+
+

भारतको दबाबपछि नेटफ्लिक्सले सच्यायो ‘कान्दाहार हाइज्याक’का विवादित भाग

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ १९ गते १३:३४

काठमाडौं । नेटफ्लिक्सले आफ्नो विवादास्पद सिरिज ‘आईसी ८१४ : द कान्दाहार हाइज्याक’मा परिवर्तन गरेको छ । अब सिरिजको ‘डिस्क्लेमर’मै अपहरणकर्ताको नाम र कोड नाम देखिनेछ ।

यो सिरिजलाई लिएर देशव्यापी तनाव चर्कन थालेपछि भारतको केन्द्रीय सूचना तथा प्रसारण मन्त्रालयले नेटफ्लिक्सको भारतका प्रमुखलाई लिएर सचेत गराएको थियो । त्यसको एक दिनपछि नेटफ्लिक्सले सिरिजमा परिवर्तन गरेको हो ।

नेटफ्लिक्स भारतकी कन्टेन्ट प्रमुख मोनिका सेरगिलले आइन्दा भावनामा ठेस पुर्‍याउने कन्टेन्ट नआउनेमा सरकारलाई आश्वस्त तुल्याएकी थिइन् । त्यसपछि नेटफ्लिक्सले परिमार्जन गरेको हो ।

सिरिजमा समावेश अपहरणकारीको नामलाई लिएर विवाद चर्किएको थियो । यसलाई प्रतिबन्ध लगाउन माग गरिएको थियो ।

श्रृंखलामा इन्डियन एयरलाइन्सको यात्रुवाहक जहाज अपहरण गर्ने अपहरणकारीको वास्तविक नामको सट्टा चिफ, डक्टर, बर्गर, शंकर र भोला जस्ता कोड नाम प्रयोग गरिएको थियो । सामाजिक सञ्जाल प्रयोगकर्ताले हिन्दू नामलाई लिएर आपत्ति जनाएका थिए ।

कट्टरपन्थीको वास्तविक नाम लुकाउने प्रयास भएको भन्दै आलोचना भएको थियो । यो सिरिज नेटफ्लिक्समा २९ अगस्टमा रिलिज भएको थियो ।

नेटफ्लिक्सले आधिकारिक विज्ञप्ति जारी गर्दै वेब सिरिजिको सुरुवाती डिस्क्लेरमा अपहरणकर्ताको नाम र कोर्ड समावेश गरेको जनाएको छ । ‘अहिले वेब सिरिजमा समावेश कोड नाम वास्तविक घटनाको समयमा प्रयोग गरिएका नाम हुन् । हामी प्रत्येक कथाको मौलिक प्रतिनिधित्वमा प्रतिबद्ध छौं,’ नेटफ्लिक्सले भनेको छ ।

मन्त्रालयले सेप्टेम्बर २ मा भनेको थियो, ‘देशका नागरिकको भावनामा चोट पुर्‍याउने अधिकार कसैलाई छैन । भारतको संस्कृति र सभ्यताको सम्मान सधैं सर्वोपरि छ । केही गलत देखाउनुअघि सोच्नुपर्छ । यसमा सरकार निकै कडा छ ।’

वेब सिरिजको कथा के हो ?

यसको कथा २४ डिसेम्बर १९९९ को सत्य घटनामा आधारित छ । काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नयाँ दिल्लीका लागि उड्ने क्रममा पाँच जनाले इन्डियन एयरलाइन्सको विमान आईसी ८१४ अपहरण गरेका थिए । जसमा १७६ यात्रु सवार थिए ।

विमानलाई अमृतसर, लाहोर, दुबई हुँदै कान्दाहार लगिएको थियो । यात्रुलाई सात दिनसम्म बन्धक बनाइएको थियो । यो अवधिमा विमानभित्रका यात्रुको अवस्था कस्तो छ ? उनीहरुको परिवारलाई के हुन्छ ? यी यात्रुलाई रिहा गर्न सरकारसमक्ष के शर्त राखेको छ ? यो सबै यो सिरिजमा देखाइएको छ ।

सिरिजको कथा वरिष्ठ पत्रकार शृञ्जय चौधरी र देवी शरणको पुस्तक ‘फ्लाइट इन टु फियर–द क्याप्टेन्स स्टोरी’बाट लिइएको हो । सिरिजका निर्देशक अनुभव सिन्हा हुन् । ६ एपिसोडको यो श्रृंखलामा नसिरुद्दीन शाह, पंकज कपुर, विजय वर्मा, दीया मिर्जा, पत्रलेखा, मनोज पाह्वा, अरविन्द स्वामी, कुमुद मिश्रा र आदित्य श्रीवास्तवले मुख्य भूमिका निर्वाह गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?