+
+
किताबका कुरा :

‘रूदाने’ वरिपरि रुमल्लिंदा

विष्णुप्रसाद आचार्य विष्णुप्रसाद आचार्य
२०८१ भदौ १९ गते ९:४२

फ्रेञ्च दार्शनिक क्लाउडेले भनेका छन् कि पुस्तक पढ्नबाट वञ्चित राख्नु भनेको त्यस समाजका नागरिकहरूलाई मूर्ख वा दास घोषित गर्नु हो । जर्ज बर्नार्ड शाले भने अनुसार विचारहरूको युद्धमा पुस्तक अस्त्र बराबर हुन्छ । आजका पुस्तकहरू भोलिका इतिहास हुन् र हिजोका घटनाहरू आजका पुस्तक तथा भोलिका अन्वेषण सामग्री पनि हुन् । यी सन्दर्भहरू रूपचन्द्र विष्टका जीवनका परिघटनाहरू समेटेर लेखिएको पुस्तकका सन्दर्भमा सार्थक छन् किनकि रूपचन्द्र जस्ता जनताका सेवक र उनले लिएका विचार र दर्शनलाई भोलिका पुस्तासम्म जीवित राख्न यस्ता पुस्तकहरू महत्वपूर्ण अस्त्र हुनसक्छ र स्वर्णिम इतिहासको अभिलेखन पनि ।

‘भर्खरसम्म मलाई फुर्सद थियो, तिम्रो राजालाई समय भएन । अहिले तिम्रो राजाले फुर्सद पाए, मसँग समय छैन’-राजालाई यही कुरा सुनाइदेऊ भनेर पञ्चायतको उत्कर्षमा तत्कालीन राजा वीरेन्द्रलाई सन्देश पठाउन सक्ने व्यक्ति अरू कोही नभएर मकवानपुरबाट निर्वाचित राष्ट्रिय पञ्चायतका सदस्य रूपचन्द्र बिष्ट थिए जसलाई धेरैले सम्झने र बोलाउने नाम रूपचन थियो ।

उनै रूपचनको जीवनका अनेक पाटो सँगालेर साहित्यकार तथा नाट्यकर्मी टंक चौलागाईंले ‘रूदाने’ नामक पुस्तक भर्खर बजारमा ल्याएका छन् । यी हरफ उक्त किताबकै अंश हुन्, यी र यस्ता सयौं प्रसङ्ग समेटेर तयार यो पुस्तक साङ्ग्रिला बुक्सले प्रकाशन गरेको हो । कुल ४०८ पेजको यो पुस्तक ११८ शीर्षक र उप-शीर्षकमा संरचित छ ।

रूपचनले आफूलाई परिस्थिति र आवश्यकता अनुसार जसरू (जनमुखी सहकर्मी रूपचन्द्र बिष्ट), रूदाने (रूपचन्द्र दामन नेपाल), रापसरू (राष्ट्रिय पंचायत सदस्य रूपचन्द्र) लगायत अन्य छोटा नामबाट परिचित गराउँथे । यी नाममध्ये लेखकले रूदानेको नाममा पुस्तक प्रकाशन गरेका छन् । रूपचनका अधिकांश राजनीतिक र विकासे गतिविधि दामन, पालुङलाई आधार बनाएर गरेको हुनाले यो नाम छानेको हुन सक्छ ।

रूपचन्द्र बिष्टको निधन भएको २५ वर्षपछि यस्तो पुस्तक पहिलो पटक बजारमा आएको छ । योभन्दा अघिल्लो थाहा अध्ययन केन्द्रले प्रकाशन गरेको पुस्तकमा उनको जीवनी, लेख, कविता, नारा, राष्ट्रिय पञ्चायतमा बोलेका भाषणको अंश, अन्तर्वार्ता र अन्य व्यक्तिको अनुभूति समेटिएको थियो ।

पुस्तक आफ्नो प्रिय साथी, नयाँ पुस्तक बजारमा आउनासाथ किन्ने रहर पलाउँछ । त्यसमाथि पनि आफूलाई मनपर्ने मान्छेका बारेमा निस्केको पुस्तक पढ्ने हुटहुटी हुनु स्वाभाविक हो । त्यसैले ‘रूदाने’ आउनासाथ किनेर पढ्न सुरु गरें ।

उनीसँगको मेरो सम्बन्ध पनि घाम-छाया जस्तै छ । कहिले समर्थक र कहिले प्रतिरोधी र फेरि उच्च सम्मान र श्रद्धा । मान्छेको मन पनि विचित्र छ । स्वभावले हक्की, विद्रोही जो सधैं छाप्रे र गरिबका पक्षमा सतिसाल झैं उभिए तिनीप्रतिको अटल श्रद्धा नै हो । उनी मेरा मन पर्ने पात्र (मृत्युपश्चात् अझ धेरै मन परेका) हुन् । दोस्रो, उनलाई प्रत्यक्ष देखेको, सुनेको, पढेको, २०४३ सालको चुनावमा उनको प्रचारमा हिंडेको तर २०४८ को चुनावमा उनको विपक्षमा भोट माग्दै हिंडेको र पछिल्लो समयमा उनको जनमुखी अभियानको ठाडो समर्थक हुनाले पनि पुस्तकमा के छ भन्ने कुराले मलाई लगातार तानिरह्यो ।

तेस्रो कुरा, उनको जनमुखी अभियानलाई अहिलेको सन्दर्भमा कसरी अझ नयाँ र प्रभावकारी प्रयोग गर्न सकिन्छ भन्ने विचार पुस्तकमा छ कि भन्ने नजानिंदो लोभले पनि म पुस्तकको भोकले आतुर थिएँ । किताबको बारेमा लेख्न बस्दा उनीप्रति ज्यादा आग्रही बन्छु कि भन्ने डर पनि छ र सँगै किताबका कुराभन्दा उनको कुरा पो बढी लेख्छु कि भन्ने डर अवचेतन मनमा बाँकी छ । तसर्थ मैले यहाँ रूदानेको बारेमा आफ्नो बुझाइभन्दा पुस्तकले रूदानेको बारेमा बोलेका कुरा लेख्ने प्रयत्न गरेको छु । बहकिएछु भने उनीप्रतिको सम्मान हो भनेर बुझ्न पाठकलाई सुरुमै विनीत आग्रह छ ।

सरल र सलल

पुस्तकमा रूपचन्द्र बिष्टका जीवनका आरोह-अवरोहका पाटाहरूलाई केलाइएको छ । यहाँ बाल्यकाल, विद्यालयकाल, युवाकाल, विद्रोहको पर्याय, चेतना जगाउने काल, प्रकृति प्रेम, पर्या-पर्यटन, शिक्षा काल, स्वअध्ययन, राजनीतिको उर्वर समय, ओरालो राजनीतिक यात्रा, कमजोर स्वास्थ्य, घोर निराशा र जीवनको अन्त्य विभिन्न कालखण्ड र अनेक पाटोलाई सविस्तार व्याख्या गरिएको छ । रूपचनलाई नचिन्ने वा उनको बारेमा थाहा नहुनेलाई त यसले खुराक दिने नै भयो, रूपचनलाई चिन्ने वा जान्नेलाई समेत यसले थुप्रै नयाँ घटना र उनका भोगाइहरू अवगत गराउँछ ।

विस्मृतिमा जाँदै गरेका रूपचनलाई फेरि एकपटक सम्झाउन वा पुनर्ताजगी गर्न लेखक सफल भएका छन् । लेखकले घटना र प्रसङ्गलाई अत्यन्त सरल र सहज भाषिक प्रस्तुतिमा बगाएका छन् । यो लेखकको पहिलो सफलता हो ।

रूपचन आफैंमा एउटा खुल्ला किताब हुन्, उनलाई र उनका सारा कुरा एउटा पुस्तकमा उतार्न सम्भव छैन र यो अपेक्षा कुनै पनि लेखक तथा पाठकले गर्नुहुँदैन । यसमा लेखकका आफ्ना बाध्यता पनि होलान् तर जसलाई उनले जीवनको एक महत्वपूर्ण दर्शन बनाए कम्तीमा त्यो चाहिं नछुटेको भए राम्रो हुन्थ्यो

लेखकले रूपचनको तीनवटा पक्षलाई महत्व दिएर विशेष अभिलेखन गरेका छन् । पहिलो गरिब र छाप्रे, मजदुर, किसानलाई साना तर प्रभावकारी र ठाडो उदाहरण दिएर सम्झाउने-बुझाउने क्षमताशील विद्रोही नेता ।

दोस्रोः नयाँ, नयाँ कुरा सोच्ने र त्यो सोच अनुसारको रचनात्मक प्रयोग गर्ने वैचारिक क्षमता र दार्शनिक चेत भएका व्यक्तित्व र तेस्रोः आफूले आँटेको र सोचेको काममा अरूलाई लगाउने वा अर्ति उपदेश आदेश दिने होइन आफैं मोर्चाको अग्रणी भागमा उभिएर कामको नेतृत्व गर्दै अरूलाई पनि सो अभियानमा समेट्न सक्ने कुशल नेतृत्व ।

किताबभित्र छिर्दा पटक-पटक म सरुभक्तको ‘पागलबस्ती’ उपन्यासको मूलपात्र प्रशान्त (आदिगुरु) सँग रूपचनलाई तुलना गर्न पुगेको हुन्छु भने कहिले हिन्दी सिनेमा क्रान्तिवीरको नायकले बोल्ने र जनतालाई सम्झाउने तरिकामा कल्पिन पुग्छु । यो स्वैरकाल्पनिक उपन्यास होइन तर आशीर्वाद र खल्तीबाट बनेका नेतृत्वहरूलाई लाग्दो हो यति कहरपूर्ण सङ्घर्षबाट नेता बन्नुपरेको कथा स्वप्निल वा काल्पनिक हो ।

जस्ताको तस्तै

रूपचनले बोल्ने झर्रो भाषालाई लेखकले कुनै मिसावट नगरिकन जस्ताको तस्तै उतार्ने प्रयत्न गरेका छन् । धेरैलार्ई तँलाई भाते कुकुर भन्ने गर्थे त्यो दुरुस्त प्रयोग भएको छ । मन नपरेको परेको विषयलाई जोड गरेर भन्दा यसो नगरेको बेस वा गरेको बेस भन्ने कुरालाई अधिकांश स्थानमा प्रयोग गरिएको छ ।

उनी कहिले कहिले शरीरमा बल बढी हुँदा साढे (गोरु) सँग जुधेर पसिना फ्याल्ने, बल निकाल्ने गर्थे । बल र बुद्धिलाई मिलान गर्ने उनको सुन्दा पनि उदेक लाग्ने तौरतरिका थिए । बल ज्यादा भए मूर्ख बनिन्छ र कम भए दुनियाँले हेप्छन् भन्ने पनि सोच होला ।

उनी उत्पीडित र हेपिएकाहरूलाई मूलधारमा ल्याउन अग्रसर थिए । आफ्ना कार्यक्रममा चेपाङलाई सभापति बनाएर ऊ भित्र सुतेको मानवीय चेत जगाउने प्रयास गर्थे र उनीहरूलाई राजनैतिक सचेतता दिन अभ्यासरत थिए ।

उनी बालबालिकालाई उत्तिकै महत्व दिन्थे र उनका अभियानमा बालबालिकासँग सहकार्य गर्थे । गौरी नामक कुनै बालिकालाई कार्यक्रमको सभापति राखेर कलिला मनमस्तिष्कमा विद्रोह र परिवर्तनको बीउ रोप्न चाहन्थे भन्ने तथ्यलाई पुस्तकले उल्लेख गरेको छ । भतिज रणसङ्ग्राम बिष्टलाई जापान जाने कोटामा गरिएको सिफारिसमा उनले स्पष्ट ढङ्गले हाम्रालाई होइन राम्रालाई मौका दिनु भनेर दिएको सन्देश समावेश छ ।

रानीलाई दिएको शुभकामना सन्देशमा उनले मान्छे कुल, गोत्र, वर्गले वा कसैका श्रीमती वा श्रीमान् हुँदैमा ठूला मान्छे हुँदैनन् भन्ने वाक्यांश उल्लेख गरेर तीव्र कलात्मक व्यङ्ग्य गरेका थिए । हक्की, निर्भय र निष्पक्ष थिए भन्ने तथ्यलाई पुस्तकले ससम्मान उद्धृत गरेको छ । सोभियत संघको भ्रमण पछि देखेको रूसभन्दा पढेको रूस राम्रो भनेर आफ्नो स्पष्ट कुरा राखेको देखिन्छ । यसको अर्थ उनी सोभियत रूसको शासन सत्ताको सैद्धान्तिकी र व्यवहारमा भिन्नता पाएका थिए र असन्तुष्ट थिए भन्ने विषय पनि पुस्तकमा उप्काइएको छ ।

जनकल्याण माध्यमिक विद्यालयको प्रधानाध्यापक हुँदा उनले गरेका सत्प्रयासका प्रसङ्ग, ढुङ्गा जम्मा गरेर विद्यालय बनाउँदाका घटनाहरू, खेतालापत्र, नारी शिक्षा, मातृ शिक्षा आदिका उनका शैक्षिक र जनमुखी जागरण अभियानहरूको पुस्तकमा खुलेर प्रशंसा गरिएको छ । बिहान नपढाउनेले दिउँसो पढाऔं भनेर गाउँगाउँ बस्ती-बस्ती गएर केटाकेटी नपढाउने बाउ-आमा मुर्दावाद, केटाकेटी बिग्रे बाबुआमा दोषी भन्दै चेतनाको लहर फिजाएका उनका सत्कार्य र जागरणको पुस्तकमा खुलेर प्रशंसा तथा चर्चा गरिएको छ ।

राजनीतिका उतारचढाव

रूपचन प्रधानपञ्च पनि भए । उनको प्रधानपञ्च काल पनि चर्चामय थियो । जनमुखी अभियान, पालुङ विकास समिति (पाविस) को परिकल्पना, विकास घरको निर्माण, विकास कर (आलु र तरकारीमा लगाइएको कर) देख्दा सामान्य लाग्ने तर महत्व झल्किने कार्य रूपचनले गरेका थिए । उनका तिनै जनमुखी कार्यहरूको पुस्तकमा चर्चा गरिएको छ ।

दामन भ्यु टावरबाट देखिने हिमशृङ्खला र तारामण्डलको अध्ययन तथा प्रकृतिप्रतिको स्वअध्ययन रूपचनले आफैं गरेका र अरूलाई पनि गर्न अभिप्रेरित गरेको चर्चा पुस्तकमा पाइन्छ

रूपचन दुई-दुई पटकसम्म मकवानपुरबाट राष्ट्रिय पञ्चायत सदस्यमा निर्वाचित भएका थिए । चुनावी अभियानमा उनले भोट मात्रै मागेनन् जागरणका अनेक कार्यक्रमहरू पनि लिएर गएका थिए । त्यसको लागि गरिएको जनमुखी अभियानको पुस्तकमा चर्चा गरिएको छ । उनी पञ्चभेला र राष्ट्रिय पञ्चायतको बैठकमा पनि उतिबेलाको व्यवस्थामा देखिएका खराबीहरूको उछित्तो काढ्दथे र काला कानुनहरू सच्याउन निर्भीकतापूर्वक बोल्थे ।

त्यसैले माननीय भएकै समयमा ६ महिना थुनामा परेको र त्यो समयमा जेलमा रहनुभएका हाल नेकपा एमालेका अध्यक्ष केपी ओलीसँग भेट भएको प्रसङ्ग पनि पुस्तकमा समेटिएको छ । रूपचन राजनीतिमा सक्रिय रहँदाको अवस्थामा कम्युनिस्ट पार्टीका नेता पुष्पलाल, निर्मल लामा, स्वनाम साथी, शम्भुराम श्रेष्ठसँगको नियमित सम्पर्क र सहकार्यका विषयवस्तु पनि यसभित्र आएका छन् ।

राष्ट्रिय पञ्चायतमा रहँदा रुद्र गिरीको मुक्काको प्रसङ्ग, सूर्यबहादुर थापा, लोकेन्द्रबहादुर चन्द र मरिचमान सिंह लगायत अन्य पञ्चायतका नेतासँग भएका अनेक प्रकारका राजनीतिक घोचपेच, बहसलाई केन्द्रमा राखेर मसिनोसँग अलिखित परिघटनाहरूका पटाक्षेप गरिएका छन् । यसभित्रका यस्ता घटना र सन्दर्भ पढेपछि पाठकलाई लाग्छ रूपचनले त्यो समय कसैलाई पनि आलोचना गर्न छाडेका रहेनछन् । बीपीले भने जस्तै उनी ठूला मान्छे हुन चाहेनन् र असल मात्र बन्न चाहिरहे त्यसैले उनले आफूलाई माननीय वा अरू कुनै नामले पुकार्नु भन्दा रूपचन्द्र नै भन्न बेस मानेका छन् र त्यसै भन्न आग्रह गरेको दृष्टान्त पनि पुस्तकमा उल्लेख छ ।

कडा मात्र होइन भावुक पनि थिए रूपचन

रूपचन बाहिरबाट हेर्दा कडा मिजासका रुखो र टर्रो मान्छे थिए कि भन्ने पनि पर्छ । उनका आवरणका क्रियाकलापहरूले त्यो भनाइलाई पुष्टि गरिरहेको छ । किताब पढ्ने र उनलाई सुन्ने-बुझ्ने सबैलाई महसुस हुने कुरा चाहिं उनको कठोरता नै हो । उनीभित्र कठोरता बाहेक दयालु, भावुक रूपचन पनि थियो । कडापन र दयालुपन फरक-फरक स्थानमा फरक ढंगले पोख्न सक्थे रूपचन । उनी अत्यन्त भावुक पनि थिए भनेर देखाउन लेखक सफल छन् । रूपचनकै भाषामा उनी दुस्मन (सामन्ती, शोषक, ठालु, गरिबमारा र शोषकका मतियार) प्रति अत्यन्त कठोर र आक्रामक देखिन्छन् भने मूलतः छाप्रे र गरिबप्रति अत्यन्त दयालु र भावुक थिए भनेर लेखकले देखाएका छन् ।

गरिब, छाप्रेको दुःख देख्दा कैयौं स्थानमा अत्यन्त भावुक भएको प्रसङ्ग छ । शोषकप्रति मात्र होइन आफ्नो परिवारका अधिकांश सदस्यको विरुद्ध पनि प्रतिरोधमा उत्रिएका छन् तर भाइ गुणचन्द्र, बैनी गीता अनि आमाप्रति असाध्यै कोमल र भावुक बनेको पटक-पटक उल्लेख गरिएको छ । यसैगरी जनमुखी अभियानमा संलग्न आफ्ना भतिज रणसंग्राम, भुवन बिष्ट लगायतसँगको सम्बन्ध भने सकारात्मक र सुमधुर देखिन्छ ।

आमाको मृत्युपछि “आमा नभएपछि धेरै कुराको अभाव थियो, अभाव थियो प्रेमको, अभाव थियो सहमतिको, अभाव थियो मुस्कानको, अभाव थियो मिलिजुलीको, आमा विना अभावै अभाव” भनेर भावविह्वल देखिएका विषयलाई पुस्तकमा उनको कोमलता र भावुकताको सन्दर्भमा चर्चा गरिएको छ ।

आरम्भदेखि अन्तिमसम्म विद्रोही

पुस्तकमा रूदानेका बाल्यकालका बालसुलभ क्रियाकलापको अलावा जिज्ञासा, कल्पनाशीलता र विद्रोही चेतका अनेक प्रसङ्ग लेखकले उल्लेख गरेका छन् । मर्निङ शो द डेज भने जस्तै सानैबाट उनमा देखिएको एउटा प्रस्ट कुरा चाहिं क्रान्तिचेत र यथास्थिति भत्काउने विद्रोह हो । बाल्यकालमा घरका दिदीबहिनी, ठूलीआमामाथि घरको काममा हुने असमानतामा उनले सुरुबाटै प्रखर विरोधको स्वर उठाएको देखिन्छ भने विद्यालय, युवाकालमा र पछि राजनीतिक रूपले सचेत रहँदा र सचेतनाको अवस्थामा त त्यो विद्रोह शिखरमा नै पुगेको देखिन्छ ।

यो अवस्था अत्यन्त खराब स्वास्थ्य रहँदा जीवनको अन्त्य कालसम्म पनि कायम देखिन्छ । उनलाई तत्कालीन प्रधानमन्त्री मरिचमानको पालामा पटक-पटक मन्त्रीको लागि आग्रह आउँदा पनि यो गरिबमारा, मुलुकमारा सरकारमा जनमुखी प्रतिनिधि मन्त्री बन्न मिल्दैन भनेर अस्वीकार गरेका छन् । केवल एकथान मन्त्रीको लागि रातारात पार्टी नै फोड्ने जमात देखेका हामीलाई यो कुरा अविश्वसनीय लाग्न सक्छ तर यथार्थ यही थियो जुन कुरा लेखकले देखाएका छन् । उनी पद-प्रतिष्ठा, धन र मानको मोहमा कहिल्यै फसेनन् र अविचल निष्ठाको धरोहर बनेर सतिसाल जस्तै उभिइरहे ।

अद्भुत प्रकृतिप्रेम र स्वअध्ययन

रूपचनको प्रकृतिप्रतिको प्रेमसमर्पण, विषयविज्ञता र नयाँ कुरा सिक्न सिकाउन चाहने प्रवृत्तिको पुस्तकमा अत्यन्त कलात्मक र लोभलाग्दो व्याख्या छ । उनले एकठाउँमा भनेका छन्, “मानिसबाट टाढा हुन मन लाग्यो । प्रकृतिले नजिक्याउन थाल्यो । मुग्ध भएर जङ्गलै जङ्गल हिंड्नलाई खोजें” भन्दै जङ्गलको सामीप्यतामा रहेको कुरा देखाएका छन् ।

प्रकृतिमा आधारित पर्यटनमा जोड दिंदै आगन्तुक विदेशी पर्यटकलाई दामन, पालुङ, सिमभन्ज्याङको भ्रमण गर्न आग्रह गरेका र त्यसका लागि कार्यक्रमहरू सञ्चालन गर्न प्रयास गरेका थिए । दामन भ्यु टावरबाट देखिने हिमशृङ्खला र तारामण्डलको अध्ययन तथा प्रकृतिप्रतिको स्वअध्ययन रूपचनले आफैं गरेका र अरूलाई पनि गर्न अभिप्रेरित गरेको चर्चा पुस्तकमा पाइन्छ ।

मिसमास

रूपचनप्रति रुचि राख्नेले त पढ्ने नै भए तर उनको बारेमा कम सुनेका वा नसुनेका युवा र जनप्रतिनिधिले यो किताब एक पटक पढ्नुपर्ने देखिन्छ । जनप्रतिनिधि को हुन्, उनको काम के हो ? कसरी छाप्रेको सेवा गर्न सकिन्छ भन्ने अनुभवको सँगालो पनि हो यो पुस्तक

लेखकले यो पुस्तकलाई अब कथा भइदियो भनेका छन् । अझ कथा मात्र होइन बायोग्राफिकल फिक्सन भनेका छन् जबकि पुस्तकको नाम, पृष्ठचित्रमा रूपचनले बोक्ने गरेको हाते माइकको आकृति, घटनाका प्रसङ्ग, परिवेश, पात्रहरूका धेरै नाम उही छन् । धेरै घटना हामीले सुन्दै आएका नै छन् तर लेखक स्वयंले फिक्सन हो भनेर भनेपछि रूपचनको बारेमा केही सुनेको र नसुनेका दुवै पाठक कुन आख्यान हो र कुन गैरआख्यान हो भनेर अलमलिनु स्वाभाविक हो ।

रूपचन्द्रले भूमिगत बसेका निर्मल लामा लगायत नेतालाई खुवाउन घरबाट अन्न चोरेर हतारमा लैजाँदा मकै, धान, गहुँ एउटा बोरामा हालिएको र उहाँ गएर हेर्दा अन्न पूरै मिसमास भएर छुट्याउन दिनभरि लागेको प्रसङ्ग उल्लेख गरेका छन् । सायद यो पुस्तक पनि आख्यान र गैर आख्यानको मिसमास पो भयो कि ?
लेखकले किताबको लागि तथ्य सङ्कलन गर्न निकै मिहिनेत गरेको देखिन्छ । यतिको मिहिनेत गरेर तथ्यको नजिक पुगेर तिथिमिति सहितका घटना राख्न सकेको भए अनुसन्धेय र प्रामाणिक बन्ने थियो र यसले अझ सुगन्ध प्राप्त गथ्र्यो । केही स्थानमा मिति र घटनाको मिलान देखिंदैन । एउटा पाठक र रूपचन्द्रलाई थोरै देखेको र केही बुझेको आधारमा हेर्दा उनी जस्तो झर्रो र अर्गानिक पात्रलाई आख्यान नबनाएको भए न्याय हुनेथियो भन्ने लागिरहेको छ । किताब सकुन्जेल मलाई खट्केको कुरा यही भयो ।

लेखक स्थापित नाट्यकर्मी हुनाले पनि आख्यान मिसाइयो कि भन्ने पनि लागिरह्यो । लेखकले पाठकलाई कुन आख्यान र कुन गैरआख्यान हो भनेर छुट्याउन केही काम थपी दिएका छन् । यदि रूपचनले यो किताब पढे भने लेखकलाई ‘भाते तैंले मलाई अंग्रेजी लोक साहित्यका नायक रबिनहुड पो बनाइस्’ भन्थे भन्ने लागिरह्यो ।

छुटेको माटो, सत्य र परिवार

रूपचनले धेरै नारा र कविता लेखेका छन् । ती सबै फरक-फरक माहोल र प्रसङ्गमा रचिएका थिए । उनले जनताका पक्षमा, छाप्रेको पक्षमा, न्यायको पक्षमा प्रशस्त कविता र नाराहरू लेखेका थिए । यो पक्षलाई लेखकले मिहिन ढङ्गले समय सन्दर्भ सहित जोड्ने प्रयत्न गरेका छन् । यो निकै सुन्दर पक्ष हो ।
कलिलैबाट विद्रोही, परिवर्तन, केटाकेटी बिग्रिए बाबुआमा दोषी, समाजको लागि विकास, विकासको लागि राजनीति, बुद्ध थाहा पाएर बुद्ध बने, केटाकेटी नपढाउने बाबुआमा मुर्दावाद, कन्याशिक्षा मातृ शिक्षा हुनेछ .. आदि अनेक नारा र कविताहरू उनका निजी विशेषता र दर्शन बोकेका छन् । ती विषयहरूको चर्चा गरिएको छ ।

रूपचनकै जीवन दर्शनसँग सम्बन्ध राख्ने, मानिसलाई आफ्नो अस्तित्वको खोजीको लागि खुल्ला आकाशको खोजी गर्न प्रेरणा दिने “चार माना माटोको” कविताको भने चर्चा देखिएन । यो नछुट्नुपर्ने नारा (कविता) हो तर उल्लेख छैन । यसै गरी उनको “हामी कसैका होइनौं, कोही हाम्रा होइनन्, हामी सत्य र न्यायका, सत्य र न्याय हाम्रो” भन्ने कालजयी नारा र यसको प्रसङ्ग पूरै छुटेको छ ।

रूपचन आफैंमा एउटा खुल्ला किताब हुन्, उनलाई र उनका सारा कुरा एउटा पुस्तकमा उतार्न सम्भव छैन र यो अपेक्षा कुनै पनि लेखक तथा पाठकले गर्नुहुँदैन । यसमा लेखकका आफ्ना बाध्यता पनि होलान् तर जसलाई उनले जीवनको एक महत्वपूर्ण दर्शन बनाए कम्तीमा त्यो चाहिं नछुटेको भए राम्रो हुन्थ्यो ।

परिवारमा पत्नी उमा शाहको केही प्रसंग छ तर छोरा असिम र छोरी सामनाको प्रसंग गुमनाम छ । पाठकलाई उनका सन्तानको अवस्था के थियो भन्ने पक्ष अधुरै छाडेको देखिन्छ ।

ओरालो राजनीति र दुःखद् अन्त्य

लेखकले उनको राजनीतिको ओरालो यात्रा, त्यसबाट उनमा छाएको चरम निराशापन, बिग्रँदो स्वास्थ्य, चुरोट र रक्सीको अम्मल र त्यसबाट सिर्जित अवस्थाको बारेमा सविस्तार व्याख्या गरेका छन् । यो पक्ष अत्यन्त दुःखद् देखिन्छ । राजनीतिको उर्वर समयमा रहेका रूपचनको राजनीतिको ओरालो यात्रा बहुदलीय व्यवस्था पश्चात् सुरु भएको हो । राजनीतिक हिसाबमा व्यवस्था निर्दलीय, राजनीति बहुदलीय भन्ने मान्यतामा रहेका रूपचनको कुनै बनिबनाउ संगठन थिएन । उनी केवल छाप्रे जगाउन आफूले सक्दो गर्ने भन्ने अभियानमा थिए तर बहुदल पश्चात्को सक्रिय र संगठित राजनीतिक शक्ति, ती शक्तिको दाउपेच, चुनावी तिकडमका अगाडि रूपचनको शक्ति क्रमशः क्षीण हुँदै अन्त्यमा उनी त्यसपछिका चुनावमा क्रमशः पराजित हुँदै गए र क्रमशः किनारमा पर्न थाले ।

समाज, समाजका मानिस, चालचलन र यहाँका समस्या बुझ्नु पढाइ हो । आफूभित्रको भ्रमको जालो च्यात्नु पर्छ भनेर युवा विद्यार्थीलाई निरन्तर प्रेरणा दिने रूपचनको कुरा बुझ्न पनि युवा र विद्यार्थीको यो पुस्तक रोजाइ बन्नुपर्छ

कुनै दिन उनका समर्थक र सक्रिय कार्यकर्ता क्रमशः अन्यत्र पार्टीमा सक्रिय हुन थाले, एकएक गरेर साथ छाड्दै गएपछि उनको पछिल्लो जीवन झन्डै एक्लो र परित्यक्त देखिन्छ । जसलाई जगाउन खोजेको हो, जो जाग्नुपर्ने हो ती जागेनन्, जो जागे ती पनि सामन्ती शोषकका मतियार भए भन्ने घोर निराशावादी बुझाइले उनी आफ्नो शरीरलाई दुःख दिन थाले ।

शरीरलाई जे आवश्यक पर्छ त्यसको ठिक उल्टो गर्न थाले । कहिलेकाहीं आउने आफन्त र जनमुखी सहकर्मीको सहयोगले केही भरथेग भएता पनि निरन्तर शरीरप्रतिको बेवास्ताले उनी हामीबाट असमयमा बिदा भएको रूपचनको पछिल्लो खण्डको यो कारुणिक दृश्यलाई लेखकले निकै मिहिनताका साथ केलाएका छन् । पाठकलाई यो पछिल्लो खण्डले सबैलाई भावुक बनाउने छ ।

बोझिलो भारी

किताबको सुरुवातदेखि नै पुरनमान र महात्माको प्रसङ्गले छोडेका छैनन् । हिन्दी सिनेमाका कथा जस्तै जहाँजहाँ नायकलाई अप्ठ्यारो पर्छ त्यहाँ खलनायक आइरहने जस्तै यी दुई पात्र र उनका लठैतले रूपचनलाई घेरिरहन्छन् अनि रूपचन कहिले उनका गुण्डालाई कुट्दै, कहिले डायलग मार्दै र कहिले देखेको नदेखे जस्तै गरेर छाती फुकाउँदै अगाडि जान्छन् । मानौं पुरनमान र महात्मा यी दुई मुख्य शत्रु हुन् र यिनको नाश भएपछि सारा समस्या समाधान हुन्छ ।

यो प्रसङ्ग अलिक नाटकीय शैलीमा आएको छ । सयौं मण्डले एक्लाएक्लै एउटा रूपचन हुलका हुल भनेर सिंगै व्यवस्था र तिनका मतियार मण्डले अनि पञ्चायतका प्रतिनिधि अञ्चलाधीशसँग भिडेका रूपचनलाई यी दुई पात्र घाँडोको रूपमा झुन्ड्याइदिएका छन् । केही स्थानमा रूपचनलाई अलिक बढी शङ्कालु, सङ्कुचित र आफू र जनमुखी कार्यकर्ता बाहेक बेठिक भन्ने मनोगत भावबाट ग्रसित जस्तो देखिन्छन् ।

किताब पढुञ्जेल यतिको ११८ (उप) शीर्षक आवश्यक थियो र ? भन्ने लागिरहन्छ किनकि कैयौं प्रसङ्ग एकआपसमा मिल्दाजुल्दा छन्, तिनै प्रसङ्गलाई एकआपसमा मिलान गरेर राखेको भए अझ रुचिकर र पाठकलाई पछिसम्म सम्झन सहज हुन्थ्यो कि ? सायद उपशीर्षकको भारी पो भयो कि ? पाठकले एक पटक किताब पढिसकेर कुन शीर्षकमा मैले के पढें भनेर एकछिन सम्झनुपर्ने बनाइदिएका छन् लेखकले ।

रूपचनप्रति रुचि राख्नेले त पढ्ने नै भए तर उनको बारेमा कम सुनेका वा नसुनेका युवा र जनप्रतिनिधिले यो किताब एक पटक पढ्नुपर्ने देखिन्छ । जनप्रतिनिधि को हुन्, उनको काम के हो ? कसरी छाप्रेको सेवा गर्न सकिन्छ भन्ने अनुभवको सँगालो पनि हो यो पुस्तक । किताब पढ्नु मात्रै पढाइ होइन ।

समाज, समाजका मानिस, चालचलन र यहाँका समस्या बुझ्नु पढाइ हो । आफूभित्रको भ्रमको जालो च्यात्नु पर्छ भनेर युवा विद्यार्थीलाई निरन्तर प्रेरणा दिने रूपचनको कुरा बुझ्न पनि युवा र विद्यार्थीको यो पुस्तक रोजाइ बन्नुपर्छ । भाषा, शैली, तथ्यमा ब्रान्डेड नै छ । यद्यपि एकाध ठाउँमा नाप नमिलेको कोट जस्तै भए तापनि यो पुस्तक सङ्ग्रहणीय र पठनीय बनेको छ । यसको लागि टंक चौलागाईंलाई हार्दिक बधाइ ।

नजानिंदो ईर्ष्या

साहित्य, दर्शन, नेता पात्र कसैका पेवा हुँदैनन् र कोही एक समूह वा व्यक्तिको क्षेत्राधिकार भित्र रहँदैनन् भन्ने स्पष्ट थाहा हुँदाहुँदै पनि मेरो मन एउटा नजानिंदो ईर्ष्याले कटक्क दुखिरह्यो र त्यो अमिलोपनलाई मैले शिल्पी थिएटरमा पुस्तकको लोकार्पण कार्यक्रममा मसँगै रहनुभएका मकवानपुरे कवि तथा साहित्यकार आरआर चौलागाईं दाइलाई भनें ‘कम्तीमा यो पुस्तक मकवानपुरलाई आधार बनाएर साहित्य कर्ममा लागिरहेका र केही हदसम्म रूपचनलाई चिनेका वा संगत गरेकाले लेखेका भए अझ तथ्यको नजिक, छुटेका अनेक प्रसङ्ग सहित र फरक स्वादमा रसास्वादन गर्न पाइन्थ्यो कि ?’

उहाँले वास्तवमा यो हामीले नै लेख्नुपर्थ्यो, म पनि यसमा चुकेको नै हुँ भन्नुभयो । मकवानपुरेले उनका बारेमा यथेष्ट कलम नचलाए पनि रूपचनको विषयमा लेखेर उनले गरेका जनमुखी विचार अनि कामको पुनर्ताजगी गराएकोमा लेखक धन्यवादका पात्र हुनुहुन्छ । म लेखकलाई यस्तो ईर्ष्या लाग्ने काम अझ धेरै गरिरहन शुभकामना दिन चाहन्छु ।

लेखकको बारेमा
विष्णुप्रसाद आचार्य

लेखक धादिङका डिभिजनल वन अधिकृत हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?