+
+

नेताहरुलाई ओलीको निर्देशन : भूगोलमा जानुस्, काठमाडौं बसेर कुरा नलगाउनुस्

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ १९ गते २०:०७

१९ भदौ, काठमाडौं। प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेताहरुलाई सम्पूर्ण रुपले भूगोलमा खटिन निर्देशन दिएका छन् ।

केन्द्रीय कार्यालय च्यासलमा दुई दिन चलेको पोलिटब्यूरो बैठकलाई बुधबार समापन गर्दै अध्यक्ष ओलीले काठमाडौं बस्ने प्रवृत्ति घटाउन निर्देशन दिएका हुन् । एक घण्टा बढी सम्बोधन गरेका ओलीले आगामी चुनावबाट पार्टीलाई निर्णायक राष्ट्रिय शक्ति बनाउन अनुशासित ढंगले नेताहरु परिचालित हुनुपर्ने बताए ।

‘अहिले पनि हामी राष्ट्रिय शक्ति हौं, तर चुनावपछि निर्णायक राष्ट्रिय शक्ति बन्ने हो’ प्रधानमन्त्री ओलीको भनाइ उदृत गर्दै पोलिटब्यूरो सदस्य विशाल भट्टराईले भने । भट्टराईका अनुसार अध्यक्ष ओलीले निर्णायक राष्ट्रिय शक्ति बन्न तीन वर्षसम्म नेताहरुले आ–आफ्नो क्षेत्रमा ध्यान केन्द्रीत गर्नुपर्ने बताए ।

कतिपय नेताहरुमा काठमाडौं बस्ने र नेतृत्वलाई कुरा लगाउँदा हुन्छ भन्ने भ्रम रहेको ओलीले बताए । ‘सबै आफ्नो कार्य क्षेत्र जानु होला । काठमाडौं बसेर नेताको वरिपरी घुमेर हुँदैन । धेरैले मलाई कुरा लगायो भन्नु हुन्छ, त्यस्तो होइन । मसँग सुन्नलाई कान मात्र छैन, खोपडी पनि छ, विवेक छ’ अध्यक्ष ओलीले भने ।

कसैमाथि अन्याय नहुनेगरी नेतृत्वबाट मूल्याकंन हुने अध्यक्ष ओलीले बताएका छन् । ‘मूल्यांकनमा समस्या हुँदैन । सबै नेताहरु जनतासँग जोडिएर काम गर्नुस्, सामाजिक सञ्जालमा सक्रिय हुनुस्’, ओलीले भने ।

अध्यक्ष ओलीले अब अनुशासनको विषयलाई पार्टीले कठोर भएर कार्यान्व्यनमा लैजाने बताएका छन् । ‘अनुशासनको कुरामा कठोर ढंगले अघि बढिन्छ, कसैलाई छोडिने छैन’ अध्यक्ष ओलीले भने, ‘एमाले ढल होइन, नदी हो । नेताहरुको आर्थिक आचरण, नैतिक आचरण सबै कुरा हेरिन्छ र कारबाही हुन्छ ।’

एमालेले निर्णायक राष्ट्रिय शक्ति बन्ने उद्देश्य लिएकाले अरु कुनै अलमलमा नपर्न समेत अध्यक्ष ओलीले आग्रह गरेका छन् । विशेषगरी वाम एकता, समाजवादी मोर्चा जस्ता विषयमा अलमलिन नहुने बताएका छन् ।

बैठकमा महासचिव शंकर पोखरेलले पेश गरेको वार्षिक कार्ययोजना माथि ५१ जना पोलिटब्यूरो सदस्यले टिप्पणी गरेका थिए । हरेक नेतालाई आफ्नो कुरा राख्न ३ मिनेटको समय दिइएको थियो । निर्धारित समयमा नसकिएको कुरा लिखित रुपमा पेश गर्न भनिएको थियो ।

त्यसैअनुसार प्रस्तावित वार्षिक कार्य योजनामाथि नेताहरुले सुझाव दिएका छन् । प्राप्त सुझावलाई सचिवालय बैठकबाट मूल प्रस्तावमै समेटेर केन्द्रीय कार्य समितिमा पेश गरिने बताइएको छ । केन्द्रीय समितिबाट समेत पारित भएपछि कार्य योजनामा कार्यान्वयनमा लैजाने तयारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?