउको र छातिमा चोट देखिएको, टाउको र छातिमा वजनदार वस्तुले प्रहार भएको पाइएको, मोटरसाइकलको हेल्मेटमा केही क्षति नभएको बरु हेल्मेट लकसहित निकालेर राखेको, मोटरसाइकल स्टार्ट बन्द गरिएको अवस्थामा भेटिएको आदि कारणले दुर्घटना नभई हत्या हुनसक्ने उनीहरुको भनाइ छ ।

शंकास्पद व्यक्तिलाई प्रहरीले सामान्य सोधपुछ गरेर छाडेको भन्दै उनीहरुले केन्द्रीय अनुसन्धान ब्यूरोबाटै छानविन हुनुपर्ने माग गरेका छन् ।

ज्ञापनपत्र बुझ्दै अध्यक्ष प्रचण्डले सो घटनालाई आफुले गम्भीर रूपमा लिएको बताए । तराई मधेश क्षेत्रमा रहेको सुरक्षा चुनौतीबारे जानकार रहेको भन्दै प्रचण्डले माओवादी केन्द्रबाट निर्वाचित वडा अध्यक्षको मृत्यु र तराईमा भैरहेका हत्या हिंसाका घटनालाई गम्भीरतापूर्वक लिएर निष्पक्ष छानबिनको निम्ति सरकारको ध्यानाकर्षण गराउने प्रतिबद्धता जनाए ।

सर्वदलीय डेलिगेसनमा माओवादी केन्द्रका नेता लीलामणि पोख्रेल, नेपाली कांग्रेसका नेता महेन्द्र कुमार राय, जसपा नेपालका नेता डा. सुरेन्द्र कुमार यादव, माओवादी केन्द्रका नेता भरत साह र मृतकका परिवारका सदस्य सहभागी थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?