+
+

ममता काफ्ले प्रकरण : प्रमाण खोज्दै सिग्नल हिल पार्क पुग्यो प्रहरी

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ १८ गते १९:०७

१८ भदौ, काठमाडौं । अमेरिकाको भजिर्नियाबाट बेपत्ता ममता काफ्ले भट्टबारे अनुसन्धान गरिरहेको मनसास पार्क प्रहरीको टोलीले ‘सिग्नल हिल पार्क’मा सर्च अपरेसन चलाएको छ ।

उनका श्रीमान् नरेश भट्टलाई नियन्त्रणमा लिएर सुरु गरेको अनुसन्धानले प्रहरीलाई त्यहाँसम्म पुर्‍याएको मनसास पार्क प्रहरी प्रमुख मारियो लुगोले बताएका छन् ।

‘त्यहाँबाट केही चिजहरु संकलन गरिएका छन् र ती विषयहरु यो अनुसन्धानसँग जोडिने किसिमका हुन् वा होइनन् भन्ने विषयमा जाँच भइरहेको छ’, उनले इन्साइड नोभा डटकमको इमेल जिज्ञासामा भनेका छन् ।

नरेश र ममता बस्ने घरबाट दुई माइलको दूरीमा रहेको सिग्नल हिल पार्कमा सर्च गरिरहँदा काफ्लेलाई न्याय माग्दै समर्थकहरुले शान्तिपूर्ण प्रदर्शन समेत गरेका थिए । ममताका साथी, सहकर्मी र अधिकारकर्मीले पार्क बाहिर ममतालाई न्याय माग गर्दै प्ले कार्ड बोकेर बसेका थिए ।

ममताका एक जना साथीले प्रहरीलाई उधृत गर्दै केही प्रमाण संकलन भएको उल्लेख गरेका छन् । ‘मैले एक जना डिटेक्टिभसँग कुरा गरेको थिएँ, उनले एकदमै गहिरो अनुसन्धान भइरहेको भन्दै मलाई आश्वस्त पारेका थिए’, उनले भनेका छन्, ‘सिग्नल हिल पार्कको सर्च सकिएको छ र केही प्रमाण संकलन भएकोमा आशावादी छु, त्यसलाई जाँच गर्न केही समय लाग्छ ।’

उनले प्रहरीले यो मामिलामा दिनरात नभनी अनुसन्धान गरिरहेको भन्दै चााडै नतिजा आउने बताएका छन् । ममता १५ साउनबाट सम्पर्कविहीन भएकी थिइन् भने घरमा धेरै रगत बगेकोसहितका तथ्यहरु फेला परेपछि मनसास पार्क प्रहरीले ७ भदौमा नरेशलाई पक्राउ गरेको थियो ।

नरेशलाई पक्राउ गरेर लैजाँदा मनसास प्रहरीका अधिकारीहरुले घरबाट कार्पेट पनि लगेका थिए । अदालतमा भएको सुनवाइका क्रममा अभियोजक तर्फका वकिलहरुले गरेको बहस अनुसार, ममता जीवित नभएको प्रहरी निष्कर्ष छ ।

कोठाभित्र झगडापछि रगक्ताम्मे भएको शरीरलाई बाथरुमसम्म घिसारेर लगेको हुनसक्ने अधिकृतहरुको आशंका छ । अहिले सार्वजनिक भएको कोठा र बाथरुमका तस्वीरहरुले पनि त्यो शंकालाई बल पुर्‍याएको छ ।

अधिकृतहरुले कोठामा रगत भए नभएको पहिचान गर्न ब्लूस्टार प्रविधि प्रयोग गरेका थिए, त्यसअनुसार, रगत भएको स्थानमा अँध्यारो पारेर हेर्दा निलो रंग देखिन्थ्यो । यसरी जाँच गर्दा जति रगतको मात्रा देखिएको छ, त्यसको आधारमा उनी जीवित हुने सम्भावना नरहेको अधिकृतहरुले बताएका थिए ।

तर, भट्ट पक्षका वकिलहरुले भने शरीरबिनै गम्भीर अभियोग लगाइएको भन्दै उनलाई धरौटीमा छाड्न माग गरेका थिए । अभियोजकतर्फका वकिलहरुको बहस सुनेपछि नरेश समाजका लागि खतरा हुनसक्ने भन्दै अदालतले उनलाई थुनामा राख्ने आदेश दिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?