+

कतिपय महिलामा दाह्रीजुँगा किन पलाउँछ ?

२०८१ भदौ  १९ गते ११:३९ २०८१ भदौ १९ गते ११:३९
कतिपय महिलामा दाह्रीजुँगा किन पलाउँछ ?

टेस्टोस्टेरोन हर्मोनलाई पुरुष हर्मोन पनि भनिन्छ । पुरुषहरूमा यो हर्मोन उच्च हुन्छ । जसले शरीरको मांसपेशी बलियो तथा हृष्टपुष्ट बनाउन, रौं वृद्धि गर्न, स्वर धोद्रो बनाउने काम गर्छ ।

यो हर्मोन तुलनात्मक रूपमा महिलामा कमै मात्रामा देखिन्छ । तर यदि महिलामा कुनै समस्याले गर्दा टेस्टोस्टेरोन हर्मोनको मात्रा अत्यधिक रूपमा उच्च भएमा पुरुषमा जस्तै अनुहारमा रौं बाक्लो आउने, शरीरको स्वरुपमा परिवर्तन आउने जस्तो लक्षण देखिन्छ ।

फलस्वरुप यसले विभिन्न स्वास्थ्य समस्या उत्पन्न गराउँछ ।

कस्तो अवस्थामा यो हर्मोन महिलामा उच्च हुन्छ ?

पोलिसिस्टिक ओभरी सिन्ड्रोम (पीसीओएस)

यो महिलामा हुने डिम्बाशयसँग सम्बन्धित समस्या हो । जसकारण महिलाको शरीरमा हर्मोनल असन्तुलन हुन थाल्छ ।

यस्तो अवस्थामा महिलाको शरीरमा महिला हर्मोनको सट्टा पुरुष हर्मोन (एन्ड्रोजन) र टेस्टोस्टेरोनको स्तर बढी हुन थाल्छ ।  जसकारण पुरुषको जस्तो लक्षण देखा पर्छन् ।

यो हर्मोन उच्च हुँदा डिम्बाशयमा स-साना तरल पदार्थले भरिएको फोकाहरु वृद्धि गराई महिनावारीमा अनियमितता गराउने, गर्भ बस्नमा समस्या गराउने र तौल बढ्ने जस्ता समस्या पनि गराउँछ ।

एड्रिनल ग्रन्थको रोग

एड्रिनल ग्रन्थीको काम भनेको शरीरमा स्टोराइड हर्मोन, एड्रिनेलिन र नन-एड्रिनेलिन लगायत हर्मोन उत्पादन निकाल्नु हो । ती हर्मोनले शरीरमा रक्तचाप, मेटाबोलिजम, ग्लुकोज नियन्त्रण र अन्य शरीरको कार्य प्रणालीमा मद्दत गर्छ ।

कुनै कारणवश एड्रिनल ग्रन्थीमा समस्या भएमा टेस्टोस्टेरोन हर्मोन अत्यधिक उत्पादन हुनसक्छ ।

वंशाणुगत

कसैमा यो वंशाणुगत कारणले पनि हुनसक्छ । परिवारमा पहिला नै महिला सदस्यमा यो समस्या थियो भने पछिका सन्तानमा यो समस्या नहोला भन्न सकिन्न ।

औषधि र स्टेरोइडको प्रयोग

केही महिलामा एनाबोलिक स्टेरोइडहरूको प्रयोगले टेस्टोस्टेरोनको मात्रा वृद्धि गराउँछ । यो समस्या विशेषगरी महिला खेलाडीहरुमा देखा पर्न सक्छ, जो मांसपेशीको वृद्धि गर्नका लागि स्टेरोइडको प्रयोग गर्छन् ।

रजोनिवृत्ति र टेस्टोस्टेरोनको सम्बन्ध

रजोनिवृत्ति समयमा इस्ट्रोजेन र प्रोजेस्टेरोन जस्ता हर्मोनहरूको उत्पादनमा गिरावट आउँछ । जब यी हर्मोनहरूको उत्पादन घट्छ, टेस्टोस्टेरोनको स्तरमा असन्तुलन हुनसक्छ । यसले गर्दा केही महिलामा टेस्टोस्टेरोनको स्तर अपेक्षाभन्दा बढी हुनसक्छ ।

क्यान्सरको कारण

केही महिलाहरूमा पाठेघर वा एड्रिनल ग्रन्थीको क्यान्सरले पनि टेस्टोस्टेरोनको मात्रा अत्यधिक बनाउँछ ।

के कस्ता परिवर्तन देखिन्छ ?

अनुहार र शरीरमा अत्यधिक रौं पलाउँछ

महिलाहरूमा टेस्टोस्टेरोनको स्तर उच्च हुने समस्यालाई चिकित्सकीय भाषामा हिर्सुटिजम भनिन्छ । हिर्सुटिजमका कारण महिलाको अनुहार, छाती, ढाड लगायत शरीरका विभिन्न भागमा बाक्लो रौंको वृद्धि हुँदै जान्छ ।

यसरी रौं आउँदा महिलाको सौन्दर्यमा प्रत्यक्ष असर पुर्‍याउँछ । जुन मानसिक तनावको कारण पनि बन्न सक्छ ।

आवाजको परिवर्तन

टेस्टोस्टेरोनको उच्च मात्राले महिलाहरूको आवाजलाई गहिरो बनाउन सक्छ, जुन सामान्यतया पुरुषहरूको आवाजसँग मिल्दोजुल्दो हुन्छ ।

यसले उनीहरूको आत्मविश्वासमा पनि असर पुर्‍याउन सक्छ । अरुले पनि आवाज सुनेर खिस्याउने गर्न सक्छन् । उनीहरुलाई पनि आफू पुरुष हो कि महिला भन्ने दोधारमा समेत पार्न सक्छ ।

छालाको समस्या

टेस्टोस्टेरोनको मात्रा बढ्दा छालामा अत्यधिक चिल्लोपन बढ्न सक्छ, जसले गर्दा अनुहारमा बिमिरा (एक्नी) र छाला सम्बन्धी अन्य समस्या आउन सक्छ । यसले छालामा पोतो, कालो धब्बा (डार्क स्पट्स) र दागहरू पनि देखिन सक्छन् ।

यौन इच्छामा तव्र वृद्धि

टेस्टोस्टेरोनले यौन इच्छा बढाउन सक्छ । महिलामा यो हर्मोनको मात्रा अत्यधिक रूपमा बढ्दा यौन इच्छामा वृद्धि हुनसक्छ । चाहिने भन्दा बढी यौन इच्छा बढ्दा व्यक्तिगत जीवनमा समस्या ल्याउन सक्छ ।

प्रजनन् समस्या

टेस्टोस्टेरोनको अत्यधिक मात्राले प्रजनन् क्षमतालाई असर पुर्‍याउन सक्छ । यसले डिम्बाशयको कामलाई गडबड बनाउँछ, जसकारण गर्भधारण गर्न समस्या हुनसक्छ ।

मांसपेशीको वृद्धि

महिलामा टेस्टोस्टेरोनको उच्च स्तरले मांसपेशीको वृद्धि गर्न सक्छ, जसले शरीरलाई पुरुषको जस्तै धेरै बलियो र मर्दाना देखाउन सक्छ । यो परिवर्तन महिलाका लागि अवाञ्छित हुनसक्छ ।

के गर्न सकिन्छ ?

यस्तो समस्याको जति छिटो उपचार त्यति छिटो नियन्त्रण हुन्छ । त्यसैले यदि माथि उल्लेखित असामान्य लक्षण देखिएमा तुरुन्तै स्वास्थ्य परीक्षण गराउनुपर्ने आवश्यकता हुन्छ ।

यदि महिलाहरूमा टेस्टोस्टेरोनको स्तर उच्च देखियो भने चिकित्सकको सल्लाह अनुसार हर्मोनको स्तर जाँच गर्नु आवश्यक हुन्छ । त्यसपछि हर्मोनको स्तर के कारणले उच्च भएको हो भनेर लक्षण अनुसारको परीक्षण पनि हुन्छ । कारण पत्ता लगाएपछि सही परामर्श र केही औषधिको प्रयोगले यो समस्या नियन्त्रण गर्न सकिन्छ ।

चिकित्सकीय उपचारसँगै स्वस्थ जीवनशैली, सन्तुलित आहार र नियमित व्यायामले पनि हर्मोनको सन्तुलन कायम राख्न मद्दत गर्छ ।

डा. विनय भट्टराई दाह्रीजुँगा प्रसूति तथा स्त्रीरोग
डा. विनय भट्टराई
लेखक
डा. विनय भट्टराई
मधुमेह, हार्मोन तथा थाइराइड रोग विशेषज्ञ

नेपाल मेडिकल काउन्सिल दर्ता नम्बर : ९०९५ अध्ययन : एमबीबीएस र एमडी हाल काठमाडौंस्थित मेट्रो काठमाडौं र ह्याम्स अस्पतालमा कार्यरत

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

हड्डी खिइने समस्या ‘ओस्टियोआर्थराइटिस’बारे भ्रम र सत्य  

हड्डी खिइने समस्या ‘ओस्टियोआर्थराइटिस’बारे भ्रम र सत्य  

बाल क्यान्सरको लक्षणलाई बेवास्ता नगरौं (भिडियो)

बाल क्यान्सरको लक्षणलाई बेवास्ता नगरौं (भिडियो)

गुणस्तरीय खाद्यवस्तु उत्पादन गर्न उद्योगले ध्यान दिनुपर्ने १४ कुरा  

गुणस्तरीय खाद्यवस्तु उत्पादन गर्न उद्योगले ध्यान दिनुपर्ने १४ कुरा  

आत्महत्याको सोच आउनै नदिन के गर्ने ?

आत्महत्याको सोच आउनै नदिन के गर्ने ?

क्यान्सरका बिरामीलाई होम केयर सेवा कसरी दिने ?

क्यान्सरका बिरामीलाई होम केयर सेवा कसरी दिने ?

अचानक चक्कर आउनु कस्तो स्वास्थ्य समस्याको संकेत हो ?

अचानक चक्कर आउनु कस्तो स्वास्थ्य समस्याको संकेत हो ?