+

आफूखुसी खानु हुँदैन भिटामिन सप्लिमेन्ट पनि

२०८१ भदौ  १९ गते १७:४४ २०८१ भदौ १९ गते १७:४४
आफूखुसी खानु हुँदैन भिटामिन सप्लिमेन्ट पनि

अनगिन्ती ब्रान्डका नाममा सप्लिमेन्टहरू सिरप, ट्याब्लेट, एनर्जी बार, पेय पदार्थ वा पाउडरका बजारमा उपलब्ध छन् । यी सप्लिमेन्टहरुले शरीरमा भिटामिन, मिनरल्स, क्याल्सियम, आइरन र प्रोटिन जस्ता पोषक तत्वहरूको कमीलाई पूरा गर्ने दाबी गरिन्छ ।

यद्यपि, विज्ञहरुका अनुसार यी सप्लिमेन्टहरूले पौष्टिक आहारको कमीको क्षतिपूर्ति गर्न सक्दैनन् । तर पनि स्वस्थ रहनकै लागि भन्दै मनलाग्दी यस्ता सप्लिमेन्ट खानेहरूको संख्या बढ्दो छ ।

यसै सन्दर्भमा निजामती कर्मचारी अस्पतालका जनरल प्राक्टिसनर डा. अनाम प्याकुरेल भन्छन्,  ‘आजभोलि मानिसले आफ्नो समस्या बुझेर औषधि पसलमा गएर औषधि सेवन गर्ने गरेको देखिन्छ । दुखाइको औषधि होस् वा चाहे भिटामिन, ओभर द काउन्टर लिएको औषधिले सधैं मद्दत गर्छ भन्ने हुँदैन ।’

उनका अनुसार गुगल र सामाजिक सञ्जालबाट जानकारी लिएर औषधि खाने गलत अभ्यासमा बढ्दो छ । नेपालमा चिकित्सकको सिफारिस विना औषधि वा भिटामिन सहजै पाइन्छ, तीमध्ये कतिपयका आफ्नै साइड-इफेक्ट हुने हुँदा फार्मेसीबाट किन्नुअघि एकपटक सोच्नैपर्छ ।

ग्राण्डी अस्पतालका इन्टर्नल मेडिसिन कन्सल्टेन्ट डा. प्रशान्त त्रिपाठी भन्छन्, ‘सप्लिमेन्ट आफैंमा नराम्रो कुरा होइन । शाकाहारीका लागि त मल्टि-भिटामिन महत्त्वपूर्ण हुन्छ, किनकि शाकाहारी खानेकुराबाट मात्र सम्पूर्ण पोषण मिल्दैन । तर एकै खाले औषधि सबैमा मिल्दैन । तर यस्तो अवस्थामा बिरामीले आफैं नभई चिकित्सकको सल्लाहमा मात्रै सप्लिमेन्ट खानुपर्छ ।’

जथाभावी खाँदा शरीरमा कस्तो प्रभाव पर्छ ?

बजारमा पाइने सप्लिमेन्ट दिने सबै चिकित्सकले भन्ने गर्छन्, ‘सिफारिस गरेको सप्लिमेन्ट मात्र लिनुपर्छ ।’ यस्तो भन्नुको पछाडिको कारण भनेको हरेक सप्लिमेन्टको आफ्नै मात्रा हुन्छ । कति खाने ? कति बेला खाने ? कस्तो अवस्थामा खाने ? बढी खाँदा के हुन्छ भनेर फार्मेसीले एक दक्ष चिकित्सकले जस्तो बताउन नसक्ने डा. त्रिपाठी बताउँछन् ।

फाइदा गर्छ भन्दैमा यी सप्लिमेन्टको अत्यधिक प्रयोगले शरीरमा पनि प्रतिकूल असर पार्ने उनको भनाइ छ ।

उदाहरण दिंदै उनी भन्छन्, ‘भिटामिन ई र ओमेगा थ्री जस्ता फ्याट घुलनशील धेरै भिटामिन छन् । यदि यी भिटामिनहरू चिकित्सकको सल्लाह विना लिने हो भने ती शरीरमा जम्मा त हुन्छन् तर निस्कन पाउँदैनन् । शरीरमै लामो समयसम्म रहँदा यसले शरीरमा नराम्रो प्रभाव पार्न सक्छ ।’

जस्तै, भिटामिन ए को ओभर डोजले बान्ता, आँखाले धमिलो देख्ने जस्तो लक्षण देखिन सक्छ । जबकि भिटामिन ई चाहिने भन्दा बढी लिंदा रक्तचाप कम गर्ने र फोक्सोमा पनि असर गर्न सक्छ । त्यसैले डा. त्रिपाठी चिकित्सकले तोकेको अवधि र मात्रासम्म सेवन गर्नुपर्ने सल्लाह दिन्छन् ।

डा. प्याकुरेलका अनुसार भिटामिन बी को सप्लिमेन्ट शरीरमा बढी भएमा छाला चिलाउने, पखाला लाग्ने, हातखुट्टा झमझमाउने, अनिद्रा, रक्तचाप बढाउने जस्ता लक्षण देखिन्छ । पाको उमेरका मानिसहरुलाई यसको असर बढी देखिन्छ ।

‘यो भिटामिनले शरीरमा रातो रक्तकोषिका बनाउन मद्दत गर्छ । यसले मस्तिष्क र स्नायु कोषिकाहरूलाई बलियो बनाउन पनि काम गर्छ । विशेषगरी मधुमेहका बिरामीलाई पनि यस्ता भिटामिन दिइन्छ,’ उनी भन्छन् ।

यस्तै समस्या भिटामिन डी र क्याल्सियम सप्लिमेन्ट अधिक खानेहरुमा पनि देखिएको डा. प्याकुरेल बताउँछन् ।

‘सहरमा बाक्लो बस्ती छ । भिटामिन डीको प्रमुख स्रोत घाम देख्न बालबालिकादेखि वृद्ध समेतलाई मुस्किल छ । जसकारण भिटामिन डीको कमी बढ्दो छ । जसकारण हामीले परीक्षणले भिटामिन डी कमी भएको देखाएमा तीन महिनाका लागि सप्लिमेन्ट दिन्छौं,’ उनी भन्छन्, ‘कतिपयले यो अवधि लम्ब्याउँछन् । त्यसपछिको नतिजाले बिरामीलाई पिरोल्छ ।’

उनका अनुसार भिटामिन डी को ओभर डोज भएमा सास फेर्न गाह्रो हुने, पाचन सम्बन्धी समस्या, थकान, चक्कर लाग्ने, कुनै पनि कुरामा अलमल हुने, धेरै पिसाब लाग्ने र उच्च रक्तचाप लगायत समस्या देखिन्छ ।

क्याल्सियमको कुरा गर्ने हो भने चिकित्सकले सामान्यतया ४० वर्षको उमेरपछि महिलालाई क्याल्सियम खान सल्लाह दिन्छन् । क्याल्सियम एक खनिज हो जुन शरीरमा दाँत र हड्डीका साथै मुटु र मांसपेशीलाई बलियो बनाउन आवश्यक हुन्छ ।

यस्तो अवस्थामा लामो समयसम्म क्याल्सियमको सेवन गरेमा पत्थरी हुने खतरा बढ्छ । जसकारण मुटुका धमनीहरू कडा भएर त्यसमा बोसो र कोलेस्टेरोल बढ्न थाल्छ, जुन स्वास्थ्यका लागि राम्रो नहुने डा. प्याकुरेल बताउँछन् ।

बढी डाइटिङ गर्दा पोषण अभाव

पछिल्लो समय अस्पतालको ओपLडीमा आउने धेरैजसोमा डाइटिङ गरेकै कारण पोषक तत्व कमी भई स्वास्थ्य समस्या देखिएको पाउने गरेको डा. त्रिपाठी बताउँछन् ।

‘मानिसहरू आफ्नो स्वास्थ्यमा सचेत भइरहेका छन् । डाइटिङ पनि गरिरहेका छन् । बढी डाइटिङ गर्दा खानाको सन्तुलन बिग्रिन्छ र खानाबाट पाउन पर्ने भिटामिन पनि प्राप्त नहुन सक्छ,’ उनी भन्छन् ।

उनका अनुसार सन्तुलित आहारको सप्लिमेन्टसँग तुलना गर्न मिल्दैन । किनभने पौष्टिक आहारले शरीरमा आवश्यक तत्वको पूरा गर्न मद्दत गर्छ । तर सप्लिमेन्टले लक्षित समस्या समाधान गर्छ । सन्तुलनमा नखाए साइड-इफेक्ट पनि गराउँछ ।

यद्यपि खानेकुराले शरीरमा काम नगरेको केही अवस्थामा सीमित अवधिका लागि सप्लिमेन्टहरू लिनुपर्ने हुनसक्छ । जुन चिकित्सकको सल्लाहमा स्वास्थ्य परीक्षणपछि मात्रै लिनुपर्ने डा. त्रिपाठी बताउँछन् ।

औषधि भिटामिन सप्लिमेन्ट
लेखक
मनिषा थापा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय