+
+

राजनीतिको तबला नोटेशनमा नबज्दा फेसबुकमा अनफलो नोटिफिकेशन

सिंहदरबार जलाउने, सडक विभागमा फोहोर फाल्ने लगायत कडा बोलीव्यवहारमा ओर्लदै आएका काठमाडौं मेयर शाहले प्रधानमन्त्री ओली विरुद्ध फेसबुकमा अनफलो अभियान चलाएका छन् । साहले औपचारिक जिम्मेवारी नलिए पनि उनी निकटस्थहरु यस अभियानमा सक्रिय छन् ।

अमृत चिमरिया अमृत चिमरिया
२०८१ भदौ १९ गते २०:११

१९ भदौ, काठमाडौं । काठमाडौंका मेयर बालेन्द्र शाहले एमाले अध्यक्ष केपी ओलीबाट दुई वर्षअघि तबला उपहार पाएका थिए । अचेल उनीहरूको सम्बन्धमा कुनै संगीत छैन ।

बालकोट निवासको भुइँतलामा कलाकार, लेखकहरूसँग बेलाबखत सत्संग गर्ने ओलीले र्‍याप संगीत हुँदै राजनीतिमा उदाएका युवा मेयरलाई तबला दिनुले आफैंमा सांकेतिक अर्थ राख्थ्यो ।

त्यस बेला प्रतिपक्षमा रहेका ओली डेढ महिनाअघि प्रधानमन्त्री बनेका छन् । स्थानीय सरकारका प्रमुखका रूपमा काठमाडौंका मेयर शाहले संघीय सरकार प्रमुख ओलीसँग भने निरन्तर दूरी बढाउँदै लगेका छन् ।

र यो दूरी नयाँ सडकको किचलोदेखि फेसबुकका भित्तासम्म फैलिंदो छ । रोचक के छ भने संसदीय चुनावमा समानुपातिक पद्धतिमा सबैभन्दा बढी मत पाउने एमाले, अनि स्थानीय चुनावमा काठमाडौंमा ठूलो मतान्तर सहित जितेका स्वतन्त्र नेता शाह यतिबेला भर्चुअल स्पेसमा को बलियो देखिने भन्ने प्रतिस्पर्धामा छन् ।

दुवैले यो किचलोको औपचारिक स्वामित्व नलिए पनि फेसबुक स्टाटस र कमेन्टका भाषा पढ्दा त्यसको स्रोत स्पष्ट हुन्छ ।

सिंहदरबारमा आगो लगाउने शाहको फेसबुक धम्की होस् या न्यूरोड विस्तारमा सडक विभागसँग परेको किचलो, यो दूरी निरन्तर बढ्दो छ ।

सुरुमा शाहलाई युवा पुस्ताको प्रतिनिधि भन्दै प्रोत्साहन दिंदै आएका ओलीले यतिबेला भने घुमाउरो आलोचना गर्न थालेका छन् । मेयर शाहले गिरिबन्धु टी इस्टेटको जग्गा प्रकरणमा निरन्तर आफूलाई मुछ्दै अभिव्यक्ति दिन थालेपछि ओलीले केही समयअघि उनको नाम नलिई भनेका थिए, ‘भैंसीको ढाडमा झिंगा बस्यो कि के बस्यो, भैंसीले थाहा पनि पाएको हुँदैन, झिँगा दङ्ग परेको हुन्छ, चार लात हानें भनेर । म कसैसँग अनावश्यक ढंगको विवादमा पर्न चाहन्नँ ।’

यद्यपि ओलीलाई प्रत्यक्ष लक्ष्य गर्दै शाहले निशाना लगाउन छाडेका छैनन् । शाहले ओली र एमाले तर्फबाट लुम्बिनी प्रदेश सांसद जित्ने कार्यकर्ताको बारेमा लेखेको स्टाटस फेसबुकले मेटाइदिएपछि यो भर्चुअल द्वन्द्व उत्कर्षमा पुगेको छ ।

ओलीविरुद्ध शाहका टिप्पणीहरु चुलिंदै जाँदा शाहका निकटस्थ र समर्थकहरुले ओलीको फेसबुक पेजलाई अनफलो गर्ने अभियान समेत थालेका छन् ।

एमालेका एक नेताले अनलाइनखबरलाई बताए अनुसार दुई दिनमा ४२ हजार फलोअर्सले ओलीको पेजमा अनफलो गरेका छन् ।

प्रधानमन्त्री निकट स्रोत यस्ता अभियानले सरकारका कामहरुलाई फरक नपर्ने जिकिर गरिरहेको छ । तर एमाले महासचिव शंकर पोखरेलले भने फेसबुकमा पछ्याउनका लागि एमाले अध्यक्षको आधिकारिक पेज भन्दै ओलीको लिंक सेयर गरेका छन् । ओलीले मतलब नगरे जस्तो देखिए पनि एमालेभित्र अनफलो अभियानको असर परेको देखिन्छ ।

बेलाबखतमा अलोकप्रिय अभिव्यक्ति दिन समेत पछि नहट्ने ओलीलाई फेसबुकमा हैरानी दिन शाह समर्थकहरु अग्रसर हुनुको निश्चित अर्थ छ ।

उनीहरुले विभिन्न फेसबुक ग्रुपहरु निर्माण गर्ने तथा त्यसमा सहभागी भएर कमेन्ट गर्ने गर्छन् । स्वयं मेयर शाहले विगतमा कांग्रेस र एमाले जस्ता शक्तिशाली संगठन, अनि जनाधारको विरासत भएका पार्टीका उम्मेदवार हराउँदै स्थानीय चुनावमा मेयर जित्नुमा यस्ता अनौपचारिक प्लाटफर्महरुको योगदान थियो ।

चुनाव जितेपछि ओलीको धाप पाएका शाहले रचनात्मक काममा सहयोग समेत पाउने प्रतिबद्धता लिएर बालकोटबाट फर्केका थिए । तर विभिन्न निर्णय र कार्यशैलीका कारण शाहको सम्बन्ध स्थानीय तहमा एकैनाश रहन सकेन । उपमेयर सुनिता डंगोल लगायत कतिपय वडाध्यक्षले शाहको कार्यशैलीबारे प्रश्न उठाउन थालेका छन् ।

यो शृंखलालाई लुम्बिनीकी प्रदेश सांसद रेखाकुमारी शर्माको विषयले उत्कर्षमा ल्याइदिएको छ । शर्मालाई बालश्रमिक दुर्व्यवहारको अभियोगमा प्रहरीले अनुसन्धान दायरामा नल्याएको शाहको आक्रोश छ, जसलाई लक्षित गर्दै उनले लेखेको स्टाटस फेसबुकले हटाइदिएको शाह निकटस्थहरु दाबी गर्छन् ।

शाह आफैं भने सरकारले स्टाटस हटाएको दाबी गर्छन् । मंगलबार साँझ फेसबुकमा उनले लेखे, ‘पोस्ट उडाउने होइन, दोषी समाऊ सरकार । म गलत हो भने मलाई समाऊ, होइन भने दोषी समाऊ ।’

शाहले आफ्नो स्टाटस सरकारले हटायो भन्दै गर्दा निकटस्थ भने अघिल्लो स्टाटसमा सांसद शर्मा लक्षित अभिव्यक्ति र त्यसमा प्रयुक्त तस्वीरका कारण अरु प्रयोगकर्ताले हानेको रिपोर्टलाई फेसबुकले सम्बोधन गरेको बताउँछन् ।

व्यक्तिलक्षित तस्वीर राखेर निरन्तर आक्रमण गर्दा फेसबुकको कम्युनिटी गाइडलाइन पोलिसी आकर्षित हुन्छ ।

आइतबार मेयर शाहले सांसद शर्मालाई आठ वर्षदेखि बालिकालाई श्रमिक बनाएको अभियोगमा छानबिन गर्नुपर्ने माग गरेका थिए । उनले अदालतको आदेश पालना गर्नु पनि सुशासनकै पाटो भएको भन्दै शर्मालाई पक्राउ गर्न र कारबाही प्रक्रिया अघि बढाउन चेतावनी दिएका थिए ।

शाहले शर्मा लक्षित टिप्पणी मात्रै गरेनन्, उनले प्रधानमन्त्री केपी शर्मा ओलीप्रति समेत आक्रोश लक्षित गरे । उनले ‘आफ्ना कार्यकर्तालाई सामान्य ज्ञान सिकाएर राजनीतिमा लगाउन’ सल्लाह समेत दिए । शाहको बोली र शैलीलाई लिएर एमाले पक्ष प्रतिवादमा ओर्लन थालेको छ ।

स्थानीय सरकारको प्रमुख भएर शाह किन संघीय सरकार प्रमुख विरुद्ध पटक–पटक शृंखलाबद्ध अभिव्यक्ति दिइरहेका छन्, त्यसको पृष्ठभूमि बुझ्न दुई महिनाअघिको प्रसंगमा जाऔं ।

काठमाडौं महानगरपालिकामा प्रशिक्षार्थी रहेका केही विद्यार्थी १३ जेठमा परिवार बाहेकका व्यक्तिसँग बस्ने बालबालिकाको विवरण संकलन गर्न काठमाडौंको सामुदायिक विद्यालयमा पुगेका थिए ।

त्यसै सिलसिलामा एक नाबालिकालाई काममा लगाइएको र श्रम शोषण भएको उनीहरुले जानकारी ल्याएका थिए । ती बालिका लुम्बिनी प्रदेश सांसद रेखाकुमारी शर्माको काठमाडौंस्थित घरमा ६ वर्षदेखि बसिरहेकी थिइन् । शर्मा एमालेबाट निर्वाचित लुम्बिनी प्रदेशसभा सदस्य हुन् ।

शर्माका पति पेट्रोलपम्प व्यवसायलगायत काममा व्यस्त हुने भएकाले काठमाडौं नबस्ने, शर्मा स्वयं पनि लुम्बिनीमै रहने भएकाले बच्ची काठमाडौंमा एक्लै परेको देखिन्छ ।

सर्वेक्षणमा सहभागी विद्यार्थीलाई ती बालिकाले आफूमाथि कुटपिट हुने गरेको बताएकी थिइन् । घरधनी (प्रदेश सांसद शर्माको परिवार)ले हात र पाइपले पिट्ने गरेको भन्दै उनले घरमा पोछा लगाउने, खाना बनाउने, बिरुवामा पानी हाल्ने लगायतका काम गर्नुपरेको बताएकी थिइन् ।

बालश्रमिक उद्धार कार्यदलका सदस्य प्रवीण सिलवालका अनुसार १४ जेठमा नेपाल प्रहरी, बालबालिका खोजतलास सेवा (टेलिफोन नम्बर १०४), वडाका जनप्रतिनिधि र बाल उद्धार कार्यदलको टोलीले उनलाई अस्थायी संरक्षण गृहमा लग्यो । मनोविमर्शकर्तासँगको मनोपरामर्शमा बालिकाले आफू घरेलु श्रमिकको रुपमा रहेको बताएकी थिइन् ।

नाबालिकाको अवस्था दयनीय भएको भन्दै महानगरपालिकाको कार्यदलले तत्काल ती बालिकाको उद्धार गरी संरक्षण गृहमा राख्यो ।

बालिकाको उद्धारका क्रममा महानगरपालिकाको नगरप्रहरी, वडाका प्रतिनिधि र प्रहरी समेत घटनास्थलमा पुगेर मुचुल्का गराएका थिए ।

२५ जेठमा महानगरपालिकाका कर्मचारीले प्रहरीलाई जाहेरी दिन खोजे । प्रहरीले जाहेरी लिन नमानेपछि ३० जेठमा सरकारी वकिलको कार्यालय, काठमाडौंमा जाहेरी दर्ता गरे । मेयरको सचिवालयको दाबीमा, यसबीचमा प्रहरीले जाहेरीको सूचना सांसद शर्मालाई पुर्‍याइसकेको थियो ।

उनलाई यातना समेत दिएको भेटिएपछि काठमाडौं महानगरपालिकाले प्रदेश सांसद शर्मा विरुद्ध प्रहरीमा उजुरी दिएको थियो ।

छोरीको उद्धार गरेर संरक्षणगृहमा राखेको थाहा पाएपछि ती नाबालिकाका बाबु काठमाडौं आए । मेयर साहले सांसद शर्माकै दबाबमा उनी काठमाडौं आएको भनी सामाजिक सञ्जालमा दाबी गरेका छन् ।

काठमाडौं आएका बाबुले छोरीलाई काठमाडौं महानगरपालिकाले गैरकानुनी रुपमा कब्जामा लिएर संरक्षण गृहमा पठाएको भन्दै बन्दीप्रत्यक्षीकरणको मुद्दा हाले ।

बाबुले ‘मेरै सल्लाहले छोरीलाई रेखाकुमारी शर्माको घरमा पठनपाठनको लागि राखेकामा जबर्जस्ती बन्दी बनाएकाले छोरीलाई मुक्त गरिपाउँ’ भनेर निवेदन दिएका थिए । सुनुवाइका दौरान सर्वेक्षण कागजात परीक्षण र अरु कुरा बुझ्न इजलासले नाबालिकासँग गोप्य कुराकानी गरेको थियो ।

बालिकाको विषयमा दुई न्यायाधीशबीच राय बाझिएपछि सर्वोच्च अदालतले संयुक्त इजलासबाट कुनै निर्णय दिन सकेन ।
तीन सदस्यीय पूर्ण इजलासले बालिकालाई बाबुआमाको जिम्मा लगाउन र उनलाई काठमाडौंमै बसेर पढ्ने व्यवस्था मिलाउन काठमाडौं महानगरपालिकाका नाममा आदेश दियो ।

न्यायाधीशहरु सपना प्रधान मल्ल, डा. नहकुल सुवेदी र टेकप्रसाद ढुंगानाको इजलासले महानगरलाई दिएको आदेशको पूर्णपाठ तयार भइसकेको छैन ।

काठमाडौं महानगरपालिकाले प्रदेश सांसद शर्मा विरुद्ध बालबालिकालाई श्रममा लगाएको आरोपमा सरकारी वकिलको कार्यालय, काठमाडौंमा जाहेरी दर्ता गराएको थियो । दर्ता भएको भोलिपल्ट आफूमाथि धरपकड हुनसक्ने भन्दै प्रदेश सांसद शर्माले निषेधाज्ञाको निवेदन लिएर उच्च अदालत पाटन पुगिन् ।

प्रहरीले सांसद शर्मालाई पक्राउ नगरेको भन्दै काठमाडौं महानगरपालिकाका मेयर साहले आक्रोश पोखिरहेका छन् ।

सोमबार मात्रै अनेरास्ववियुका अध्यक्ष समिक बडालले मेयर शाह अदालतको आदेशको मर्मविपरीत जान खोजेको भन्दै आक्रोश पोखेका थिए । त्यसलगत्तै मेयर शाहले प्रधानमन्त्री केपी शर्मा ओलीको नाम नै लिएर आक्रोश पोखेका हुन् ।

‘प्रहरीले जाहेरी लिनै मानेन, सरकारी वकिलको कार्यालयमा दर्ता भएको जाहेरीको प्रक्रिया पनि अघि बढेन । सरकारले नै सबै प्रक्रिया अवरुद्ध गर्‍यो’ मेयर शाहको सचिवालयका कर्मचारी धिरज जोशीले अनलाइनखबरसँग भने, ‘त्यसैको आक्रोशस्वरुप मेयरज्यूले आफ्नो भनाइ सामाजिक सञ्जालमा राख्नुभएको हो ।’

करिब महिना दिनअघि जिल्ला प्रहरी परिसर भद्रकालीमा पुगेर सांसद शर्माले आफूमाथि लागेको आरोपमा सत्यता नरहेको दाबी गरेकी थिइन् । बाहिर आएको जस्तो बालिकाको श्रमशोषण र यातना नदिइएको दाबी उनको थियो ।

सांसद शर्माका अनुसार उनको परिवारमा श्रीमान्, आफू र एक छोरी मात्रै छन् । श्रीमान् अचेल दाङमै पेट्रोल पम्प व्यवसाय गरेकाले उतै बस्ने गरेको उनको भनाइ थियो । सांसद भएपछि आफू पनि दाङमै बस्ने गरेको उनले बताएकी छिन् । छोरीको समेत बिहे भएर भक्तपुर गएपछि धुम्बाराहीको घरमा पीडित भनिएकी बालिका एक्लै बस्ने गरेको उनको भनाइ छ ।

‘एक्लै बस्ने भएकाले उनले आफ्ना लागि खाना पकाउने, भाडा माझ्ने, लुगा धुने जस्ता काम आफैं गरेकी हुन् । यसमा हामीले श्रमशोषण गरेको होइन/छैन । उनको पढाइ समेत धुम्बाराहीमै रहेकाले बीचमै पढाइ छुटाएर दाङ लैजान नमिल्ने भएकाले उनी एक्लै काठमाडौंमा बसेकी हुन्’, सांसद शर्माको भनाइ छ ।

घटनाबारे अनुसन्धान नगरेको भन्ने विषयबारे भने जिल्ला प्रहरी परिसर काठमाडौंले खण्डन गरेको छ । काठमाडौंका एसएसपी वसन्त रजौरेले भने, ‘जाहेरी दर्ता भएको छ । यो लिगल प्रोसेसमा गइसकेको विषय हो । अनुसन्धानकै क्रममा रहेको विषय भएकाले अहिले बढी नबोलौं ।’

शाहका पक्षधरले प्रधानमन्त्री ओलीको पेजमा अनफलो अभियान चलाएकोमा उनको सचिवालयले मुख खोलेको छ । प्रधानमन्त्रीका प्रेस संयोजक रामशरण बजगाईंले सोसल मिडियामा एकाधिकार चलाउने मेयर शाहको सोच यस अभियानमा प्रकट भएको बताए ।

उनले भने, ‘सामाजिक सञ्जाल आफ्नो मात्रै प्लाटफर्म हो, यसमा कसैको प्रभाव स्वीकार्य छैन भन्ने सोचका कारण साहले निहुँ खोजिरहे, उनले जति निहुँ खोजे पनि प्रधानमन्त्रीले वास्ता नगरेपछि मेयरले आफैं आफ्नो विवादास्पद पोस्ट डिलिट गरे र यता अनफलो गर्न निहुँ झिके ।’

लेखकको बारेमा
अमृत चिमरिया

चिमरिया अनलाइनखबर डटकमका संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?