+
+

एनसेलले पलेसालाई १० लाख नगदसहित सम्मान गर्ने

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ १९ गते १३:०६

काठमाडौं । एनसेलले पेरिस पारालिम्पिक्स–२०२४ मा देशका लागि पदक दिलाउन सफल पारा तेक्वान्दो खेलाडी पलेसा गोबर्धनलाई १० लाख नगद पुरस्कारसहित सम्मान गर्ने भएको छ ।

पारालिम्पिक्समा सहभागी पारा खेलाडी एवम् प्रशिक्षकहरूलाई समेत कुल १० लाख रुपैयाँ पुरस्कारसहित सम्मान गर्ने घोषणा एनसेलको छ ।

एनसेलले राष्ट्रिय पारालिम्पिक कमिटी (एनपीसी), नेपालसँग भइरहेको सहकार्य अनुसार सम्मान दिने घोषणा गरेको जनाइएको छ ।

एनसेलले गत वर्षदेखि एनपीसीसँग नेपाली पारा खेलाडीहरूको समग्र तालिम र विकासका लागि ‘हामी तपाईंकै लागि’ थिम अन्तर्गत सहकार्य र सहयोग प्रदान गर्दै आइरहेको छ ।

‘म एकदमै हर्षित छु । तेक्वान्दोको यात्रा सुरु गरेको हिजोमात्र जस्तो लाग्छ । त्यति बेला पारालिम्पिकको यस्तो उचाइमा पुग्छु र देशकै लागि ऐतिहासिक पहिलो पदक ल्याउनेछु भन्ने सोचेकै थिइनँ । मैले सपना देख्ने हिम्मत गरेँ र केही गर्ने मौका पाएँ र गरेरै पनि देखाएँ । मैले आफूमाथिको विश्वास कहिल्यै गुमाइनँ । त्यो सपनालाई जीवित राख्न अथक संघर्ष गरेँ । साँच्चै म एकदमै खुसी छु । यो पदक मेरो होइन देशको हो । नेपालको प्रतिनिधित्व गरेर यो पदक जित्न पाउँदा म आफूलाई धन्य महसुस गरिरहेकी छु,’ पलेसाले भनिन् ।

यो जित सँगै मेरो जीवनको नयाँ अध्यायको सुरुवातका लागि आफू उत्सुक बनेको उनको भनाइ छ ।

एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभले पलेसाले नेपाललाई दिलाएको पदक उनको मात्रै सफलता नभएर राष्ट्रको नै गौरव भएको बताए ।

पलेसाले पाएको सफलतालाई खेलाडीहरूको कडा परिश्रम र उत्कृष्ट प्रदर्शनको नतिजा भएको उनले बताए ।

‘एनपीसीसँगको सहकार्यमा पलेसा जस्ता च्याम्पियन र हाम्रा राष्ट्रिय पारा खेलाडीहरूको प्रेरणा बनेर हौसला प्रदान गर्दै हामी एक बलियो साथ दिन प्रतिबद्ध छौं,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?