+
+

तीन महिनादेखि बन्द सुकेटार विमानस्थल पुन: सञ्चालन

रासस रासस
२०८१ भदौ १९ गते १०:१०

१९ भदौ, फुङ्लिङ (ताप्लेजुङ) । प्रतिकूल मौसमका कारण तीन महिना बढी समय बन्द रहेको सुकेटार विमानस्थलमा पुनः उडान सुरुआत भएको छ ।

नेपाल वायु सेवा निगमले बुधबार उडान सुरु गरेको निगमको स्टेशन कार्यालयका प्रमुख नारायणकुमार कार्कीले जानकारी दिए । उनले भने,  ‘मौसममा सुधार आएसँगै उडान गर्न सम्भव भएको हो ।’

निगमले केही साताअघि नै उडान तालिका तोकेको भए पनि प्रतिकूल मौसमले गर्दा उडान हुनसकेको थिएन ।

बुधबारको उडानले मौसम पूर्ण रूपमा सुधार नभए पनि यात्रा सम्भव भएको देखाएको छ । निगमले हाललाई हप्तामा एक दिनमात्र उडान तालिका राखेको छ, यो तालिका आगामी भदौ ३० गतेसम्म बुधबारका दिन सञ्चालन हुनेछ ।

मौसम खुला रहेमा र यात्रुको चाप बढेमा निगमले उडान तालिका थप्ने तयारी गरिरहेको छ ।

बर्खायाम सुरु भएपछि जेठ ११ गतेदेखि सुकेटारमा उडान बन्द भएको थियो । तीन महिना लामो अवरोधपछि सुरु भएको उडानले स्थानीयमा केही आशा जागृत गरेको छ ।

यद्यपि, पहिलो उडानमा काठमाडौं-ताप्लेजुङ दुवैतर्फ विमानको पूर्ण क्षमतामा यात्रु थिएनन् । ताप्लेजुङको यात्रु सङ्ख्यालाई बढावा दिन आवश्यक प्रचार-प्रसार र नियमित उडानको आवश्यकता देखिएको छ । आगामी उडानका लागि यात्रीले सम्पर्क गर्न थालेको बताइएको छ ।

उडान पुनः सञ्चालन भएसँगै दशैं, तिहारजस्ता चाडपर्व र पर्यटकीय मौसमको नजिकिँदो समयमा यात्रुलाई सुविधा हुने अपेक्षा गरिएको छ ।

ताप्लेजुङ आउने पर्यटक र सर्वसाधारण यात्रीको सुविधाका लागि निगमले नियमित उडानलाई सुनिश्चित गर्नुपर्ने दबाब छ । जिल्लाका बासिन्दाले पर्यटकीय मौसममा विमान सेवा नियमित गर्न आग्रह गरेका छन् ।

सुकेटार विमानस्थलमा हाल निगमको ट्वीनअटर जहाजले मात्र उडान गर्दै आएको छ । ताप्लेजुङ-काठमाडौं उडानका लागि हालको भाडादर प्रतिव्यक्ति रु नौ हजार चार सय ७६ रहेको निगमले जनाएको छ ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?