+

काभा महिला क्लब भलिबल च्याम्पियनसिप जित्ने पुलिसको लक्ष्य

२०८१ भदौ  १९ गते १८:१९ २०८१ भदौ १९ गते १८:१९
काभा महिला क्लब भलिबल च्याम्पियनसिप जित्ने पुलिसको लक्ष्य

१९ भदौ, काठमाडौं । माल्दिभ्समा १५ देखि २१ सेप्टेम्बरसम्म (३० भदौदेखि ५ असोजसम्म) हुने काभा महिला क्लब भलिबल च्याम्पियनसिपमा नेपालबाट नेपाल पुलिस क्लब सहभागी हुँदैछ ।

सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) ले आयोजना गरेको उक्त प्रतियोगितामा नेपालको भलिबल लिग च्याम्पियनको हैसियतमा पुलिसले खेल्ने अवसर पाएको हो ।

च्याम्पियनसिपका लागि पुलिसले राष्ट्रिय टिमबाट अन्तर्राष्ट्रिय खेल खेलिरहेका खेलाडीलाई समेटेर टिम बनाएको छ । एपीएफबाट दुई र न्यू डायमण्ड क्लबबाट एक जना खेलाडी पनि पुलिसले लिएको छ ।

निरन्तर खेलिरहेका खेलाडी भएकाले यसपटक आफूहरुको तयारी राम्रो रहेको मुख्य प्रशिक्षक रुपेश विष्टले बताए । ‘क्लब गेम भएपनि पुलिसले राष्ट्रको प्रतिनिधित्वले गर्ने भएकाले च्याम्पियन बन्ने नै योजना हो’, उनले भने ।

खेलाडीहरुले त्रिपुरेश्वरस्थित भलिबल कभर्ड हलमा नै प्रशिक्षण गरेका छन् । कप्तान कमला पुनले प्रशिक्षण राम्रो भइरहेको बताइन् ।

पहिलो संस्करण भएकाले प्रतियोगिताबारे धेरै जानकारी छैन । सेन्ट्रल एसियाली क्षेत्रका ६ देखि ८ क्लबसम्म सहभागी हुने अनुमान गरिएको छ ।

सरस्वती,निरुता र सुमित्रा थपिए

पुलिसले काभा क्लब च्याम्पियनसिपका लागि एपीएफबाट सरस्वती चौधरी र निरुता ठगुन्ना तथा न्यू डायमण्डबाट सुमित्रा रेग्मीलाई अनुबन्ध गरेको छ ।
सरस्वती र निरुता स्पाइकर हुन् भने सुमित्रा मिडल ब्लकर हुन् ।

तीनै खेलाडी राष्ट्रिय टिमका सदस्य हुन् । पुलिसमा पनि राष्ट्रिय टिमका सदस्य उषा भण्डारी, कामना विष्ट, पुनम चन्द र शान्तिकला तामाङ गरी चार खेलाडी छन् । यस्तै राष्ट्रिय टिमबाट खेलिसकेका कमला पुन, मनिषा चौधरी र लक्ष्मी चन्द पनि छन् । यसरी पुलिसमा अहिले राष्ट्रिय टिमको अनुभव भएका १० खेलाडी छन् ।

प्रशिक्षक विष्टले सरस्वती, निरुता र सुमित्रा थपिएपछि सबै पोजिसनमा राम्रो खेलाडी रहेको बताए । ‘३ जना थपिँदा सबै पोजिसन कभर भएको छ । सबै पोजिसनमा बलियो नै छौँ । त्यहाँ गएर कति कम्बिनेसन मिल्छ भन्ने हो’, उनले भने ।

पुलिस क्लबका सदस्य उषा भण्डारी र कामना विष्टसँग राष्ट्रिय टिमबाट माल्दिभ्समै गएर खेलेको अनुभव छ ।

कप्तान कमला पुनले टिम बलियो बनाउन खेलाडी थप गरेको बताए । ‘गेम खेल्दा कोही घाइते होला, केही समस्या होला भनेर ३ जना थपिएको हो । पुलिस क्लबले नेपालकै प्रतिनिधित्व गर्ने भएकाले जित्नकै लागि हामीले टिम बलियो बनाएका हौं’, उनले भने ।

पहिलो पटक पुलिस क्लबबाट अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न लागेकी सरस्वती चौधरी पनि निकै उत्सहित छिन् । ‘एकदमै सहज भइरहेको छ । गुरु र हामी सबैले मिहिनेत गरिरहेका छौं । राम्रो प्रदर्शन हुन्छ जस्तो लागेको छ’, सरस्वतीले भनिन् ।

च्याम्पियन बन्ने लक्ष्य

मुख्य प्रशिक्षक विष्टले आफूहरुको रिसिभ र डिफेन्स बलियो रहेको बताए । ‘ब्लकमा अलि कमजोर होला कि भन्ने छ । तर हामी त्यसमा पनि सुधार गर्छौं’, उनले भने, ‘खेलमा कम्बिनेसन कस्तो बनाउने भन्ने हो । विपक्षीलाई हेरेर पोजिसन सेट गर्नुपर्छ ।’

यो प्रतियोगिताका लागि अरु देशले विदेशी खेलाडी ल्याएको सुनेको भन्दै प्रशिक्षक विष्टले पुलिसले नेपाली खेलाडी नै राखेर टिम बलियो बनाएको बताए ।

कप्तान पुनले अरु टिमको बारेमा धेरै जानकारी नभएकाले अहिले आफ्नो टिममा केन्द्रित हुनुपर्ने बताइन् । काभा क्लब च्याम्पियनसिपले आगामी दिनमा घरेलु लिगलाई अझै प्रतिस्पर्धी बनाउने बताइन् ।

‘एनभीएमा जित्ने टिमले खेल्ने भएपछि अर्को पटक डोमेस्टिकमा पनि धेरै प्रतिस्पर्धा हुन्छ । टिम अझ राम्रो हुनुपर्छ भन्ने हुन्छ’, उनले भनिन् ।

खेलाडी सरस्वती चौधरीले पनि यस्ता प्रतियोगिताले नयाँ खेलाडीलाई खेलप्रति प्रेरित गर्ने बताइन् । ‘सबै खेलाडीले मिहिनेत गर्छन् । म पनि यस्तो लिग खेल्नुपर्छ भन्ने सबै खेलाडीलाई हुन्छ’, उनले भनिन् ।

काभा महिला क्लब भलिबल
लेखक
गोविन्दराज नेपाल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय