+
+

आशादेवी मण्डलले एक वर्षपछि पाइन् नागरिकता प्रतिलिपि

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ १९ गते १४:३९

१९ भदौ, जनकपुरधाम । धनुषाको बटेश्वर गाउँपालिका १ की ५१ वर्षीया आशादेवी मण्डलले एक वर्षपछि जिल्ला प्रशासन कार्यालय धनुषाबाट नागरिकताको प्रतिलिपि पाएकी छन् । एक वर्षसम्म लगातार प्रशासन धाएपछि उनले बुधबार बल्ल प्रतिलिपि पाएकी हुन् ।

मण्डलले प्रतिलिपिका लागि पुन: वडाको सिफारिस, अनुसूची सहित कागजात जिल्ला प्रशासन कार्यालयमा पेश गरेको केही बेरमै नागरिकता हातमा पाएकी हुन् । ‘आई हमरा जल्दी नागरिकता भेटल । एक वर्षसे दौडैत दौडैत पीडित भगेल छली’, नागरिकता पाएपछि उनले भनिन् ।

एक वर्षपछि नागरिकता पाउँदा उनी र उनको श्रीमान् रामदेव मण्डलले खुसी व्यक्त गरे । ‘एक वर्ष मजदुरी सरसापट गरी सिडिओ कार्यालयमा दौडधुप गर्दा पीडित भइसकेका थियौं । तर आज पुनः कागजात पेश गरेको केही छिनमै श्रीमतीको हातमा कर्मचारीले नागरिकता दिनुभयो’, उनले खुसी व्यक्त गरे ।

गत वर्ष २०८० असोजमै नागरिकता प्रतिलिपिको लागि आशाले प्रतिलिपिका लागि वडा सिफारिस, अनुसूची भरेको कागजात सहित फाइल बुझाएकी थिइन् । तर वर्षदिन दौडधुप गर्दा पनि बनेको थिएन । गत बुधबार कर्मचारीले पेश गरेको फाइल हराएकाले फेरि वडा सिफारिस र अनुसूची भरेर पेश गर्न भनेका थिए ।

छोरा राहुलको नागरिकता बनाउन आएपछि नागरिकतामा केरमेट भएको भन्दै पहिला आफ्नो प्रतिलिपि लिन प्रशासनका कर्मचारीले भनेका थिए । त्यसपछि आशा आफ्नो नागरिकता प्रतिलिपि लिने प्रक्रियामा लागेकी थिइन् ।

मण्डलले नागरिकता प्रतिलिपि पाउन व्यहोरेको हैरानीबारे मंगलबार संसदमा पनि प्रश्न उठेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?