+

पाकिस्तानविरुद्ध बंगलादेशलाई ऐतिहासिक सिरिज

२०८१ भदौ  १८ गते १९:४५ २०८१ भदौ १८ गते १९:४५
पाकिस्तानविरुद्ध बंगलादेशलाई ऐतिहासिक सिरिज

१८ भदौ, काठमाडौं । विकेटकिपर लिटन दास र स्पिनर मेहेदी हसन मिराजको उत्कृष्ट प्रदर्शनमा बंगलादेशले पहिलो पटक पाकिस्तानविरुद्ध टेस्ट सिरिज जितेको छ ।मंगलबार घरेलु टोली पाकिस्तानलाई दोस्रो टेस्ट खेलमा ६ विकेटले हराउँदै सिरिजमा क्लिनस्विपका साथ बंगलादेशले इतिहास रचेको हो ।

१८५ रनको लक्ष्य पछ्याएको बंगलादेशले पाँचौं तथा अन्तिम ५६ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्‍यो। बंगलादेशका ओपनर जकिर हसनले ४०, कप्तान नाज्मुल हसन सान्टोले ३८ र मोमिनुल हकले ३४ रनको योगदान दिए । पाकिस्तानका मिर हाम्जा, खुर्राम शाहजाद, अब्रार अहमद र सलमान अघाले १-१ विकेट लिए ।

त्यसअघि पाकिस्तान दोस्रो इनिङमा १७२ रनमा अल आउट भएको थियो । पहिलो इनिङमा १२ रनको अग्रता हुँदा समग्रमा बंगलालदेशलाई १८५ रनको लक्ष्य दिएको थियो । पाकिस्तानका मोहम्मद रिजवान ४३, सलमान अघा ४७ र बाबर आजम ११ रनमा आउट भए । बंगलादेशका हसन मोहम्मद ५ र नहिद रानाले ४ विकेट लिए ।

पहिलो इनिङमा बंगलादेश २६२ रनमा अल आउट भएको थियो । विकेटकिपर लिटन दासले २२८ बलमा १३ चौका र ४ छक्कासहित १३८ रनको शतकीय इनिङ खेलेका थिए ।

एक समय २६–६ को दयनीय अवस्थामा पुगेको बंगलादेशलाई सातौं विकेटका लागि मेहेदी हसन मिराज र दासले १६५ रनको साझेदारी गर्दै खेलमा फर्काएका थिए ।

मेहेदी हसन मिराजले १२४ बलमा १२ चौका र १ छक्कासहित ७८ रन बनाए । पाकिस्तानका खुर्राम शाहजादले ६, मिर हाम्जा र सलमान अघाले २–२ विकेट लिएका थिए ।

रावलपिंडी क्रिकेट रंगशालामा टस हारेर पहिला ब्याटिङ गर्दै पाकिस्तान २७४ रनमा अल आउट भएको थियो । पाकिस्तानका सैम अयुब ५८, शन मकसुद ५७, सलमान अघा ५४, बाबर आजम ३१ र मोहम्मद रिजवान २९ रन बनाएका थिए ।

बंगलादेशका मेहेदी हसन मिराजले ५ र तस्किन अहमदले ३ विकेट लिएका थिए । पहिलो टेस्ट खेलमा बंगलादेश १० विकेटले विजयी भएको थियो । पाकिस्तानविरुद्ध टेस्ट इतिहासमा त्यो बंगलादेशको पहिलो जित थियो ।

टेस्ट सिरिज पाकिस्तान बंगलादेश
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय