+
+

एमयूमा स्ववियु ब्युँताउने चुनाव

यज्ञ खत्री यज्ञ खत्री
२०८१ भदौ १९ गते १८:३१

१९ भदौ, सुर्खेत । मध्यपश्चिम विश्वविद्यालय (एमयू)मा ६ वर्षपछि स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को चुनाव हुने भएको छ । विश्वविद्यालयको केन्द्रीय विभाग र एक आङ्गिक क्याम्पसमा २८ भदौमा स्ववियु निर्वाचन तोकिएको छ ।

सत्ता गठबन्धका नेपाली कांग्रेस र एमाले सम्वद्ध विद्यार्थी संगठनहरुले मित्रवत प्रतिस्पर्धा गर्ने सहमति गरेका छन् । माओवादी, एकीकृत समाजवादी र विप्लवको पार्टीले भने मोर्चा बनाएका छन् । तर ६ वर्षपछि स्ववियु ब्युँताउने गरी चुनाव हुन लागेकाले विद्यार्थीहरु उत्साहित देखिएका छन् ।

२०६९ सालबाट पठनपाठन सुरु भएको मध्यपश्चिम विश्वविद्यालयमा १२ भदौ २०७३ मा पहिलो पटक स्ववियु निर्वाचन भएको थियो । नेपाल विद्यार्थी (नेविसंघ) संघबाट झक्कुबहादुर शाही विजयी बने । स्ववियु कार्यसमितिको पदावधि साढे दुई वर्ष हुने व्यवस्था छ ।

तर स्ववियु कार्यसमितिको कार्यकाल पूरा नहुँदै २०७५ सालमा तत्कालीन उपकुलपति उपेन्द्र कोइरालाले विघटन गरिदिएका थिए ।

कोइरालाले विश्वविद्यालयका तत्कालीन रजिस्ट्रार महेन्द्रकुमार मल्ललाई २०७५ मंसिर १९ गते निलम्बन गरेका थिए । स्ववियुले निलम्बनको विरोध गरेपछि कोइरालाले स्ववियु नै विघटन गरिदिए ।

पदावधि सकिएर कोइराला बिदा भएको चार महिनापछि २०७६ फागुनमा नन्दबहादुर सिंह उपकुलपति भएर आए । उनले पनि तीन वर्षसम्म पनि विश्वविद्यालयमा स्ववियु निर्वाचन गराउन चासो देखाएनन् ।

‘नन्द सरले पनि हामीसँग स्ववियुका बारेमा कुनै पनि छलफल गर्नुभए’ स्ववियुका पूर्व सभापति झक्कु शाही भन्छन्, ‘त्यसपछि स्ववियुको कार्यकाल नै सकियो, आफैं निष्क्रिय बन्दै गयो ।’

उपकुलपति सिंहले आफ्नो कार्यकाल एक वर्ष बाँकी रहँदा ३ चैत्र २०७९ मा निर्वाचनको मिति तोके । मतदान हुनुभन्दा दुई दिन अगाडि व्यवस्थापन संकायका विद्यार्थीहरूले हालेको रिटमा उच्च अदालत, सुर्खेतले निर्वाचन स्थगित गर्न अन्तरिम आदेश दियो । तर त्यसले निरन्तरता पाएन ।

विश्वविद्यालयले व्यवस्थापन संकायलाई मिडवेस्ट युनिभर्सिटी स्कुल अफ म्यानेजमेन्ट (मुसोम) नाममा स्वायत्त शैक्षिक संस्था मानेको छ । मुसोममा ‘विद्यार्थी काउन्सिल’ छ । उच्च अदालतले मुसोममा विद्यार्थी काउन्सिल रहने भएकाले स्ववियु निर्वाचनमा सहभागी हुन नपर्ने फैसला गर्‍यो ।

विश्वविद्यालयका १० वटा मध्ये ९ आङ्गिक क्याम्पसमा निर्वाचन थियो । तर केन्द्रीय विभाग र दैलेखको नारायण क्याम्पसको चुनाव भएन । १७ फागुन २०८० मा तत्कालीन उपकुलपति सिंहको पदावधि सकिएयो । ध्रुवकुमार गौतम उपकुलपति भएपछि स्ववियुको निर्वाचनको प्रक्रिया अगाडि बढाए ।

निर्वाचनका लागि विश्वविद्यालयको केन्द्रीय विभाग स्ववियु निर्वाचन समितिले निर्वाचन तालिका समेत सार्वजनिक गरेको छ ।

निर्वाचन प्रक्रिया गत साउन ३१ गतेदेखि सुरु भएको र संघ–सङ्गठन दर्ता, मतदाताको प्रथम नामावली प्रकाशन, नामावलीमा दाबी विरोध, छानबिन र अन्तिम नामावली प्रकाशनको काम पूरा भएको स्ववियु निर्वाचन समितिका निर्वाचन अधिकृत उपप्राध्यापक त्रिभुवन बिसीले जानकारी दिए ।

‘भदौ १२ देखि २५ गतेसम्म प्रचारप्रसार अवधि तोकिएको छ । मौन अवधि २५ गते राति १२ बजे सुरु हुनेछ,’ निर्वाचन अधिकृत बिसीले भने, ‘भदौ २८ गते बिहान साढे ७ बजेदेखि अपराह्न ५ बजेसम्म मतदान हुनेछ ।’

निर्वाचनमा सभापतिका लागि ६ जना भिड्दैछन् । उम्मेदवारी सात जनाको परे पनि स्वतन्त्रबाट उम्मेदवारी दिएका दीपेश चन्द्रले अखिल क्रान्तिकारीलाई सघाउने भन्दै उम्मेदवारी फिर्ता लिएका छन् ।

मध्यपश्चिम विश्वविद्यालयमा अध्ययनरत ३ हजार ३९० जना विद्यार्थीहरूले यसपटक स्ववियुमा १७ जनाको कार्यसमिति छान्दैछन् । आगामी भदौ २८ गते हुने निर्वाचनबाट अध्यक्ष, सचिव र कोषाध्यक्षसहित १० जना प्रत्यक्ष र ९ जना समानुपातिक मतबाट गरी १७ जनाको कार्यसमिति चयन हुनेछ ।

स्ववियु अध्यक्षमा यसपटक पाँच भ्रातृ सङ्गठन र एक स्वतन्त्र गरी ६ जनाले उम्मेदवारी दिएका छन् । निर्वाचन अधिकृत बिसीका अनुसार नेपाल विद्यार्थी संघबाट रोशन बस्नेत, अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)बाट जगतजंग शाही, अखिल क्रान्तिकारीबाट दीपक खड्का, राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी सङ्गठनबाट उमेश उपाध्याय, नेपाल क्रान्तिकारी विद्यार्थी संघबाट अस्मिता सुनार र स्वतन्त्र उम्मेदवार युवराज चपाईंले अध्यक्षमा उम्मेदवारी दिएका छन् ।

स्ववियु निर्वाचनमा सात ओटा विद्यार्थी सङ्गठनहरूले समानुपातिक सूचिका लागि सङ्गठनको नाम दर्ता गराएको निर्वाचन अधिकृत बिसीले जानकारी दिए ।

उनका अनुसार नेपाल विद्यार्थी संघ (नेविसंघ), अनेरास्ववियु, अखिल क्रान्तिकारी, नेपाल क्रान्तिकारी विद्यार्थी संघ, अनेरास्ववियू, अखिल नेपाल विद्यार्थी युनियन (समाजवादी) र राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी सङ्गठन समानुपातिक सूचिका लागि दर्ता भएका छन् ।

केन्द्रीय विभाग अन्तर्गत सचिवमा पदमा ५ जना, कोषाध्यक्ष पदमा ५ जना र सदस्य पदमा २२ जनाको उम्मेदवारी परेको छ ।

सदस्यमध्ये सात जना प्रत्यक्ष निर्वाचनबाट र सात जना समानुपातिक पद्धतिबाट निर्वाचित हुनेछन् । निर्वाचित १४ जना सदस्यमध्येबाट कार्यसमितिले एक उपाध्यक्ष र एक सहसचिव चयन गर्ने व्यवस्था छ । यसरी कार्यसमितिमा पाँच जना पदाधिकारी र १२ जना सदस्य रहने छन् ।

मित्रवत् प्रतिस्पर्धा

सत्ता गठबन्धन निकट विद्यार्थी भ्रातृ सङ्गठनहरूले स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा मित्रवत् प्रतिस्पर्धामा उत्रिएका छन् ।

सुरुमा कांग्रेस निकट नेविसंघ र एमाले निकट अनेरास्ववियुले गठबन्धन गरेर चुनाव लड्न छलफल समेत गरेका थिए । तर मित्रवत् रूपमा नै चुनाव लड्ने सहमति भएको अनेरास्ववियुु मध्यपश्चिम विश्वविद्यालय राष्ट्रिय कमिटीका सह–संयोजक सचिन तिमिल्सेना बताउँछन् ।

‘माथि दलहरू मिले भन्दैमा हामी मिल्नुपर्छ भन्ने पनि छैन । केही पदीय भागबण्डा पनि मिलेन,’ तिमिल्सेनाले अनलाइनखबरसँग भने, ‘पछि मित्रवत् प्रतिस्पर्धामा जाने निर्णय गर्‍यौ ।’

नेविसंघ मध्यपश्चिम विश्वविद्यालयका नेता दीपक उपाध्याय पनि मित्रवत् प्रतिस्पर्धा गर्ने बताउँछन् ।

माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी, एकीकृत समाजवादी निकट अनेरास्ववियू र विप्लव निकट अखिल (समाजवादी) विद्यार्थी सङ्घटनले भने समाजवादी मोर्चाको नाममा चुनावी गठबन्धन गरेका छन् ।

अध्यक्ष पदमा अखिल क्रान्तिकारीका खड्का उठेका छन् भने अखिल (समाजवादी)बाट सचिवमा चीनबहादुर सहकारी र अनेरास्ववियूबाट दिलबहादुर शाही कोषाध्यक्षको उम्मेदवार बनेका छन् ।

लेखकको बारेमा
यज्ञ खत्री

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?