+
+
परिवारै नागरिकताविहीन :

बाजुराकी दुरपती सार्की सोध्छिन् : कसरी बन्छ नागरिकता ?

बाजुराको खप्तड छेडेदह गाउँपालिका–२ की ६४ वर्षीया दुरपती सार्की, उनकी २७ वर्षकी छोरी मना सार्की र २४ वर्षका छोरा तेज सार्कीले नागरिकता पाएका छैनन्। बाबुले अर्को विवाह गरेर परिवार छाडेपछि उनीहरू नागरिकताविहीन भएका हुन् ।

प्रकाश सिंह प्रकाश सिंह
२०८१ भदौ १८ गते १५:०७
बाजुराको खप्तड छेडेदह गाउँपालिका–२ बस्ने ६४ वर्षीया दुरपती सार्की, उनकी २७ वर्षकी छोरी मना र २४ वर्षका छोरा तेज सार्कीले नागरिकता पाएका छैनन् । तस्वीर : प्रकाश सिंह

बाजुरा, १८ भदौ । बाजुराको खप्तड छेडेदह गाउँपालिका–२ बस्ने ६४ वर्षीया दुरपती सार्कीको परिवारले नागरिकता नपाउँदा सरकारी सुविधालगायत सेवाबाट वञ्चित भएका छन् । दुरपती, उनकी २९ वर्षकी छोरी मना र २४ वर्षका छोरा तेज सार्कीले समेत नागरिकता पाउन सकेका छैनन् ।

दुरपतीको वृद्धभत्ता पाउने उमेर भइसकेको छ भने उनका छोरा तेज दृष्टिविहीन अपाङ्ग हुन् । उनले पनि नागरिकता वा अन्य कुनै प्रमाण नभएका कारण राज्यबाट पाउने सामाजिक सुरक्षा भत्ता लगायत सुविधाबाट वञ्चित भएको वडा अध्यक्ष भक्तबहादुर बुढाले बताए । आर्थिक अवस्था कमजोर रहेको यो परिवारले नागरिकताका लागि प्रयास गरेको भए पनि बनाउन सकेका छैनन् ।

दुरपतीले बझाङको खप्तड छान्ना गाउँपालिका–६ बिणा बस्ने मदन सार्कीसँग बिहे गरेकी थिइन् । श्रीमान्‌ले अर्को बिहे गरेपछि उनी बालबच्चा बोकेर १९ वर्षदेखि बाजुराको माइती घरमा बस्दै आएकी छन् ।

१९ वर्षदेखि श्रीमान् आफ्नो सम्पर्कमा नरहेको र अर्को बिहे गरेर उतै रहेको खबर मात्रै आफूले पाएको दुरपतीले बताइन् । नागरिकताका लागि उनी स्थानीय तहमा गइन् । त्यहाँ जाँदा पहिलो कुरा श्रीमान्‌को नागरिकता चाहिन्छ र अर्को बाजुरा जिल्लाबाट नागरिकता लिने भए बझाङ्गबाट बसाइँ सरेर आएको प्रमाण चाहिने भनेपछि यो परिवारको नागरिकता नबनेको हो ।

‘बिहे गरेपछि म माइतीमा आएर बसेकी छु, अनपढ भएकाले नागरिकता बनाउन कसरी के के गर्नुपर्छ भन्ने पनि थाहा छैन’ दुरपतीले भनिन्, ‘छोरा तेज ३ वर्षको हुँदा दादुरा रोगबाट ग्रसित भएपछि दृष्टिविहीन बनेका हुन् । उनी अहिले दुवै आँखा देख्दैनन् । आफ्नो नागरिकता नहुँदा छोराको जन्मदर्ता पनि छैन, नागरिकता पनि छैन । यसले गर्दा छोराले पाउने अपांग भत्ता पनि पाउन सकेको छैन ।’

भूमिहीन दुरपतीको परिवारसँग नागरिकता नहुँदा राज्यले दिने सेवाबाट वञ्चित छन् । दलितलाई लक्षित गरेर जनता आवास कार्यक्रम लागू भए पनि नागरिकता नभएका कारणले उनले त्यो सेवा पनि पाउन सकेकी छैनन् । यस्तै सरकारले दिने अन्य सहुलियतका कार्यक्रमबाट पनि उनी वञ्चित भएकी छन् ।

दुरपतीकी छोरी मनाले भनिन्, ‘म २७ वर्षकी भएँ । न चुनावमा भोट हाल्न पाउँछु न अरू सरकारी सेवा पाउँछु ।’

एकपटक आफूलाई माग्न आएको केटाले नागरिकता समेत नभएकी केटी भनेर फिर्ता गएपछि आफूलाई नराम्रो लागेको उनले बताइन् ।

अहिले दुरपती माइतीले दिएको सानो छाप्रोमा बस्दै आएकी छन् । माइतीको पनि जग्गा छैन, आफ्नो हुने कुरै भएन । त्यसैले उनले अरूकोमा काम गरेर परिवार पाल्ने गरेकी छिन् । उनले नागरिकता बनाउन सहयोग गर्न सबैलाई आग्रह गरेकी छिन् । खप्तड छेडेदह गाउँपालिका–२ का वडाअध्यक्ष भक्तबहादुर बुढाले उनलाई नागरिकता दिन पहल भए पनि अहिलेसम्म बनाउन नसकेको बताए ।

बाजुराका प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेलले यस बारेमा आफूलाई कुनै जानकारी नभएको बताए । उनले भने, ‘दुरपतीले बझाङ्गबाट नागरिकता बनाउनुपर्छ । नभए सम्बन्धविच्छेद र बसाइँसराइको प्रमाणपत्र ल्याएमा हामी पनि उनलाई सहयोग गर्न सक्छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?