+

‘मेरो जीवन भोलेन्टियरमै बितोस्, तर खेलाडीले बस्ने-खाने व्यवस्था होस्’

२०८१ भदौ  १९ गते १४:०६ २०८१ भदौ १९ गते १४:०६
‘मेरो जीवन भोलेन्टियरमै बितोस्, तर खेलाडीले बस्ने-खाने व्यवस्था होस्’

१९ भदौ, काठमाडौं । नेपाललाई ओलम्पिकमा पदक जिताउने तेक्वान्दोका प्रशिक्षक कविराज नेगीले आफू जिन्दगीभर स्वयंसेवा गर्न तयार रहेको तर खेलाडीलाई कम्तीमा खान पुग्ने बन्दोबस्त हुनुपर्ने बताएका छन् ।

पेरिस पारा ओलम्पिकमा के ४४ क्याटेगरी ५७ केजी तौलमुनि समूहमा नेपालकी पलेशा गोबर्द्धनले कांस्य पदक जितेकी छन् । ओलम्पिकमा पहिलो पदक जिताउने पलेशाका प्रशिक्षक नेगीले खेलाडीका लागि न्यूनतम आवश्यकता पूरा हुने व्यवस्था राज्यले गर्नुपर्ने बताए ।

‘सबै खेलाडीहरुलाई गास, बास, कपास, शिक्षा, स्वास्थ्यको व्यवस्था मिलाएर ट्रेनिङ गर्ने वातावरण बनाइदिए पाराबाट आगामी दिनमा धेरै मेडलहरु आउँछन्’, बुधबार स्वदेश फर्केपछि उनले भने ।

नेपालले सन् १९६४ को टोकियो ओलम्पिकदेखि सहभागी जनाउन थाले पनि पदकविहीन थियो । सन् २०१६ देखि नै पलेशालाई प्रशिक्षण दिदै आएका नेगी आफ्नो भन्दा बढी खेलाडीको चिन्ता गर्छन् । ‘म एउटा स्वयं सेवक प्रशिक्षक हो । सारा पाराका सबै खेलाडीको लिड गरेको छु । मैले मात्रै जागिर खाएर हुँदैन’ उनले भने ।

पारा खेलकुदमा प्रशिक्षकको अभाव रहेको पनि नेगीले बताए । सन् २०१५ देखि नेगीले स्वयंसेवक प्रशिक्षकको रुपमा पारा तेक्वान्दो हेर्दै आएका छन् । उनले आफ्नो प्रशिक्षणमा १ दर्जन पदक देशलाई दिलाइसकेका छन् । उनी राखेपबाट नियमित तलब पाउने प्रशिक्षक होइनन् ।

‘खेलाडीलाई यहाँ बसेर टिकेर खानालाई मात्रै गाह्रो छ । त्यो व्यवस्था मिलाइदियो भने म त यसै भोलेन्टियर उसै भोलेन्टियर, जिन्दगी भोलेन्टियरमै गइसक्यो । खेलाडीको बस्ने खाने व्यवस्था भए पलेशाजस्ता धेरै खेलाडीहरु उत्पादन हुन्छन’, उनले भने ।

नेगीले तलब नपाएकोमा खेलकुद मन्त्री तेजुलाल चौधरीले चासो देखाएका छन् । ‘हामीले सबैभन्दा पहिला ध्यानदिनु पर्ने खेलाडीलाई हो । त्यसपछि प्रशिक्षक र संघलाई हो । अनि मात्रै हाम्रो काम हुनसक्छ । नेगी जीको संयमसेवकबाट अहिलेसम्म किन जब (जागिर) हुन सकेन । ऐन कानुनको कारण भए अहिलेसम्म किन संशोधन हुन सकेन’ मन्त्री चौधरीले भने ।

पदक विजेता खेलाडी पलेशा र नेगीलाई त्रिभुवन विमानस्थलबाट गौशाला, पुरानो बानेश्वर, मैतीदेवी, पुतलडीसडक, रत्नपार्क हुँदै त्रिपुरेश्वरसम्म शहर परिक्रम गराइएको थियो ।

कविराज नेगी खेलकुद पलेशा गोवर्द्धन
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय