+

मानसिक स्वास्थ्य समस्याको पहिचान र उपचार

२०८१ भदौ  १८ गते १५:३३ २०८१ भदौ १८ गते १५:३३
मानसिक स्वास्थ्य समस्याको पहिचान र उपचार

विश्व स्वास्थ्य संगठन अनुसार स्वस्थ मानिस भन्नाले कुनै पनि रोग लाग्नु वा अशक्त नहुनु मात्र नभई पूर्णरुपमा शारीरिक, मानसिक, आध्यात्मिक र सामाजिक स्वस्थताको गतिशील अवस्था हो ।

मानसिक स्वास्थ्य भन्नाले कुनै पनि व्यक्तिले आफ्नो क्षमतालाई पहिचान गर्न सक्ने, जीवनका सामान्य तनावलाई व्यवस्थापन गर्न सक्ने, उत्पादनशील ढंगले काम गरी आफ्नो समुदायमा योगदान दिन सक्षम रहने अवस्था भन्ने बुझिन्छ ।

मानसिक स्वास्थ्यमा समस्या के हो ?

मानसिक स्वास्थ्यमा समस्या भन्नाले मानिसको भावना, संवेग, विचार र व्यवहारमा आएको परिवर्तनले व्यक्ति आफू वा सम्बन्धित व्यक्ति वा दुवैलाई प्रभावित गर्दै व्यक्तिको सामाजिक तथा व्यावसायिक र पेशागत क्षेत्रमा नकारात्मक असर पर्ने अवस्था भन्ने बुझिन्छ ।

नेपालमा मानसिक स्वास्थ्यको विद्यमान अवस्था

राष्ट्रिय मानसिक स्वास्थ्य सर्वेक्षण-२०२० अनुसार नेपालमा १० प्रतिशत वयस्कमा आफ्नो जीवनकालको कुनै न कुनै समयमा र ४.३ प्रतिशत वयस्कमा हालको अवस्थामा मानसिक समस्या रहेको पाइएको छ । २.३ प्रतिशत वयस्कमा र ०.६ प्रतिशत किशोरकिशोरिमा उदासीनताको समस्या देखिएको छ ।

६.५ प्रतिशत वयस्कमा र ३.९ प्रतिशत किशोरकिशोरीमा हालको अवस्थामा आत्महत्याको सोच आउने गरेको पाइएको छ । एक प्रतिशत वयस्त र ०.७ प्रतिशत किशोरकिशोरीले आफ्नो जीवनकालमा आत्महत्याको प्रयास गरेको पाइएको छ ।

मानसिक स्वास्थ्यका सूचक

– अरुसँग सकारात्मक सम्बन्ध राख्न र निरन्तरता दिन सक्ने

– समय तथा वातावरण अनुसार अगाडि बढ्न सक्ने

– जीवनमा आइपर्ने सामान्य कठिनाइ तथा तनावलाई व्यवस्थापन गर्न सक्ने

– भावनात्मक रुपमा स्वस्थ रहने, विचलित नहुने

– क्षमता अनुसारको योजना बनाउन, समुदायमा उत्पादनशील कार्य गर्न, वास्तविक धरातलमा रहेर सोच विचार गर्न सक्ने

मानसिक समस्याका लक्षणहरु

व्यवहारिक

– बर्बराउनु

– समाजबाट टाढा रहनु

– आक्रामक व्यवहार देखाउनु

– सरसफाइमा ध्यान नदिनु

– टोलाउनु

शारीरिक

–  अत्यधिक थकान महसुस गर्नु

– दुब्लाउँदै जानु

– कमजोर वा शिथिल हुनु

– निद्रामा गडबडी

– खानामा रुचि घट्नु

सोचाइ

– निराशावादी सोच आउनु

– निर्णय गर्न नसक्नु

– आत्महत्या सम्बन्धी सोचाइ आउनु

– चिन्ता लागिरहनु

– स्मरण शक्तिमा ह्रास आउनु

भावना

– दुःखी महसुस गर्नु

– आत्तिनु, डराउनु

– आवश्यक भन्दा बढी खुसी महसुस गर्नु

– आफूलाई दोषी महसुस गर्नु

मानसिक स्वास्थ्यमा समस्या आए के गर्ने ?    

सहयोग खोज्नुहोस्  

तपाईंको भावना कुनै विश्वासपात्र साथी, परिवार सदस्य वा परामर्शदातासँग बाँड्नुहोस् । यस्तै मानसिक स्वास्थ्य सम्बन्धी विशेषज्ञ जस्तै मनोरोग विशेषज्ञ वा मनोवैज्ञानिकसँग कुरा गर्नुहोस् ।

यदि तुरुन्त सहयोग आवश्यक छ भने मानसिक स्वास्थ्य हेल्पलाइन वा संकट हेल्पलाइनमा सम्पर्क गर्नुहोस् । यी सेवा चौबीसै घण्टा उपलब्ध छन् । मानौं, आत्महत्या वा आत्महानिको सोच आएमा कुराकानी गर्न ११६६ मा फोन गर्न सकिन्छ ।

आफ्नो ख्याल राख्नुहोस्

पर्याप्त निद्रा, स्वस्थ र सन्तुलित खानपान, नियमित व्यायाम, ध्यान, योगले तनाव व्यवस्थापनमा मद्दत पुर्‍याउँछ ।

हानिकारक उपायहरूबाट जोगिनुहोस्

मादक पदार्थ, लागूऔषध वा अन्य कुनै हानिकारक पदार्थहरूको प्रयोग नगर्नुहोस्, जसले मानसिक स्वास्थ्यलाई थप बिगार्न सक्छ ।

आपतकालीन अवस्थामा

यदि कुनै व्यक्ति तुरुन्तै खतरामा छन् आपतकालीन सेवाहरूलाई कल गर्नुहोस् । आधिकारिक निकायको मद्दत आउने बेलासम्म व्यक्तिलाई एक्लै नराख्नुहोस् ।

पछि पनि ध्यान दिनुहोस्

संकटपछि, निरन्तर सहयोग दिनुहोस् वा खोज्नुहोस् र दीर्घकालीन उपचार गर्नुहोस् । मानसिक स्वास्थ्यलाई गम्भीरताका साथ लिनुहोस् र चाँडो सहयोग खोज्नुस् । यसले पुनर्स्थापनामा महत्वपूर्ण फरक पार्न सक्छ ।

डा. अनमोलबन्धु कार्की मानसिक स्वास्थ्य स्वास्थ्य
डा. अनमोलबन्धु कार्की
लेखक
डा. अनमोलबन्धु कार्की
टाउको, नसा तथा मानसिक रोग विशेषज्ञ

डा. कार्की भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेसका लेक्चरर समेत हुन् । उनको नेपाल मेडिकल काउन्सिल दर्ता नम्बर २२६१४ हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय