+
+

एमालेमा अतिथि आसन ग्रहणको नियम बनाउँदै तोड्दै

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ १९ गते १३:४४
मध्यपहाडी लोकमार्ग संकल्प यात्रामा कास्कीमा आयोजित एक कार्यक्रम ।

१९ भदौ, काठमाडौं । नेकपा एमालेले कार्यक्रम सञ्चालन शैली सच्याउने प्रस्ताव फेरि ल्याएको छ ।

मंगलबारदेखि केन्द्रीय कार्यालय च्यासलमा जारी पोलिटब्यूरो बैठकमा महासचिव शंकर पोखरेलले पार्टी कार्यक्रम सञ्चालनको भद्दा शैली सच्याउनुपर्ने प्रस्ताव ल्याएका हुन् ।

विविध शीर्षकमा महासचिव पोखरेलले तीन वटा विषय राखेका छन् । त्यसको पहिलो नम्बरमा समयभित्रै बैठक/कार्यक्रमहरु सुरु गर्नुपर्ने विषय उल्लेख छ ।

‘ठीक समय, एमाले समय’ भन्ने मान्यतामा रहेर तोकिएकै समयमा नेताहरु पुग्ने र कार्यक्रम सुरु गर्नुपर्ने प्रस्ताव गरिएको छ ।

दोस्रो नम्बरमा अतिथि आशनग्रहण र मञ्च व्यवस्थापनबारे उल्लेख छ । ‘कार्यक्रम तथा बैठकहरुमा अतिथि आसन र वक्ताहरुको भद्दा शैलीमा सुधार ल्याउने’, प्रस्तावमा भनिएको छ ।

कार्यक्रम सञ्चालनमा अतिथि आसनग्रहणको लर्को, फूलमालाको भारी जस्ता भद्दा शैली सच्याउन एमालेले एक वर्ष अगाडि अन्तर पार्टी निर्देशन (अपानि) नै जारी गरेको थियो ।

गत वर्ष १ भदौमा जारी अपानि–८ मा पार्टीको कार्यक्रम गर्दा अतिथिहरुको लागि मञ्चमा कुर्सी नराख्न, खादामालनको प्रयोग नगर्न र वक्ता बाहेकलाई आसनग्रहण नगराउन निर्देशन दिइएको थियो ।

यो अपानि अनुसार ७ भदौ २०८० मा भक्तपुरमा आयोजित एउटा कार्यक्रम सञ्चालन भएको थियो । पार्टी निकट भुतपूर्व सैनिक तथा प्रहरी संगठनले गरेको कार्यक्रममा प्रमुख अतिथि र अथितिहरुका लागि मञ्चमा कुर्सी राखिएको थिएन ।

यो संगठनका इन्चार्ज रहेका यज्ञराज सुनुवारले पार्टीको अपानि बमोजिम अध्यक्ष केपी शर्मा ओलीलाई समेत सहभागीहरुसँगै बस्ने व्यवस्था गरेका थिए ।

तर त्यसपछि कुनैपनि कार्यक्रममा अपानिको पालना भएन । झापामै आयोजित एक कार्यक्रममा कोशी प्रदेशको इन्चार्ज बनेर गएका पार्टी सचिव रघुबीर महासेठले पुरानै शैलीमा कार्यक्रम गरे । मञ्चको अगाडि कुर्सी मात्र राखिएन, महासेठ आफैं नेताहरुको भीडबीच अध्यक्ष ओलीसँगै कुर्सीमा बसे ।

त्यसपछिका कार्यक्रममा अपानि विपरीत भद्दा शैलीमा कार्यक्रमहरु सञ्चालन हुन थाल्यो । १४ मंसिरदेखि चलेको मध्यपहाडी संकल्प यात्रामा पनि अपानिको पालना भएन ।

अध्यक्ष ओलीसँगै पत्नी राधिका दोस्रो वरियतामा अतिथि बनिन् भने अरु नेताहरु मञ्चमा खचाखच बसेका थिए । अर्थात् मञ्च व्यवस्थापन, अतिथि आसनग्रहण, खादामाला प्रयोगको भद्दा शैली फेरिन नपाउँदै निरन्तरता पायो ।

तर आगामी चुनावमा एमालेलाई पहिलो र बलियो शक्ति बनाउने गरी महासचिव पोखरेलले प्रस्तुत गरेको वार्षिक कार्य योजनामा फेरि कार्यक्रम सञ्चालन शैली सुधारबारे प्रस्ताव गरिएको छ ।

जहाँ समयमा पुग्ने, भद्दा शैलीमा अतिथि आसन ग्रहण नगराउनेदेखि सामाजिक क्षेत्रमा ख्याती कमाएका व्यक्तिलाई पार्टीको नेतृत्वमा जिम्मेवारी दिनेसम्मको प्रस्ताव गरिएको छ ।

‘राजनीतिक र सामाजिक क्षेत्रमा ख्याती कमाएका वा छवि राम्रो बनाएका पार्टी सदस्यहरु मध्येबाट नेतृत्व निर्माण र महत्वपूर्ण जिम्मेवारी दिने’,  प्रस्तावमा लेखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?