+
+

‘केटी हराएको सूचना’को टिजर सार्वजनिक, फिल्म कात्तिक ३० मा आउने

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ १९ गते ११:५३

काठमाडौं । सृष्टि श्रेष्ठ र नाजिर हुसेन अभिनित फिल्म ‘केटी हराएको सूचना : मिसिङ’ले प्रदर्शन मिति घोषणा गरेको छ । काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा निर्माता कम्पनी ट्राइ–सिटी पिक्चर्सले टिजर सार्वजनिक गर्दै प्रदर्शन मिति तय गरेको हो ।

अब यो फिल्म कात्तिक ३० गते देशव्यापी प्रदर्शन हुनेछ । यो फिल्मबाट दीपेन्द्र गौचनको दुई दशकपछि निर्देशकीय पुनरागमन समेत हुनेछ । ‘उजेली : ए चाइल्ड ब्राइड इन नेपाल’ र विश्व फिल्म उद्योगमा योगदानका लागि प्रशंसित कामका लागि परिचित गौचनले ट्राइ–सिटी पिक्चर्सको सहकार्यमा यो कथानक फिल्म ल्याउन लागेका हुन् ।

गौचन र नकिम उद्दिनले मिलेर स्थापना गरेको यो फिल्म कम्पनीले मनोरञ्जन मात्र नभई सामाजिक रूपमा प्रभाव पार्ने फिल्मको निर्माण गर्ने लक्ष्य राखिएको छ ।

‘तराई क्षेत्रको जीवन्त पृष्ठभूमिमा आधारित यस ब्यानर अन्तर्गतको पहिलो फिल्म ‘केटी हराएको सूचना : मिसिङ’ यही दृष्टिकोणको प्रमाण हो,’ पत्रकार सम्मेलनपछि जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।

यो फिल्मले पहाडी समुदायको युवा र मधेशी समुदायकी युवतीको रहनसहन र मेलमिलाप बारेको कथा पेश गर्छ । फिल्मले तराई क्षेत्रको सौन्दर्य र संस्कृतिको विरुद्धमा रहेको पहाडी-मधेशी मेलमिलापको खोजी गर्छ ।

पत्रकार सम्मेलनमा पटकथा लेखक, निर्माता तथा निर्देशक गौचनले यो फिल्म निर्माणका लागि प्राप्त प्रेरणाको बारेमा आफ्नो अनुभव साटे । उनले भने, ‘नेपाल फर्केर मैले धेरैजसो फिल्म पहाड र हिमाली क्षेत्रमा बनाइएको देखें । यी क्षेत्र प्रतिष्ठित भएपनि म तराईको सौन्दर्य र यसको समृद्ध सांस्कृतिक विविधता देखाउन चाहन्थें ।’

उनले अगाडि भने, ‘यो फिल्म मेरो मनको नजिक छ किनभने यसले पारम्परिक र जातीय सीमाना पार गर्ने र विविधताको बीचमा समानता खोज्ने कुराको प्रतिनिधित्व गर्दछ ।’

फिल्ममा सीताको भूमिकामा सृष्टि श्रेष्ठले अभिनय गरेकी छन् भने रामको भूमिकामा नाजिर हुसेन छन् । विलासको भूमिकामा सञ्जय मिश्रा तथा अमितेश शाह (क्यामियो) टिकट बिक्रेताको रोलमा छन् । जनकपुरबाट थप स्थानीय कलाकारले विभिन्न भूमिका गरेका छन् ।

कार्यकारी निर्मातामा उद्दिन, छायांकनमा अमर महर्जन, सम्पादनमा निमेश श्रेष्ठ, कला निर्देशनमा अक्की थेक्पा, साउण्ड डिजाइनमा श्रावल आरपी र संगीतमा क्रिस मसन्ड छन् ।

कात्तिक ३० मा ‘केटी हराएको सूचना’सहित सौगात मल्ल अभिनित फिल्म ‘बमबहादुर’ पनि रिलिज हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?