+
+

बयान दिएपछि लामिछानेले भेटे प्रधानमन्त्री र कांग्रेस सभापति

सहकारी बचत अपचलन छानबिनमा प्रहरीलाई बयान दिएका रवि लामिछानेले एक साताबीचमा प्रधानमन्त्री ओलीलाई दुईपल्ट, कांग्रेस सभापति देउवालाई एकपल्ट भेटेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ १९ गते २०:४६

१९ भदौ, काठमाडौं । सहकारीको रकम अपचलनमा संसदीय छानबिन समितिलाई बयान दिएपछि राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछानेले प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटेका छन् ।

पोखराको सूर्यदर्शन सहकारीको बचत रकम ठगी र हिनामिना प्रकरणमा प्रहरीले दोस्रो चरणको अनुसन्धानलाई तीव्रता दिने क्रममा लामिछानेसहितका आरोपितसँग बयान लिएको थियो ।

लामिछाने गोर्खा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक थिए, जसले सहकारीमा खाता नै नखोली अवैधानिक रुपमा मिडिया हाउसमा पैसा लगेको पीडितहरुको उजुरी छ ।

यसै विषयमा आधारित रही लामिछानेसँग ७ भदौमा ९ घन्टा बढी संसदीय छानबिन विशेष समितिले सोधपुछ गरेको थियो । समितिले सोधपुछ गरेपछि कास्की प्रहरी काठमाडौं आएर उनीसँग बयान लिएको थियो । लामिछानेले त्यसकै बीचमा प्रधानमन्त्री ओलीको सरकारी निवास बालुवाटार पुगेर भेट गरेका छन् ।

१० भदौमा प्रहरीको बयान सकिएलगत्तै लामिछानेले प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवालाई भेटेको सत्ता पक्षीय एक नेताले जानकारी दिए ।

कांग्रेस बैठकमा सभापति देउवाले लामिछानेले आफूलाई भेटेको जानकारी गराएका थिए । कांग्रेस स्रोतका अनुसार पार्टी बैठकमा एजेण्डा बाहिरको छलफल हुँदै सहकारी प्रकरण पनि उठेको थियो ।

लामिछानेले सोमबार साँझ ओलीसँग दोस्रोपल्ट भेटेको प्रधानमन्त्री निकट स्रोतले पुष्टि गर्‍यो । ‘डेढ घण्टा एक्लाएक्लै कुरा गर्नुभएको थियो, विस्तृत थाहा हुन सकेन’, प्रधानमन्त्री स्रोतले भन्यो, ‘समसामयिक कुराहरु हुने नै भए ।’

त्यसअघि अघिल्लो साता एक्लै बालुवाटार पुगेका लामिछानेबारे गृहमन्त्री रमेश लेखकले सूचना पाएपछि प्रधानमन्त्रीसँग जिज्ञासा राखेका थिए । ओलीले ‘तपाईंको पार्टी सभापतिलाई पनि भेट्नुभयो होला, बुझ्नोस् त’ भनी संकेतमा जवाफ दिएपछि लेखकले देउवासँग परामर्श गरेका थिए ।

देउवाले पार्टी बैठकमा सामान्य चर्चामात्रै गरे पनि लामिछानेसँग गरेको कुराकानीबारे विस्तारमा बताएनन् । देउवाले सरकारतिरै देखाएपछि लामिछानेले फेरि प्रधानमन्त्री भेटेको बताइएको छ ।

कांग्रेस नेताहरुले सहकारीको रकम अपचलन गरेको विषयमा कुरा गर्दै गर्दा एक पदाधिकारीले देउवालाई लामिछानेको भिडियो क्लिप देखाएका थिए । ती नेताका अनुसार उक्त क्लिपमा लामिछानेले ओली र देउवालाई भ्रष्टाचारी भएको आरोप थियो । देउवाले उक्त क्लिप हेरिसकेपछि भनेका थिए,‘मसँग भेट्दा एक थोक र बाहिर अर्को कुरा भन्दै हिँड्ने रहेछन् ।’

प्रहरीले बयान लिनु अघि ८ भदौमा चितवन पुगेका लामिछानेले ऋण लिएको प्रमाण देखाउँछु भन्नेले आफूलाई जवाफ दिन नसकेको बताएका थिए । त्यहाँ उनले भनेका थिए, ‘सक्छौ भने मलाइ थुन्न हत्कडी लगाऊ । यदि सक्दैनौं भने म तिमीहरुलाई यत्तिकै छाड्ने छैन । अल् भर्सेज रास्वपा ।’

लामिछानेले मंगलबार कोशीमा पुगेर जन असन्तुष्टि बढ्दै गएर आन्दोलन हुन सक्ने भन्दै त्यस्तो अवस्थामा आफू अग्रपंक्तिमा हुने दाबीसमेत गरेका थिए ।

सूर्यदर्शन सहकारीको बचत हिनामिनाबारे पहिलो चरणमा अनुसन्धान सकिएर मुद्दा अदालत पुगिसकेको अवस्थामा गत १६ माघमा जिल्ला प्रहरी कार्यालयमा कास्कीमा पुरक जाहेरी परेको थियो ।

उक्त जाहेरीमा उपप्रधान तथा गृहमन्त्री समेत भइसकेका रास्वपा सभापति लामिछानेसहित १८ जनालाई प्रतिवादी बनाइएको थियो । सोही पुरक जाहेरीको अनुसन्धानलाई अहिले कास्की प्रहरीले तिव्रता दिएको हो । अनुसन्धान सघन बन्दै गएपछि लामिछानेले उच्च तहको नेतृत्वसँग भेटघाट तीव्र पारेका हुन् ।

सहकारी पीडितहरुले भने उच्च राजनीतिक कनेक्सन्को आधारमा छानबिन प्रभावित हुन सक्ने र आफूहरुको पीडा सम्बोधन हुन नसक्ने आशंका गर्दै राजधानीमा आन्दोलन चलाइरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?