+
+

दीपेन्द्र के खनालले ‘हरिबहादुरको जुत्ता’ निर्देशन गर्ने, मुख्य भूमिकामा हरिवंश र प्रकाश सपुत

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ १९ गते १६:२७

काठमाडौं । दीपेन्द्र के खनालको निर्देशनमा फिल्म ‘हरिबहादुरको जुत्ता’ निर्माण हुने भएको छ । बुधबार चलचित्र विकास बोर्डमा यो शीर्षकमा फिल्म दर्ता भएको छ । हरिवंश आचार्य र प्रकाश सपुतको प्रमुख भूमिका रहने बताइएको फिल्मलाई सरोज ओलीले निर्माण गर्न लागेका हुन् ।

यो फिल्म एसएम मोसन पिक्चर्सको ब्यानरमा बन्न लागेको हो । फिल्मको बजेट एक करोड ५० लाख रुपैयाँ उल्लेख छ ।

फिल्मको कथा तथा पटकथा हरिवंशले लेखेका छन् । ‘मेरो मनमा एउटा कन्सेप्ट फुरिरहेको थियो,’ अभिनेता तथा लेखक हरिवंशले भने, ‘सरोज ओली भाइलाई सुनाएपछि यसमा म आफैं फिल्म बनाउँछु भनेर उहाँ हौसिनुभयो । त्यसपछि फिल्मको लिड रोलमा पनि मलाई नै अनुबन्धित गर्नुभयो । आइडिया युनिक छ, फिल्म राम्रो बन्छ भन्नेमा म विश्वस्त छु ।’

अभिनेता आचार्य र निर्माता ओलीबीच म्युजिक भिडियोमा लगातार सहकार्य भइरहेको थियो । फिल्म निर्माणमा भने ओली पहिलोपटक होमिएका हुन् । आफूले खोजे जस्तै कन्सेप्ट हरिवंश आचार्यले सुनाएपछि आफू फिल्म निर्माण गर्न कस्सिएको निर्माता ओलीले बताए ।

‘करिब २५ वर्षदेखि कला क्षेत्रमा लागिरहेको थिएँ तर फिल्म निर्माणको साइत जुरेको थिएन,’ ओलीले भने, ‘राम्रो कथा पाएँ भने फिल्म निर्माण गर्छु भन्ने तयारीमै थिएँ । यत्तिकैमा हरिवंश दाइले हरिबहादुर जुत्ताको कन्सेप्ट सुनाउनुभयो । सुन्नेवित्तिकै मनपर्‍यो । त्यसपछि उहाँको कन्सेप्टमा फिल्म निर्माण गर्न म तयार भएको हुँ ।’

अभिनेताद्वय हरिवंश र प्रकाशसँग निर्देशक दीपेन्द्रको यो पहिलो सहकार्य हो । तीनैजनाले यसअघि सँगै फिल्ममा सहकार्य गरेका छैनन् । प्रकाशका अनुसार यो फिल्म तीन पुस्ताका कलाकर्मीलाई जोड्ने कडी बन्नेछ ।

‘म सानैदेखि हरिवंश दाइलाई टेलिभिजनमा देखेर हुर्किएको हुँ,’ प्रकाश सपुतले भने, ‘संगीतमा लाग्छु भन्ने त थियो तर फिल्ममा यसरी काम गर्न पाउँला, सोचेको थिइनँ । आज उहाँसँग जोडिन पाउँदा औधी खुसी छु । निर्देशनमा दीपेन्द्र दाइको बेग्लै उचाई छ । यो फिल्म तीन फरक पुस्ताका कलाकर्मीलाई जोडेको छ । पक्कै केही नयाँ र विशेष हुनेछ भन्नेमा म आशावादी छु ।’

फिल्मको थप कास्ट एन्ड क्रू फाइनल हुन बाँकी छ । कथासारबारे पनि निर्माण पक्षले केही खुलाएको छैन । ‘बाँकी हामी चाँडै खुलाउनेछौं,’ निर्माता ओलीले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?