+
+

टेलिग्रामः अपराधीका लागि स्वर्ग बनेको इन्टरनेटको डार्क वेब

जो टाइडी जो टाइडी
२०८१ भदौ १९ गते १८:४०

करिब ९ महिनाअघि एउटा सामाग्री तयार पार्नका लागि मैले अनुसन्धान गरिरहेको थिएँ। त्यसक्रममा थाहा भयो कि मलाई एक टेलीग्राम च्यानलमा जोडिएको रहेछ जुन पूर्ण रूपमा लागुऔषध बेच्नमा केन्द्रित थियो। त्यसपछि, मलाई अर्को च्यानलमा जोडियो जुन ह्याकिङसँग सम्बन्धित थियो। अनि चोरी भएका क्रेडिट कार्डहरूसँग सम्बन्धित अर्को च्यानलमा पनि मलाई जोडियो।

आखिर किन यस्तो भइरहेको छ ?  ध्यानपूर्वक हेर्दा मलाई थाहा भयो कि टेलीग्रामको सेटिङ्सका कारणले गर्दा यस्तो भएको हो। टेलिग्राममा यस्तो सेटिंग्स छ जसले प्रयोगकर्ताको अनुमति विनै उसलाई विभिन्न च्यानलमा जोड्न सकिन्छ। यसका बावजुद मैले आफ्नो टेलिग्राम अकाउन्टका सेटिङ परिवर्तन गरिन। मलाई केही महिनाभित्रै ८२ वटा विभिन्न ग्रुपमा जोडिएको थियो।

फेरि एक दिन मैले यो सिलसिला रोक्ने निर्णय गरेँ र ऐपको सेटिङ्स परिवर्तन गरेँ। त्यसपछि यी सिलसिला सबै बन्द भए। तर, अहिले जब मैले एपमा लग इन गर्छु, मेरो सामु टेलीग्राममा रहेका अत्यन्त सक्रिय दर्जनौं अवैध ग्रुप्सका हजारौं नयाँ म्यासेजहरू तैरिरहेका छन्।

यसबीच, टेलीग्रामका अरबपति सिईओको फ्रान्समा गिरफ़्तारीले यस एपमा नियमनको बारेमा नयाँ बहस सुरु गरेको छ । टेलीग्रामका मुख्य कार्यकारी अधिकृत (सीईओ) पावेल दुरोभलाई टेलीग्राममा अवैध लेनदेन, ड्रग्सको तस्करी, ठगी र बालबालिकाको यौन दुर्व्यवहारसँग सम्बन्धित तस्बिरहरूको प्रसारमा संलग्नताको आरोप लगाइएको छ।

 आफ्नै खल्तीमा रहेको डार्क वेब

हुन त अन्य सामाजिक सञ्जालहरूमा पनि आपराधिक गतिविधिहरू भइरहेका छन् भन्नेमा कुनै संदेह छैन। तथापि साइबर-सिक्योरिटी पॉडकास्टर प्याट्रिक ग्रेले त टेलीग्रामलाई ‘तपाईंको खल्तीमा रहेको डार्क वेब’ भनी नामाकरण गरेबाट यो अन्य सामाजिक सञ्जालभन्दा खतरापूर्ण रहेको प्रष्ट हुन्छ।

डार्क वेब इन्टरनेटको त्यो हिस्सा हो जहाँ विशेष सफ्टवेयर र जानकारीको माध्यमबाट मात्र पहुँच गर्न सकिन्छ। सन् २०११ मा सिल्क रोड मार्केटप्लेसको लञ्च पछि, गैरकानूनी सामान र सेवाहरू बेच्ने वेबसाइटहरूको एउटा पूरै श्रृंखला देखापरेको छ ।

टेलिग्राम सिइओ दुरोभको गिरफ्तारीका विषयमा प्याट्रिक ग्रेले आफ्नो पॉडकास्ट ‘रिस्की बिजनेस’ मा टिप्पणी गर्दै भनेः टेलीग्राम लामो समयदेखि अपराधको स्वर्ग बनेको छ।

उनले भनेका ५न् हामी टेलीग्राममा प्रसारित भइरहेको बालबालिकाको यौन दुर्व्यवहारसँग सम्बन्धित सामग्री, ड्रग्सको व्यापार, र आपराधिक गतिविधिहरूको डार्क वेब स्तरमा पुग्ने मुद्दा बारम्बार उठाउँदै आएका छौँ। तर, टेलीग्राम यसलाई रोक्नको लागि केही गर्न सकेको छैन।

डार्क वेब अपराधीहरूको लागि रोजाइको स्थान हो किनकि यसले अपराध गरेर गुमनाम रहन सजिलो बनाउँछ। वास्तवमा, विश्वभरि इन्टरनेट ट्राफिकको प्रचुरता छ जसले व्यक्तिहरूको अवस्थितिलाई लुकाउन सहयोग गर्दछ।

यसैले टेलीग्राम जस्ता सामाजिक च्यानलहरूमा केही युजरनेमको पछाडि वास्तवमा को व्यक्ति छ भनेर थाहा पाउनु अत्यन्तै कठिन हुन्छ।

टेलीग्रामको रबैयाले बढायो चिन्ता

९ हजार ११९ सदस्यहररु रहेको एक ड्रग्स ग्रुपमा गाँजा, गाँजाका कुकीहरू र अवैध नशालु पदार्थका कारोबारीहरुको अड्डा छ। यसमा उत्पादन र ग्राहक समीक्षाहरू पनि लगातार शेयर गरिन्छन्।

त्यस्तै ६ हजार २३५ सदस्यहरूको ड्रग्ससँग सम्बन्धित एक च्यानलमा विभिन्न प्रकारका नशालु पदार्थहरू उपलब्ध छन्। यस च्यानलमा शहरमा कहाँ-कहाँ नशालु पदार्थहरू प्राप्त गर्न सकिन्छ भन्ने जानकारी पनि दिइन्छ।

साइबर सिक्योरिटी कम्पनी इंटेल४७ का शोधकर्ताहरूले भनेका छन्, ‘टेलीग्रामभन्दा पहिले यस प्रकारका गतिविधिहरू लुप्त डार्क वेब सेवाहरूको प्रयोग गरेर अनलाइन मार्केटमा भइरहेका थिए। तर अब, साना स्तरका साइबर अपराधीहरूको लागि टेलीग्राम सबैभन्दा लोकप्रिय अनलाइन बजार बनेको छ।’

केही समय पहिले ह्याकर ग्रुप चिलिनले बेलायतका सरकारी अस्पतालहरूबाट फिरौति असूल्नका लागि रक्त परीक्षणका डाटा सार्वजनिक गरिदिएको थियो। र उसले ती डाटा आफ्नो डार्क वेब वेबसाइटभन्दा पहिले आफ्नो टेलीग्राम च्यानलमा राखेको थियो।

स्पेन र दक्षिण कोरियाली छात्राहरूको नक्कली तथा नग्न तस्बिरहरू बनाउन प्रयोग गरिएको डीप फेक सर्भिसले टेलीग्राममा नै आफ्ना सम्पूर्ण गतिविधि सञ्चालन गर्छ। यसमा भुक्तानी सेवा पनि समावेश छ।

हुनत इंस्टाग्राममा पनि ड्रग्सको व्यापार गर्ने व्यक्तिहरूलाई भेट्न सकिन्छ। यस्ता सोसल मिडिया साइटहरूमा प्राइभेट च्याट्समार्फत मात्र व्यापार हुन्छ।

ड्रग्सको व्यापार गर्नेहरू प्रायः यस्ता साइटहरूमा आफ्ना टेलीग्राम च्यानलहरूको विज्ञापन गरिरहेका हुन्छन् । वास्तवमा, यी व्यक्तिहरू मानिसहरूलाई आफ्ना प्लेटफर्ममा ल्याउन यस्ता विज्ञापनहरू दिन्छन्।

बालबालिकासँग यौन दुर्व्यवहारसँग सम्बन्धित सामग्रीमा टेलीग्रामको रवैया टेलीग्रामले भने निश्चित मानकहरुको आधारमा प्लाटफर्मको नियमन हुने गरेको छ। तर उसको दावीको विपरीत प्रमाणहरू रहेका छन्। टेलिग्राम अपराधको एक त्यस्तो क्षेत्रमा पनि संलग्न थियो जुन कमै देखिन्छ र त्यो हो बालबालिकासँग यौन दुर्व्यवहारसँग सम्बन्धित सामग्री।

टेलीग्रामले पुलिस र केहि च्यारिटीका तर्फबाट च्यानलका केही सामग्रीहरू हटाउन गरिएको आग्रहको कार्यान्वयन गर्ने भएपनि  बालबालिकाको यौन दुर्व्यवहारसँग सम्बन्धित तस्बिर र भिडियोहरू फैलिनबाट रोक्न भने सक्रिय कदम नउठाउने गरेको पाइएको छ।

फ्रान्सका सरकारी अभियोजकहरूका अनुसार, टेलिग्रामले आफ्ना च्यानलहरूमा बालबालिकासँग यौन दुर्व्यवहारसँग सम्बन्धित सामग्रीमा निगरानी राख्नका लागि पर्याप्त कदम उठाएको छैन। यो टेलीग्राममाथि लगाइएका आरोपहरूमध्ये एक प्रमुख आरोप थियो।

फ्रान्सको बाल संरक्षण एजेन्सी अफमिनका महासचिव ज्या मिशेल बर्निगदले लिंक्डइनमा भनेका छन्, “वास्तवमा समस्याको जरो भनेको टेलीग्राममा मोडरेशन र सहयोगको कमी हुनु रहेको छ। विशेष गरी बालबालिकाविरुद्धको अपराधविरुद्धको लडाइँमा टेलीग्रामको रवैया स्पष्ट देखिन्छ।”

तर टेलीग्रामले आफ्नो साइटमा बालबालिकासँग यौन दुर्व्यवहारसमेत सबै गैरकानूनी गतिविधिहरू रोक्न सक्रिय रूपमा काम गरिररहेको बीबीसीसँग बताएको छ।

उसका अनुसार अगस्ट महिनामा मात्रै ४५ हजार यसत्ता  ग्रुप विरुद्ध कारवाही गरिएको छ। तर यसले के कार्यवाही गरिएको छ भन्ने जानकारी भने प्रदान गरेको छैन। त्यस्तै सिइओ दुरोभले टेलिग्राममा करीब ३० इन्जिनियरलाई नियुक्त गरेको गत जुनमा बताएका थिए।

पुलिसलाई सहयोग गर्दैन टेलिग्राम

मोडरेशनको नहुनु वा यसको कमी टेलीग्रामको समस्याको केवल एक भाग हो। अर्को ठूलो समस्या भनेको पुलिसलाई सहयोग नगर्नु हो। पुलिसको तर्फबाट अवैध सामग्री हटाउने अनुरोधमा टेलीग्रामको रवैयाको कारण पनि यसलाई आलोचनाको घेरामा राखिएको छ।

इन्टरनेटमा विश्वास र सुरक्षा सुनिश्चित गर्न प्रयोग हुने सफ्टवेयर प्लेटफर्म सिंडरका सह-संस्थापक ब्रायन फिशम्यानले लेखेका छन्, ‘टेलिग्राम एक अलग स्तरमा छ।

यो आईएसआईएसको लागि वर्षौंदेखि एक प्रमुख केन्द्र भएको छ। यो बालबालिकासँग यौन दुर्व्यवहारसँग सम्बन्धित सामग्रीका विरुद्ध पनि कठोर छैन। यसले विद्यमान कानूनी प्रावधानहरूलाई पनि नजरअन्दाज गर्छ।’

कतिपय विश्लेषकहरु चाहीँ टेलीग्रामसँग पुलिसलाई रिपोर्ट गर्नका लागि यस्ता गतिविधिको डेटा नै नभएको बताउँ५न् । वास्तवमा सिग्नल र व्हाट्सएप जस्ता अत्यन्त निजी मोबाइल एप्ससँग पनि यही समस्या छ।

यदि प्रयोगकर्ताले कुनै गोप्य च्याट विकल्प अपनाउँछ भने टेलीग्रामले यसलाई अन्य एप्सजस्तै उच्च स्तरको गोपनीयता प्रदान गर्छ। टेलीग्राममा यस्ता सीक्रेट च्याट, सिग्नल र व्हाट्सएप जस्तै छन् जसले एंड-टू-एंड एन्क्रिप्शन (गुप्त कोडमा सन्देश पठाउने सुविधा) प्रदान गर्छन् ।

यसरी कुनै संवाद र गतिविधिहरू पूर्ण रूपमा निजी रहन्छन्। यहाँसम्म कि टेलीग्रामले पनि तिनीहरूलाई हेर्न सक्दैन। तर टेलीग्राममा यो फिचर डिफल्ट रूपमा सेट गरिएको छैन।

त्यसैले टेलीग्राम यसमा भएको सबै सामग्री पढ्न सक्छ र चाहेको खण्डमा पुलिसलाई जानकारी दिन सक्छ। तर यसको सर्तहरू र नियमहरूमा भनिएको छ कि यो यस्तो गर्दैन।

फ्रान्सेली अधिकारीहरूका अनुसार फ्रान्स र बेल्जियमको पुलिस र कानून कार्यान्वयन निकायहरुको  तर्फबाट गरिएका कानूनी अनुरोधहरू टेलिग्रामले नजरअन्दाज गर्दै आएको छ र यस्तो व्यवहार उसको इतिहास नै बनेको छ। बीबीसीबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?