+
+

मन्त्रीले रोके कर्मचारीको अमेरिका भ्रमण

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ १९ गते २०:३४

१९ भदौ, काठमाडौं। संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले संयुक्त राज्य अमेरिका भ्रमणमा जान लागेकी एक महिला कर्मचारीको मनोनयन रद्द गरेका छन् ।

गुप्ताले यूएसएडको एक कार्यक्रमका लागि अमेरिका जान मंगलबार (१८ भदौ) भिसा पाएकी जीतपुर सिमरा उपमहानगरपालिकाकी प्रमुख प्रशासकीय अधिकृत (उपसचिव) उर्मिला काफ्लेको भिसा मंगलबार नै रद्द गर्ने निर्णय गरेका हुन् ।

काफ्ले सहित १२ जना कर्मचारी पब्लिक फिनान्सियल म्यानेजमेन्ट विषयक चारदिने प्रशिक्षण कार्यक्रममा सहभागी हुन अमेरिका जान मनोनयनमा परेका थिए । त्यसमध्ये २ जना कर्मचारीको भिसा नै लागेन भने काफ्लेलाई मन्त्री गुग्ताले नै विदेश जान रोक्ने निर्णय गरेका हुन् ।

मन्त्रिपरिषद् बैठकमै प्रधामनन्त्री केपी शर्मा ओलीले विदेश जाने सरकारी टोलीमा महिला कर्मचारीलाई बढी प्राथमिकता दिन र कम्तीमा एक जना भए पनि सहभागी गर्न मन्त्रालयहरुलाई निर्देशन दिएका थिए । तर, मन्त्री गुप्ताले ‘एक्सपिरिन्सियल लर्निङ/ट्रेनिङ भिजिट’मा जाने तय भइसकेको महिला कर्मचारीको मनोनयन कारण समेत नखुलाई रद्द गरेका छन् ।

यूएसएडले १७ जुलाई २०२४ मा पत्र लेख्दै ९ देखि १२ सेप्टेम्बरसम्मको कार्यक्रमका लागि निम्तो दिएको थियो । मन्त्रालयले ६ साउनमा उनलाई मधेश प्रदेशबाट प्रतिनिधित्व गर्ने गरी अमेरिका जाने टोलीमा मनोनयन गरेको थियो । त्यतिबेला गुप्ता मन्त्री भएर आइसकेका थिए ।

मन्त्रालय स्रोत अनुसार जीतपुर सिमारा नगरपालिकाका एमालेबाट निर्वाचित जनप्रतिनिधिले उनका मनोनयन रद्द गर्न दबाब दिएका थिए । केही महिनादेखि सो उपमहानगरपालिकामा मेयर र एमाले जनप्रतिनिधिबीच चर्को विवाद छ ।

माओवादी केन्द्रबाट निर्वाचित मेयर राजन पौडेललाई प्रमुख प्रशासकीय अधिकृत काफ्लेले सघाएको भन्दै राजनीतिक दबाबमा उनको सरुवाका निर्णय समेत भएको थियो । मन्त्रालयले गत ३ साउनमा काफ्लेलाई फिर्ता बोलाएर जीतपुरसिमरा उपमहानगरपालिकामा चेतकुमार पोखरेललाई प्रमुख प्रशासकीय अधिकृतका रुपमा पठाउने निर्णय गरेको थियो ।

यसअघिका प्रमुख प्रशासकीय अधिकृत उर्मिला काफ्लेलाई सरुवा गर्दै यसअघि पनि सो उपमहानगरपालिकामा काम गरिसकेका पोखरेललाई त्यहाँ पठाइएको थियो । पोखरेल यससघि करिब २७ महिना जीतपुरसिमरा उपमहानगरपालिकामै प्रमुख प्रशासकीय अधिकृत थिए ।

तर, राजनीतिक पूर्वाग्रहमा एक दुई महिना काम नगर्दै काफ्लेको सरुवा गरिएको भन्दै विरोध भएपछि सरुवाको निर्णय रोकिएको थियो । मेयर पौडेलले वन मुद्दा समेत खेपिरहेका पोखरेललाई हाजिर नगराउने अडान लिएपछि काफ्ले जीतपुर सिमरामै रोकिएकी थिइन् । १० साउनमा सर्वोच्च अदालतले सरुवाको निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको थियो ।

बहुमत वडामा नेकपा एमालेले जितेको सो उपमहानगरमा गत १० असारमा बोलाइएको नगरसभामा विवाद भएको थियो । एमाले जनप्रतिनिधिले नरुचाएको नगरसभा गर्न सघाएकी प्रमुख प्रशासकीय अधिकृत काफ्लेसँग उनीहरु असुन्तुष्ट छन् । यही अवस्थामा अमेरिका जान लागेकी काफ्लेलाई मन्त्रीस्तरीय निर्णय गर्दै मन्त्री गुप्ताले काफ्लेको मनोनयन रद्द गरेका छन् ।

जीतपुर सिमरा नगरपालिकाका मेयर पौडेल आफूसँगको राजनीतिक पूर्वाग्रहका आधारमा प्रमुख प्रशासकीय अधिकृत काफ्लेको विदेश भ्रमण रद्द गरिएको आरोप लगाउँछन् ।

‘मेयरप्रति उत्तरदायी भयो भन्ने आधारमा मधेश प्रदेशमा खटिएकी एक मात्रै प्रमुख प्रशासकीय अधिकृतमाथि अन्याय गरियो’ उनी भन्छन्,‘भिसा लागिसकेपछि मनोनयन रद्द गरिएकाले नियम प्रष्ट छ ।’

हेर्नुस् भ्रमण मनोनयन रद्द गरेको पत्र :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?