+
+

बलात्कारका घटना रोक्न ‘देवी’ बहसको विषय बन्ने आशा छ : शिल्पा मास्के

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ १८ गते १५:५२

काठमाडौं । शुक्रबारदेखि प्रदर्शन हुन लागेको फिल्म ‘देवी’लाई लिएर अभिनेत्री शिल्पा मास्केको व्यस्तता  बढ्दो छ । उनी यो फिल्मकी सहनिर्मात्री समेत हुन् । फिल्मको प्रवर्द्धनदेखि रिलिजको चाँजोपाँचो मिलाउने जिम्मा उनको काँधमा छ ।

काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा उनले यो फिल्म बनाउनुको उद्देश्यबारे कुरा गरिन् । आफूसामु व्यावसायिक उद्देश्यले बनाइने फिल्ममा लगानी गर्ने विकल्प हुँदाहुँदै सामाजिक दायित्वका लागि यसअघि नभनिएको कथामा लगानी गरेको बताइन् । यो फिल्मले सरोकार निकायलाई समेत दबाब दिने शिल्पाको अपेक्षा छ ।

फिल्मको स्क्रिप्ट लिएर आफूहरु धे रैजना निर्माता कहाँ पुगेपनि उनीहरु लगानी गर्न इच्छुक नरहेको अनुभव भोगेको उनले सुनाइन् । ‘कोही पनि तयार नभएपनि म आफैं निर्माणमा जोडिएकी हुँ,’ शिल्पाले भनिन् ।

‘स्क्रिप्ट तयार भएपछि हामीले केही निर्मातालाई भेट्दा यति संवेदनशील विषय छ, कमर्सियल फिल्म होइन भनेर लगानी गर्न इच्छा देखाउनुभएन । मलाई चाहिं कन्टेन्टप्रति विश्वास भएकाले निर्माताको रुपमा अनुभव गर्न मन लाग्यो,’ उनले सम्झिइन् ।

निर्माताको जिम्मेवारी चुनौतीपूर्ण हुने शिल्पाको अनुभव छ । ‘निर्माता बन्नु गाह्रो काम हो । तर पहिलो अनुभव भएकाले धेरै सिक्न पाएँ,’ उनले भनिन् । निर्मात्रीको रुपमा फिल्म मेकिङलाई निरन्तरता दिन चाहन्छिन् ।

‘यतिबेला महिला केन्द्रित र कन्टेन्टमुखी फिल्म रुचाइन थालिएको छ,’ उनले भनिन्, ‘त्यसैले हामीले सामाजिक सन्देशका लागि फिल्म निर्माण गरौं । मेहनत गरेर राम्रो भए व्यापारिक रुपमा पनि सफल हुन्छ भन्ने हेतुले काम गरेका हौं । बलात्कारको घटना रोक्न वा न्यूनीकरणमा फिल्म ‘देवी बहसको विषय बन्नेछ भन्ने हाम्रो आशा छ ।’

पछिल्लो समय कन्टेन्ट र नारीप्रधान फिल्मलाई दर्शकले रुचाउन लागेको शिल्पाको ठम्याइ छ । यो फिल्ममा शिल्पाले बलात्कार घटनाको रिपोर्टिङ गर्न खटिएकी एक खोज पत्रकारको भूमिका निर्वाह गरेकी छन् ।

यो चरित्रमा डुब्न उनले महिला पत्रकार भृकुटी राईसँग सहकार्य गरिन् । उनको रिपोर्टिङको अनुभवमा आधारित रहेर शिल्पाले चरित्र निर्माण गरिन् । ती साथीको सहयोगमा आफूलाई चरित्रको निर्माणमा मद्दत मिलेको उनले बताइन् ।

सिनेमाले उठाएको विषयवस्तुमाथि धेरै अनुसन्धान गरिएको शिल्पाको दाबी छ । ‘सिनेमाको स्क्रिप्टमा बस्दा हामीले उठाएका विषयवस्तुहरु पोलिटिकली ठीक हुन्छ कि हुँदैन भनेर छलफल गर्‍यौं । बलात्कारको तथ्यांकदेखि पत्रपत्रिकामा आएका लगभग सबै आर्टिकल संकलन गरेर गहिरोसित अध्ययन गर्‍यौं,’ उनले भनिन्, ‘अनि मात्रै हामीले देवीलाई सत्य घटनाबाट प्रभावित सिनेमाको रुपमा काम गरेका हौं ।’

आफूहरुले फिल्म मार्फत महिला हिंसाविरुद्धको सन्देशलाई धेरै दर्शकसामु पुर्‍याउन खोजेको शिल्पा बताउँछिन् । तर फिल्म मार्फत दर्शकमाथि एजेण्डा लाद्न नखोजेको उनको तर्क छ । ‘आफ्नो विचार दर्शकलाई लाद्नेभन्दा पनि बहसको रुपमा यस्ता विषय उठ्नुपर्छ भन्ने हिसाबले निर्माण गरिएको हो,’ शिल्पाले भनिन् ।

क्राइम-थ्रिलर जनरामा निर्माण भएको यो फिल्मलाई सञ्जोग राईले निर्देशन गरेका हुन् । उनी आफैंमा फोटो पत्रकार समेत हुन् ।  फिल्मको कथालाई उनले अजय गौतमसँग मिलेर लेखेका छन् । एक्जिबिट स्टुडियोको प्रस्तुतिमा बनेको यो फिल्मले प्रदर्शनको लागि बाँसुरी फिल्म्ससँग सहकार्य गरेको छ ।

यो फिल्ममा गौरव पहारी, नाजिर हुसेन, टीका पहारी, प्रभाकर न्यौपाने, ध्रुव कोइराला, निरिक्षा घतानी, विशाल पहारी, निरु खड्का, जीवनजंग खड्का र विकास पन्तको अभिनय छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?