+

त्रिवि क्रिकेट मैदानको बाउन्ड्री बढ्यो, फ्लडलाइट जडान कहिले ?

२०८१ भदौ  १८ गते १९:५७ २०८१ भदौ १८ गते १९:५७
त्रिवि क्रिकेट मैदानको बाउन्ड्री बढ्यो, फ्लडलाइट जडान कहिले ?

१८ भदौ, काठमाडौं । त्रिवि क्रिकेट मैदान, कीर्तिपुरको बाउन्ड्री बढ्ने भएको छ । गत जेठ पहिलो सातादेखि मैदान स्तरोन्नति चलिरहेको छ । त्यसक्रममा मैदानमा भएको तारको जाली सारिएको छ ।

‘ठाउँ अनुसार तारबार परिवर्तन गरेका छौं । केही ठाउँमा १० देखि २० फिटसम्मै सारिएको थियो’, त्रिवि क्रिकेट मैदानका प्रमुख क्युरेटर मधु थोकरले भने, ‘अब दुई–तीन यार्ड बाउन्ड्री बढ्नेछ ।’

चोभार र कीर्तिपुर साइडतर्फ बाउन्ड्री धेरै बढ्नेछ । किनभने त्यो क्षेत्रको तार दर्शक बस्ने ठाउँमै पुर्‍याइएको छ ।

त्रिवि क्रिकेट मैदानमा ८ वटा पिच छन् । तार सार्नुअघि सेन्टर विकेटबाट ७० र अन्यबाट ५५ मिटर बाउन्ड्री हुने गर्दथ्यो । अन्तर्राष्ट्रिय मैदानमा त्रिवि मैदान छोटो बाउन्ड्रीको रुपमा चिनिन्थ्यो ।

अब थोरै भए पनि बाउन्ड्री बढ्नेछ । ‘हामीले ६ इन्च जति खनेर पिचमा माटो हालेका थियौं । घास रोप्न १५/२० दिन जति लाग्यो । त्यसपछि बाहिर नेटमा अभ्यास विकेट बनाउन हामीलाई दुई महिना जति लाग्यो’, मधुले भने ।

बलरको रनअप गर्ने ठाउँ केही ओरालो थियो, यस पटक माटो हालेर सन्तुलन मिलाउने काम भइरहेको छ । गतवर्ष युएईबाट मूलपानी मैदान बनाउन ल्याएको दुबो बलरले रनअप गर्ने ठाउँमा रोपिएको छ । साइड स्क्रिन पनि सर्नेछ ।

अभ्यास नेटमा पिच निर्माण पनि भएको छ । माटोकै चार नयाँ नेटमा पिच बनेका छन् ।

डिजिटल स्कोर बोर्डको भवन निर्माण अन्तिम चरणमा पुगेको छ । त्यस्तै फ्यानका लागि चार क्षेत्र छुट्याइएको छ । दर्शक बस्ने ठाउँमा बीच बीचबाट तारको जाली लगाउँदै जोन छुट्याइएको हो ।

फ्लडलाइटको छैन सुरसार

तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले २०७९ चैतमा कीर्तिपुरमा फ्लड लाइट राख्न निर्देशन दिएका थिए । राष्ट्रिय खेदकुद परिषद् (राखेप)ले दुई पटक टेण्डर पनि आह्वान गर्‍यो, तर काम अगाडि बढेको छैन ।

३१ असारमा केपी शर्मा ओली नेतृत्वको सरकारको पहिलो बैठकले ३०० दिनमा त्रिवि क्रिकेट मैदानमा प्याराफिट,फ्लडलाइट जडान लगायत आवश्यक संरचना बनाउने निर्णय गर्‍यो । तर अहिलेसम्म पनि काम सुरु भएको छैन ।

क्यानका प्रवक्ता छुम्बी लामाका अनुसार यसबारे सम्पूर्ण काम सरकारी निकायले नै हेरिरहेको छ । ‘क्यानलाई काम गर्न भनिएको छैन । हामी दुई तीन पटक बैठकमा गएका छौंं, सम्बन्धित निकायले काम गरेका छन्’ उनले भनेका छन् ।

क्यान स्रोतका अनुसार मन्त्रिपरिषद् कार्यालयल सम्पूर्ण जिम्मा शहरी विकास मन्त्रालयलाई दिइएको छ । मन्त्रालयले तीव्र गतिमा काम गर्दा पनि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) बनाउनकै लागि कम्तीमा ४ महिना लाग्ने छ ।

तस्वीर र भिडियो : आर्यन धिमाल/अनलाइनखबर

क्रिकेट त्रिवि क्रिकेट मैदान
लेखक
भुपेन्द्र जि.सी.
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय