+

तीजको दर खाँदा र व्रत बस्दा के कुरामा ध्यान दिनैपर्छ ?

२०८१ भदौ  १९ गते १५:५६ २०८१ भदौ १९ गते १५:५६
तीजको दर खाँदा र व्रत बस्दा के कुरामा ध्यान दिनैपर्छ ?

तीजको व्रत बस्ने अघिल्लो दिन दर खाने परम्परा छ । भोलिपल्ट तीजको दिन केही पनि नखाई व्रत बस्ने भएकाले शरीरलाई चाहिने पोषक तत्वको कमी नहोस् भनेर अघिल्लो राति दर खाने चलन चलेको हो ।

अहिले दरखाने परम्परागत तरिकामा परिवर्तन आउन थालेको छ । तीजको अघिल्लो दिन खाइने दर अहिले काम गर्ने ठाउँ, साथी, नातागोता वा संघसंस्था सबै ठाउँमा सम्मानपूर्वक दर खुवाइने गरिएको छ । तर पनि दर खाने भनेको तीजको व्रत बस्ने पहिलो दिन नै हो ।

दरमा के खाने, के नखाने ?

दर व्रतको एक दिनअघि खाइने भएकाले त्यो खानेकुरा भोलिपल्ट व्रत बस्न सजिलो हुने खालको हुनुपर्छ । पाचन प्रकियामा असर नगर्ने हुनुपर्छ । त्यसैले दरमा क्यालोरी, चिल्लो र मसला कम भएको खानेकुरा समावेश गर्नुपर्छ । साथै फाइबर र प्रोटिनयुक्त खानेकुरा जस्तो तरकारी, फलफूल, सम्पूर्ण अन्न हुनुपर्छ ।

दर खाने दिन बढी चिल्लो, पिरो खाना खाने र भोलिपल्ट केही नखाई व्रत बस्ने गर्दा पेटको समस्या तथा ग्लुकोजको मात्रा कम भएर व्रतको दिन स्वास्थ्य समस्या नै निम्तिन सक्छ । दरमा धेरै थरीका परिकार समावेश हुन्छन् । दरको दिन परिकार तयार गर्ने क्रममा तेल तथा मसलामा विशेष ध्यान दिन आवश्यक छ । सकेसम्म घरमै परिकार तयार बनाएर खाँदा राम्रो हुन्छ । भोलिपल्ट व्रत बस्नुपर्ने भएकाले बढी चिल्लो, पिरो र तारेका खानेकुरा खानु हुँदैन ।

धार्मिक रुपमा दर खाने दिनमा माछामासु नखाने चलन छ । तर यो स्वास्थ्यको दृष्टिकोणले पनि राम्रो हो । माछामासु पच्न धेरै समय लाग्छ, त्यसैले व्रत बस्ने अघिल्लो दिन माछामासु नखानु नै राम्रो हो ।

एकैपटक धेरै खानेकुरा र राति अबेरसम्म खाने बानी राम्रो होइन

दरका नाममा अघिल्लो दिन अत्यधिक खाने र भोलिपल्ट पानी समेत नखाई व्रत खस्दा स्वास्थ्यमा झनै असर पर्न सक्छ । भोलिपल्ट व्रत बस्ने भएकाले अघिल्लो दिन चिल्लो ढकनी, गुलियो मिठाई, मासु लगायत खानेकुरा एकैचोटि खाने र राति अबेर १२ बजेसम्म खाने गरेको पनि पाइन्छ ।

हामीले खाएको खानेकुरा पच्न नै तीन-चार घण्टा लाग्छ । राति अबेरसम्म खानेकुरा खाएर सुत्दा खानेकुरा राम्ररी पच्न पाउँदैन र पाचन सम्बन्धी समस्या निम्तिन सक्छ ।

र्घरोग भएकाहरुले ध्यान दिनुपर्ने कुरा

पछिल्लो समय महिलामा मधुमेह, उच्च रक्तचाप, थाइराइड लगायत समस्या पनि देखिएकाले तीजको दरका नाममा जथाभावी रुपमा अत्यधिक खानेकुरा खानु हुँदैन ।

दर खानु भन्दा पहिला आफ्नो स्वास्थ्य अवस्थाबारे सचेत हुनुपर्छ । एक दिन व्रत लिंदा शरीरलाई असर त गर्दैन तर अघिल्लो दिन खाने दर जथाभावी रुपमा खाँदा चाहिं असर पर्न सक्छ । मधुमेहमा कसैले इन्सुलिन प्रयोग गरिरहेका छन् भने व्रत नबस्नु नै राम्रो हुन्छ । मधुमेहको औषधि सेवन गरिरहेका व्यक्तिले व्रत बस्ने हो भने पानी, फलफूल, ड्राइफ्रुट लगायत खानेकुरा खाएर बस्नुपर्छ ।

मधुमेह भएका व्यक्ति व्रत बस्दा रिङ्गटा लाग्ने, आँखा धमिलो हुने, शरीर गलेको जस्तो हुने र टाउको दुख्ने जस्ता लक्षण देखिन्छन् भने शरीरमा सुगर लेबल कम भएको हुन्छ । यस्तोमा ग्लुकोज पानी खानुपर्छ र त्यसपछि ठोस खानेकुरा खानुपर्छ ।

व्रत बस्नु स्वास्थ्यका लागि राम्रो तर तरिका जान्नुपर्छ

समय-समयमा व्रत बस्नाले पाचन प्रणालीमा सकारात्मक प्रभाव पर्ने हुँदा खाना पच्न सहज हुन्छ । केही दिनको अन्तरालमा पेट खाली राख्दा पेट र आन्द्रामा भार कम हुन्छ । पेट खाली राख्दा पेट र आन्द्रामा आवश्यक पर्ने ऊर्जा शरीरका अन्य अंगमा खर्च गर्न सक्छ ।

कुनै पनि स्वास्थ्य समस्या नभएको व्यक्तिले दर खाने दिनमा आठ बजेभित्र खाना खाने र भोलिपल्ट पूरै व्रत बसेर पर्सिपल्ट मात्र खाना खाँदा ३६ घण्टा व्रत बस्दा शरीर ‘अटोफेगी’ हुन्छ । अटोफेजी भनेको रिसाइकल गर्ने प्रक्रिया हो, जुन शरीरभित्र हुन्छ । यस अन्तर्गत पुराना कोषिकाहरु नष्ट हुन्छन् र आवश्यक भागले ऊर्जा उत्पादन गर्छन् वा नयाँ कोषिकाहरु सिर्जना गर्छन् ।

 

खानपान तीजको दर तीजको व्रत
प्रतिमा सेन केसी
लेखक
प्रतिमा सेन केसी
पोषणविद्

सेन ललितपुरको कुपण्डोलस्थित आरुष लाइफस्टाइल अस्पतालमा कार्यरत छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय