+
+

१० युवाले बोर्डमा इन्टर्न गर्न पाउने, सार्क फेस्टिभलका लागि ६ फिल्म आह्वान

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ १९ गते १३:१४

काठमाडौं । चलचित्र विकास बोर्डले आगामी सार्क फिल्म फेस्टिभलका लागि फिल्म आह्वान गरेको छ । बोर्डले सूचना जारी गर्दै बढीमा ६ वटा फिल्म त्यसतर्फ पठाउन लागिएको जनाएको छ ।

इच्छुक फिल्म निर्माताले सहभागी हुने प्रतिनिधिको नामसहित बोर्डमा आवेदन दिन सक्ने सूचनामा उल्लेख छ । यसका लागि केही मापदण्ड तोकिएका छन् ।

२०७९ वैशाख १८ देखि २०८१ वैशाख १७ सम्म सार्वजनिक प्रदर्शनमा आएका कथानक फिल्म, बढीमा ३० मिनेटसम्मका छोटा फिल्म, बढीमा ४५ मिनेटसम्मका डकुमेन्ट्री फिल्म, २०७९ वैशाख १८ देखि २०८१ वैशाख १७ सम्म स्ट्रिमिङ भएका वेब–सर्ट फिल्म, बोर्डको विशेष चलचित्र पुरस्कारबाट पुरस्कृत तथा राष्ट्रिय फिल्म हुनुपर्ने सर्त राखिएको छ ।

साथै, यस वर्षको सार्क फिल्म फेस्टिभलमा दुई नेपाली फिल्म ‘बुलबुल’ र ‘प्रसाद’को स्क्रिनिङ गरिने भएको श्रीलंकास्थित सार्क सांस्कृतिक केन्द्रले जनाएको छ । यी दुई फिल्म ११ सेप्टेम्बर श्रीलंकाको जाफ्ना कल्चरल सेन्टरमा देखाइनेछ । तर यी दुई फिल्म प्रतिस्पर्धामा समावेश हुनेछैनन् ।

यस वर्षको सार्क फिल्म फेस्टिभल सेप्टेम्बर २४ देखि २८ सम्म श्रीलंकामा हुँदैछ । साथै, आगामी ६ महिनाको लागि नेपाली पर्यटकले श्रीलंका भ्रमण गर्दा भिसा आवश्यक नपर्ने घोषणा श्रीलंका सरकारले गरिसकेको छ ।

युवा र विद्यार्थीले बोर्डमा ३ महिना इन्टर्न गर्न पाउने

चलचित्र विकास बोर्डको अध्यक्षमा दिनेश डिसी आएलगत्तै उनले युवा र विद्यार्थीलाई लक्षित गर्दै इन्टर्न गर्न पाउने व्यवस्था ल्याएका छन् । आवेदन दिएकामध्ये १० जनाले बोर्डमा इन्टर्न गर्न पाउने जनाइएको छ ।

बोर्डले सूचना जारी गर्दै भनेको छ, ‘चलचित्र क्षेत्रको विकास विस्तार र प्रवर्द्धनका लागि यस चलचित्र विकास बोर्डबाट सम्पादन हुने काम कारवाही, अनुसन्धानमूलक कार्यहरू, तथ्यांक संकलन, सूचना प्रविधि सम्बन्धी, कार्यालय व्यवस्थापन सम्बन्धी कार्यहरूमा सघाउ पुर्‍याउने प्रयोजनका लागि ६ महिना अवधिका लागि निःशुल्क इन्टर्नसिप वा फेलोसिप स्वरूप कार्य गर्न चाहने २५ देखि ३५ वर्ष सम्मका उमेर समूहका युवा-विद्यार्थीहरूको लागि यो सात दिने सूचना प्रकाशित गरिएको छ ।’

भदौ २५ गतेभित्र आवेदन दिन बोर्डले आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?