+
+

फेम्बोसा सम्मेलनः जलवायु परिवर्तनले पारेको प्रभावबारे छलफल

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ १९ गते १४:१७

१९ भदौ, काठमाडौं । दक्षिण एसियाली निर्वाचन व्यवस्थापन निकायहरुको साझा मञ्च (फेम्बोसा)को १२औँ अन्तर्राष्ट्रिय सम्मेलन आजदेखि काठमाडौँमा सुरु भएको छ । निर्वाचन आयोग नेपालको आयोजनामा आजदेखि सुरु भई दुई दिनसम्म सञ्चालन हुने सम्मेलनमा जलवायु परिवर्तन, सामाजिक सञ्जाल र बसाइँसराइले निर्वाचनमा पारेको प्रभावका विषयमा छलफल हुनेछ ।

‘निर्वाचनका उदीयमान प्रवृत्तिः जलवायु परिवर्तन, सामाजिक सञ्जाल र बसाइँसराइ’ विषयमा सुरु १२औँ फेम्बोसा सम्मेलनको आज प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरे । सम्मेलनमा नेपालसहित भारत, माल्दिभ्स, श्रीलङ्काका निर्वाचन आयोगका अध्यक्ष तथा उच्च पदाधिकारीसहित १० जना विदेशी प्रतिनिधि सहभागी छन् ।

सम्मेलनमा जलवायु परिवर्तनले पारेको असर, विपद्, सामाजिक सञ्जालको बढ्दो प्रभाव र बसाइँसराइलगायत पक्षले निर्वाचन र निर्वाचन प्रक्रियामा पारेको प्रभावका विषयमा विभिन्न सत्रमा छलफल हुनेछ । सम्मेलनमा विषयगत सत्र सञ्चालन हुनेछ । हरेक सत्रबाट आएका निष्कर्षलाई काठमाडौँ घोषणापत्रका रुपमा सार्वजनिक गरिने आयोगले जनाएको छ ।

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले जलवायु परिवर्तन, सामाजिक सञ्जाल र बसाइँसराइले निर्वाचन प्रक्रियामा चुनौती खडा गरेको भन्दै यस्ता उदीयमान समस्याबारे सम्मेलनमा गहन छलफल हुने जानकारी दिए । उनले ती समस्याले निर्वाचनमा कसरी प्रभाव पारिरहेको छ र त्यसलाई न्यूनीकरण गरी निर्वाचनलाई प्रभावकारी ढङ्गबाट सम्पन्न गर्न के गर्न सकिन्छ भन्ने विषयमा छलफल केन्द्रित हुने बताए । उनले भने, ‘वातावरणमैत्री प्रविधि, सामग्रीको प्रयोग बढाउँदै आमनिर्वाचन सहज रुपमा सम्पन्न गर्न सम्मेलनको निष्कर्षले सघाउने अपेक्षा छ ।’

आयुक्त थपलियाले जलवायु परिवर्तनले वातावरण नराम्ररी प्रभावित भएको भन्दै यसबाट उत्पन्न विपद्जन्य घटनाले दक्षिण एसियालाई असर पुर्‍याइरहेको उल्लेख गरे । विपद्जन्य घटनाले निर्वाचनका गतिविधिमा पनि समस्या निम्त्याइरहेको उनले बताए ।

सम्मेलनमा निर्वाचन आयोग माल्दिभ्सका अध्यक्ष फोवाद तौफिकले जलवायु परिवर्तनले दक्षिण एसियामा चुनौती बढाउँदै लगेको बताए । यसले निर्वाचन प्रणालीमा समस्या निम्त्याइरहेको उल्लेख गर्दै उनले मतदाता, मतदान सामग्री, प्रविधिको पहुँचमा समस्या उत्पन्न गराइरहेको सुनाए ।

भारतको निर्वाचन आयोगका वरिष्ठ उपनिर्वाचन आयुक्त नितेशकुमार व्यासले जलवायु परिवर्तन, सामाजिक सञ्जाल र आप्रवासनले समग्र निर्वाचन प्रक्रियामा प्रभाव पारिरहेको बताए । सामूहिक प्रयासले निर्वाचन परिणामलाई पारदर्शी र प्रभावकारी बनाउने वरिष्ठ उपनिर्वाचन आयुक्त व्यासको भनाइ छ ।

श्रीलङ्काका निर्वाचन आयोगका अध्यक्ष आरएमएएल रत्नाइकेले जवलायु परिवर्तनका असरले आममतदाताको जनजीवन प्रभाव पार्ने र त्यसले आप्रवासनमा बढोत्तरी गर्ने हुँदा निर्वाचनलाई नै प्रभावित पार्ने उल्लेख गरे । उनले सामाजिक सञ्जाल र एआईको बढ्दो प्रभावले गत सूचना (मिस इन्फरमेसन) नागरिकसम्म पुग्ने हुँदा प्रजातान्त्रिक प्रक्रियालाई असर गरिरहेको सुनाए ।

श्रीलङ्काका निर्वाचन आयोगका अध्यक्ष रत्नाइकेले सामाजिक सञ्जाल र एआईको गलत प्रयोग गरी सत्यतथ्यविना समाचार सामग्री निर्माण गरी सार्वजनिक गरिने हुँदा मतदाता दोधारमा पर्नसक्ने सुनाए । एआई र सामाजिक सञ्जालको दुरुपयोगले विद्युतीय सुरक्षामा चुनौती थपिएको बताउँदै निर्वाचनमा नागरिकलाई विश्वास दिलाउन चुनौतीपूर्ण अवस्था सिर्जना भएको अध्यक्ष रत्नाइकेले औँल्याए ।

यी समस्याहरु समाधान गर्दै उदीयमान अन्य समस्यासँग जुध्न प्रविधि, कानुन र समन्वयात्मक सहयोग मञ्चबाट प्रदान हुने भएकाले सम्मेलन महत्वपूर्ण रहने उहाँले विश्वास व्यक्त गरे ।

भोलि विषयगत सत्रदेखि आएका निष्कर्षलाई एकीकृत गरी काठमाडौँ घोषणापत्र जारी गरिने निर्वाचन आयोगले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?